अध्ययन भन्छ
बागलुङ, ३० चैत– चालु आर्थिक बर्षका विभिन्न घटनामा जिल्लाका ३ युवाको लागू औषधको सेवनबाटै मृत्यु भएको तथ्यांक छ । सयौं युवा दुव्र्यसनमा फसेको युवाहरुकै संस्थाले गरेको अध्ययनले देखाएको छ । महिला तथा बालबालिका कार्यालयले बागलुङ नगरपालिकाको वडा नं १, २, ३ र ४ का लागि अध्ययनको तयारी गरिरहंदा ‘सेभ द युथ’, वडा अध्यक्षहरु र अन्य सरोकारवाला संस्थाले गरेको अध्ययनबाट किशोर तथा युवाहरु बढी प्रभावित भएको पाईएको हो ।
नगरको ४ वटा वडाभित्रका १८ बर्ष मुनिका २ हजार जनामा गरिएको अध्ययनबाट ५० युवा दैनिक सुई प्रयोग गर्ने, २ सय ५० युवा लागूऔषधको नियमित प्रयोगकर्ता भेटिएको हो । त्यस्तै १ हजार २ सय बालबालिका तथा किशोरकिशोरीहरु चुरोट र रक्सीको तलमा लागेको समेत भेटिएको हो ।
‘यो डरलाग्दो अवस्थालाई समयमै चिर्न सकिएन भने भोलीको स्वस्थ्य पुस्ता पाउन गाह्रो हुनेछ’ सेभ द युथका अध्यक्ष मनिष रायमाझीले भने, ‘हरेक अभिभावकले आफ्ना बालबालिकाहरुको चासो नराख्दा आउने दुश्परिणामको भागिदार को बन्ने ?’ अभिभावकलाई यो अवस्था जानकारी गराउँदा अधिकांसले अर्काका छोराछोरीलाई देखाउने र आफ्नालाई राम्रो देख्ने गरेको उनले बताए । कार्यालयले गत साता बरेङ र निसीखोला गाउँपालिकाको अध्ययन गर्दा धेरै बालबालिकाहरुको उमेर नपुग्दै बिबाह भएको र विद्यालय बिमुख बढी भेटिएको थियो । तर नगर क्षेत्रमा भने बालबिबाह र विद्यालय बिमुख भन्दा लागूपदार्थको दुव्र्यसनमा फसेकाहरु बढी भएको पाइएको हो ।
वडा अध्यक्ष, सचिव, सरोकारवाला र कार्यालयको संयुक्त बैठकले बजार क्षेत्रका युवा तथा बालबालिकाको अवस्थाबारे गम्भिर अध्ययन गरेर वास्तविक तथ्यांक सार्वजनिक गर्ने निर्णय गरेको महिला बिकास अधिकृत डिलकुमारी शर्माले बताईन् । ‘हामीले सामान्य अवस्था होला भनेका थियौं, तर डरलाग्दो तस्बिर सार्वजनिक भैसकेको छ’ शर्माले भनिन्, ‘अब विस्तृत अध्ययनबाट आएको तथ्यांक र अवस्थाबारे प्रतिवेदनसहित मन्त्रालयमा पठाउँछौं ।’ आगामी बर्ष दुव्र्यसनबिरुद्ध मुख्य कार्यक्रम संचालन गर्नुपर्ने आवस्यकताबारे केन्द्रमा लेखेर पठाउने र नयाँ कार्यक्रम संचालन गर्नुपर्ने उनले बताईन् । अधिकांस कार्यालयहरु स्थानीय तहमा हस्तान्तरणको चरण शुरु भएकोले दुव्र्यसन, बालबिवाह तथा विद्यालय बिमुख बालबालिकाको अवस्थाबारे कसले काम गर्ने भन्ने यकिन भएको छैन ।
सबै काम नगरपालिका र गाउँपालिकालाई जिम्मा दिएपनि प्रभावकारी काम हुन नसक्ने बैठकको निष्कर्ष थियो । ‘आवस्यक बजेट र कार्यक्रमसहित एकीकृत कार्यक्रम नगरे सम्म यो समस्या समाधान हुँदैन’ वडा नं. ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटाले भनिन्, ‘घरघरका आमाबाबुलाई आफ्नो छोराछोरी कसरी बिग्रेको छ भनेर अव खुलस्त भनेरै जानुपर्ने भयो ।’ समग्रतामा गरिने कार्यक्रमबाट अभिभावक गम्भिर नभएको उनले टिप्पणी गरिन् ।
यो अवस्थालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालयले वडा–वडामा आमा समूह, किशोरी समूह तथा अभिभावकहरुलाई लागूपदार्थ दुव्र्यसनी, जर्बजस्ती करणी, घरेलु हिंसा कसुर लगायतका बिषयमा प्रशिक्षण तथा जागरण अभियान संचालन गर्ने भएको छ । ‘हामीले स्थानीय महिला सहकारी संस्था र आमा समूहहरुको सहकार्यमा अभियान संचालनको तयारी गरेका छौं’ प्रहरी उपरिक्षक दिपक रेग्मीले भने, ‘धेरै घटनाहरु बाहिर आउन लागेको पाइएकोले प्रशिक्षण र जागरण अभियानबाट अझै प्रष्ट हुनेछ ।’ बालबिवाह तथा जर्बजस्ती बिवाह गरेका अभिभावकलाई समेत अव कानूनी कारवाही गर्ने बेला आएको उनले बताए । प्रहरी र प्रशासन मौन रहेको मौकालाई कमजोरीको रुपमा लिने गरिएको रेग्मीको टिप्पणी छ ।