बागलुङ, २९ चैत– जिल्ला शिक्षा कार्यालयको अगुवाईमा आगामी बैसाख २ गतेदेखि बालबालिका विद्यालय भर्ना अभिायान संचालन हुने भएको छ । जिल्ला शिक्षा समितिले पत्रकार सम्मेलन गरेर बालबालिका भर्ना अभियानलाई सफल बनाउन समेत आग्रह गरेको छ । नियमित अध्ययनरत बालबालिकालाई नयाँ कक्षामा भर्ना गर्ने तथा उमेर पुगेका बालबालिकालाई कक्षा १ वा शुरु कक्षामा भर्ना गर्ने अभियान थालिने जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए । सबैलाई अनिवार्य शिक्षा भन्ने अभियानलाई सार्थक बनाउन भर्ना अभियान संचालन गरिन लागिएको हो ।
त्यस्तै भर्ना भएका सबै बालबालिकाले तत्कालै पाठ्यपुस्तक समेत पाउने व्यवस्थापन भैरहेको उनले बताए । ‘बालबालिका भर्ना भएकै दिन हातहातमा किताब दिन सकियो भने पढाईको प्रभावकारिता बढ्नेछ’ पौडेलले भने, ‘त्यसका लागि सबै व्यवसायी, बुद्धिजिवि र सरोकारवालाको सहयोग आवस्यक पर्छ ।’ जिल्ला शिक्षा कार्यालयका अनुसार बागलुङमा हाल ६९ हजार २ सय १३ बालबालिका अध्ययनरत छन् । आगामी शैक्षिक शत्रमा उमेर पुगेका थप बालबालिकाहरु भर्ना हुनेछन् । उनीहरुलाई स्वागत गरेर विद्यालय शिक्षामा आर्कर्षित गर्ने कार्यक्रम पनि विद्यालयले राख्ने छन् । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई किताब दिएर पठाएपछि पढाइएको गुणस्तर समेत बढाउने योजना कार्यालयले बनाएको छ ।
यो बर्षदेखि जिल्ला शिक्षाको सबै काम समुदायमा हस्तान्तरण गर्ने योजना छ । सरकारी नीति अनुसार बालबालिकाहरुको पढाई, शिक्षक नियुक्ती र सरुवा समेतको काम स्थानीय तहले गर्नेछन् । कार्यालयका अधिकृतदेखि प्राविधिक समेत स्थानीय तहमा जाने क्रम पनि शुरु भएको छ । भर्ना भएका बालबालिकालाई टिकाउने मुख्य चुनौतीलाई पनि स्थानीय तहले साथ दिनुपर्ने सरोकारवालाको भनाई छ । जिल्ला शिक्षाले पनि भर्ना भएका बालबालिका टिकाउन स्थानीय तह सक्रिय बन्नुपर्ने बताएको छ । ‘अव बालबालिकाको टिकाउपन जोगाउन राजनीतिक नेतृत्व तथा नगरपालिकाको संस्थागत पहल आवस्यक छ’ शाखा अधिकृत सरिता शर्माले भनिन्, ‘अब बन्ने संघियत शिक्षा र प्रदेश शिक्षा ऐनले पनि अबको शिक्षालाई निर्देश गर्नेछ ।’ भर्ना अभियान सफल बनाउनका लागि शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री मन्त्री गिरिराजमणि पोखरेलले पनि बिज्ञप्ती प्रकाशित गरेर विद्यार्थी भर्ना तथा पाठ्यपस्तक बिरतण अभियान सफल बनाउन आग्रह गरेका छन् । मन्त्री पोखरेलले विद्यालय तहको शैक्षिक तहको तथ्यांक २०७४ अनुसार प्राथमिक तहमा ५ देखि ९ बर्ष उमेर समूहका ३ प्रतिशत र ५ देखि १२ बर्ष समूहका ७ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको बिज्ञप्तीमा जनाएका छन् ।
अब ती बालबालिकालाई विद्यालय भर्ना गरेर टिकाउने काम मुख्य चुनौती भएको पनि बताए । सबैका लागि शिक्षा, राष्ट्रिय कार्ययोजना, विद्यालय क्षेत्र सुधार योजना जस्ता शिक्षा क्षेत्रका वृहत योजनाले विद्यालय शिक्षामा बालबालिकाको क्षमतामूलक पहुँच विस्तार गर्न विबिध कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले जनाएका छन् ।
साथै हाल कार्यान्वयनमा रहेको विदालय क्षेत्र विकास योजनामार्फत विद्यालय शिक्षामा बालबालिकाको समतामूलक पहुँचको सुनिश्चितता र शिक्षाको गुणस्तर सुधार गर्न जोड दिएको छ । दिगो विकास लक्षमध्ये शिक्षा सम्बन्धी लक्ष्य हासिल गर्न समतामूलक समावेशी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुको साथै जीवन पर्यन्त सिकाईका लागि नीगित संरचनागत एवम व्यवहारिक प्रयत्न अगाडि बढाउनु आवस्यक रहेको समेत बताइएको छ । भर्नामा छुट्नेमा मजदुर, दलित बस्ती र घुम्ती बसाइ भएका स्थानमा बालबालिका रहेको जिल्ला शिक्षाको तथ्यांक छ । त्यस्ता बालबालिका भर्ना गर्न बस्ती र खेतबारीमा पुगेरै भएपनि अभिभावकलाई संझाउने योजना बनाएको शर्माले बताईन् ।
Previous Article२०७४ चैत २९ गते बिहिबारको राशिफल
Next Article बिदा कटौतीको आदिवासी जनजाती महासंघले ग¥यो विरोध