बागलुङ, २६ चैत–कमल गौतम विश्वविद्यालयको अध्ययनका लागि काठमाण्डौं जाँदा बिमला महर्जनसँग प्रेम सम्बन्ध बढ्यो । उनीहरुको प्रेममा परंपरागत संस्कृति बाधक थियो । तर पनि साँचो प्रेमलाई उनीहरुले बिबाहको निष्कर्षमा पु¥याए । जाय जन्म पनि भयो । दुइ सन्तानका बाबुआमा उनीहरु दुवै जागिरे भए । कमलले त्रिभूवन विश्व विद्यालयमा अध्यापन थाल्यो, बिमलाले नेपाल बैंकमा नाम निकालिन । दुवैको कमाई समेत राम्रो भएकोले परिवारमा निकै सौहार्दता थियो ।
अन्तरजातीय बिबाह भएकोले घरका बाबुआमासँग सम्बन्ध सुमधुर बनन नसक्दा आउजाउ भने थिएन । त्यसोत कमलले बाबुको अंशमा पनि दावी गरेन । श्रीमान श्रीमतीको कमाईले काठमाण्डौको कीर्तिपुरमा बिमलाको नाउँमा घडेरी किनियो, घर पनि बनाए । यस्तैमा कमलको बीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सरुवा भयो । उताको जागिर शुरु गर्दा आइरहने कमल आउन छाडेपछि बिमलाको मनमा चिसो पस्यो । केही समय देखि बिमलाले छोराछोरीको पढाई खर्च र घर व्यवहार एक्लै चलाउन थालिन् । कमल उता एक जना केटीसँग हिड्छ भन्ने हल्ला छ । त्यस्तै हल्ला र आजकल आउजाउ नगरेको तथा खर्च नपठाएको भन्दै बिमलाले काठमाण्डौ जिल्ला अदालतमा अंशमाना चामलको मुद्दा दिईन् । मुद्दा परेपछि कमल काठमाण्डौ आयो ।
अदालतमा आउँदा बिमलाले एउटा मुन्द्रे केटा पनि साथै लिएर आएको देखेपछि कमल समेत झसंग भयो । एकाएक श्रीमतीले मुद्दा दिएपछि सम्बन्ध बिच्छेदको लागि तयार भयो । त्यतिराम्रो सम्बन्ध एकाएक सम्बन्ध बिच्छेदमा पुग्यो । तर उनीहरुको यो मुद्दालाई अदालतले राम्रो मेलमिलापकर्ताको हातमा पु¥याईदियो । मेलमिलापकर्ताको रुपमा बागलुङकी गीता श्रीषले दुवैजनालाई बोलाएर निकै मेहेनतका साथ उनीहरुको मुद्दा हेरिन् । किन उनीहरुको सम्बन्धमा यतिधेरै बिबाद आयो भन्ने अध्ययनपछि श्रीषले दुवैलाई छुट्टाछुट्टै राखेर छलफल समेत गरिन् । कमलले बीरगंजमा अध्यापनका लागि गएपछि समयमा काठमाण्डौ आउन नपाएको, क्याम्पसका स्टाफ सँग कहिले काँही हिड्नुपर्ने बाध्यता लगायतले अनावस्यक हल्ला आएको बतायो ।
उता अन्तरजातीय बिवाहका कारण माईती पक्षका नातागोतासँग कमलको पनि चिनजान थिएन । भाउजुको भाईले कमलालाई अदालतमा आउन सहयोग गरेको रहेछ भन्ने पनि छलफलबाट थाहा भयो । त्यसैले दुवैलाई राखेर श्रीषले छलफल गर्दै मेलमिलापका बिकल्पको खोजी गरिन् । खोजीकै क्रममा दुवै जना मिल्न चाहेको कुरा पत्ता लाग्यो । कतै शंका नआउने गरी कमलले अव काज सरुवा भएपनि मिलाएर काठमाण्डौ आउने, जग्गा छोराछोरीको नाउँमा नामसारी गरिदिने र दुवैले घरखर्च बराबरी चलाउने जस्ता सहमति गरे । ती सहमतिका लागि श्रीषले अगुवाई गरिन् । यस्तै मुद्दामा तनहुँकी मनु सापकोटा, लमजुङमा लबराज ढकाल लगायतले पनि मेलमिलापको अभ्यास गरेका छन् । यो घटना काल्पनिक थियो । तर हाम्रो समाजमा यस्ता धेरै समस्या छन् ।
ती समस्या समाधान अदालतमा पुगेर मात्र हुँदैन । अदालतमा पुगेपछि ढीलो प्रकृया हुने, मुद्दाले रिसीईवी बढ्ने तथा दिगो समाधान नहुने भएपछि नेपालमा मेलमिलाप परिषद गठनको अवधारणा आयो । यो अवधारणा अनुसार सामाजिक क्षेत्रका अगुवाहरुलाई मेलमिलापको तालिम दिएर दिगो समाधान खोज्ने काम शुरु भएको छ । जस अनुसार महिला न्यायाधिस मंच तथा मेलमिलाप परिषदले प्रदेश नं. ४ का विभिन्न जिल्लाका २७ जनालाई यो तालिम दिएको छ । तालिमलाई प्रभावकारी बनाउन सैद्धान्तिक सहित प्रयोगात्मक समेत बनाएको छ । उक्त तालिममा यस्ता मुद्दाहरुलाई मेलमिलाप मार्फत टुंगोमा लगाउन अभ्यास गराइएको छ । सरकारबादी फौजदारी हुने प्रकृतिका बाहेकका मुद्दामा मेलमिलाप गराउन सकिने प्रावधान छ ।
अदालतले पनि मेलमिलाप कर्ता तयार भएमा त्यस्ता मुद्दा पठाउने व्यवस्था छ । श्रीलंका, बंगलादेश र सिंगापुरमा यस्ता अभ्यास निकै भएको तालिमका सहजकर्ता सरिता श्रेष्ठले बताईन् । त्यहाू ८५ प्रतिशत सम्म मुद्दाहरु मेलमिलापको नीति अनुसार छिनोफानो भएको तथ्यांक रहेको उनले बताईन् । ‘सन् १९९९ को पहिलो ९ महिनामा सिंगापुरमा मात्र ३० हजार ४ सय ८४ मुद्दामा ४ सय ३० वटा मात्र अदालतमा पुगेको थियो’ श्रेष्ठले भनिन्, ‘प्रयास गरियो भने नेपालमा पनि यो तथ्यांक बनाउन सकिन्छ ।’ तालिममा मंचकी अध्यक्ष शारदा श्रेष्ठ र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले पनि सहजीकरण गरिरहेका छन् । तालिममा बागलुङ, पर्वत, म्याग्दी, कास्की, तनहुू, लमजुङ, गोरखा र स्याङजाका सामाजिक अभियान्ताहरु सहभागि छन् । परिषदले सातै प्रदेशमा यस्तो खालका अभियान सञ्चालन गर्ने अध्यक्ष शारदा श्रेष्ठले बताईन् ।
Previous Articleबागलुङ आर्थिक गणकलाई तालिम दिईयो
Next Article २०७४ चैत २६ सोमबार अष्टमी, ९ अप्रिल २०१८