बागलुङ, २३ चैत– पर्यटक आकर्षित गर्न यहाँ मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरिने भएको छ । गलकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र निलुवामा पर्यटकीय क्षेत्र प्रवद्र्धन समितिले आउँदो शनिबार सो महोत्सव गर्न लागेको हो निलुवाका मौरीभिरमा रहेका २० भन्दा बढी मौरीका गोलाबाट मह काढिने समितिका अध्यक्ष ओमकार सुवेदीले बताए । परम्परागत प्रविधि अपनाएर महको शिकार गरिने उहाँको भनाइ छ ।
अनुभवी र दक्ष मह शिकारीले मात्र शिकारमा भाग लिनेछन् । “अग्ला भिरपहरामा चढेर मह काढ्नु साहस र कौशलको काम हो” अध्यक्ष सुवेदी भने, “यसले पर्यटकलाई पनि लोभ्याउँछ ।” गलकोटका पहराहरूमा भिरमौरी पाइने भएपनि पहिलोपटक यसरी मह शिकार महोत्सव गर्न लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ ।
महोत्सवले निलुवा क्षेत्रको पर्यटन प्रवद्र्धन हुने आयोजक समितिका सदस्य ईश्वर सुवेदी बताउँछन् । “वीरलै हुने गरेको मह शिकार गलकोटमा गर्दैछौँ” उनी भन्छन्– “पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हाम्रो विश्वास छ ।” महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगायतका संघसंस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् । हालसम्म रु. एक लाख ८० हजार संकलन भएको आयोजकले जनाएको छ । भिरमौरीको मह स्वास्थ्यवद्र्धक मानिने हुँदा व्यावसायिकीकरणको सम्भावना रहेको वडा नं ४ का अध्यक्ष बलबहादुर खत्री बताउँछन् । “गलकोटको धेरै ठाउँमा भिरमौरी भएपनि मह काढ्ने गरिएको छैन’ उनी भन्छन् “महोत्सवले मह शिकार हेर्ने अवसर पनि जुटाएको छ ।” अग्ला र कहालीलाग्दा भिरमा मह झिकेको दृश्यले सबैलाई आकर्षित गर्ने उनको भनाई छ । शिकार नगर्दै मह किन्नको लागि माग आइरहेको आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनका लागि पुग्ने पर्यटकलाई महका साथै स्थानीय परिकार खुवाउने तयारी आयोजकले गरेको छ । पछिल्लो समय निलुवा प्राकृतिक पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ । निलुवाको पर्यटन विकासमा स्थानीय जुटेका छन् । वनभोज, दृश्य छायांकन र अवलोकनका लागि निलुवा रोजाइँमा पर्ने गरेको छ । निलुवामा पर्यटकीय पूर्वाधारको अभाव छ । सदरमुकामदेखि ४५ किमी गाडीको यात्रापछि निलुवा पुग्न सकिन्छ ।
Previous Articleजेठभित्रै माझी बस्ती निर्माण गरिने
Next Article बागलुङमा साता व्यापी पतञ्जली योग शिविर हुने