बागलुङ, २३ चैत– सडक खन्दा घरबास गुमाएका यहाँका सीमान्तकृत माझी परिवारले आउँदो जेठभित्रमा नयाँ घर पाउने भएका छन् । बागलुङ नगरपालिकाले तोकिएको समयमै माझी बस्ती हस्तान्तरण गर्ने वाचा गरेको छ । निर्माणमा भएको ढिलासुस्तीप्रति विरोध उठेपछि नगरपालिकाले कामलाई गति दिन लागेकोे हो । अघिल्लो सम्झौताअनुसार गत पुसभित्र माझी बस्ती निर्माण गरिसक्नुपर्ने थियो ।
ठेकेदार कम्पनीसँग पुनः छ महिना सम्झौता थप गरेर काम अगाडि बढाइएको छ । यो बीचमा सञ्चारमाध्यमले माझी बस्ती निर्माणमा भएको ढिलाइप्रति खबर सम्प्रेषण गरेपछि समयमै काम गर्न नसक्ने माझी बस्ती व्यवस्थापन समितिले राजीनामा समेत दिएको छ । प्रक्रियागत र प्राविधिक कारणले काम ढिलो भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “सत्तरी प्रतिशतभन्दा बढी काम सकिएको छ” उनले भने “अब निर्धारित समयमा बस्ती हस्तान्तरण हुन्छ ।” उनले हालसम्म भएको कामको प्राविधिक जाँच गर्ने र कमजोरी भए सम्बन्धित पक्षलाई कारबाही गरिने बताए । संरचना बनाउँदा कमसल निर्माण सामग्रीको प्रयोग भएको गुनासो समेत उठेको थियो ।
निर्माण कम्पनी ‘मुक्तिनाथ/विएन/त्रिशक्ति, जेभी’ लाई सचेत गराइएको नगर प्रमुख पौडेलको भनाइ थियो । “निर्माण कम्पनीले समयमै काम सक्ने प्रतिबद्धता गरेको छ” प्रमुख पौडेलले भने “ढिलासुस्ती र कमजोरीप्रति सचेत गराएका छौँ ।” मंगलबार नगरपालिका, निर्माण कम्पनी र व्यवस्थापन समितिले त्रिपक्षीय छलफलसमेत गरेका थिए । नगरपालिकाले राजीनामा फिर्ता लिई कामको वातावरण बनाउन समितिलाई आग्रह गरेको छ । समितिका अध्यक्ष केबी रानामगरले नगरपालिकासँग छलफल गरी आवश्यक निर्णय लिइने बताए । उनले नपा र निर्माण कम्पनी दुवैले बस्ती निर्माणमा लापर्बाही गरेको आरोप लगाए । घर बनाउँदा गुणस्तरीहीन सामग्री प्रयोग भएको र प्राविधिक त्रुटिका कारण लागत बढेको समितिले जनाएको छ ।
विसं २०४६ मा बागलुङ–पोखरा सडक खन्ने क्रममा वडा नं १ को खनियाबासबाट १४ माझी परिवार विस्थापित बनेका थिए । विस्थापित माझी परिवार अहिले बाङ्गेचौरमा अस्थायीरूपमा बसोबास गर्दै आएका छन् । माझी परिवारको दीर्घकालीन व्यवस्थापनका लागि नपाले डेढ वर्षअघि बस्ती निर्माणको काम अघि बढाएको थियो । शौचालय सहितका तीन कोठे घरमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरिएको छ । नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण भइरहेको छ । चौधवटा घर निर्माणका लागि माझी समुदाय, नगरपालिका र अन्य स्थानीयबासीले जग्गा व्यवस्थापन गरेका थिए ।
Previous Articleबलेवा बिमानस्थलको नियमित चौथो उडान भरिभराउ
Next Article गल्कोटमा मह शिकार (हनी हन्टिङ) महोत्सव