बागलुङ, २१ चैत-जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा रहेका सबै विद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका सदस्य तथा सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढ्नुपर्ने भएको छ । रेश नुन्थला माध्यामिक बिद्यालयको संयोजनमा वडा भित्रका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापक र जनप्रतिनिधि सहितको भेलाले यस्तो निर्णय गरेको हो । सामुदायिक विद्यालयको शिक्षण सिकाईलाई प्रभावकारी बनाउँदै सबै सरकारी करबाट सेवा सुबिधा लिनेका छोराछोरीले सरकारी बिद्यालयमा नै पढ्ने वातावरण मिलाउन यस्तो निर्णय गरिएको रेश नुन्थला माध्यामिक बिद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए । ‘
कहिलेकाहिँ बिद्यालय व्यवस्थापन समितीका सदस्यमा मनोनित हुनेहरु गैह्रअभिभावक समेत हुने र उनीहरुका छोराछोरी संस्थागत बिद्यालयमा पढ्ने भएकाले यस्तो निर्णय गरिएको हो’ प्रअ थापाले भने ‘सरकारी बिद्यालयमा जागिर खाने र आफ्ना छोराछोरी संस्थागत बिद्यालयमा पढाउने शिक्षकलाई समेत यो निर्णयले जिम्मेबार बनाउने छ ।’ सरकारी बिद्यालयमा आफ्ना छोराछोरी नल्याए कुनै कार्वाहीको व्यवस्था नभएको भए पनि नैतिकताका आधारमा सबैले सरकारी बिद्यालयको सदुपयोग गर्ने थापाको भनाई थियो । ‘हामी सरकारी बिद्यालयमा अध्यापन गराउँछौं तर छोराछोरी संस्थागत बिद्यालय पठाउँदा दुनियाँले के भन्छ’ उनी भन्छन् ‘यसको अर्थ आँफैले आफुलाई विश्वास नगरेको जस्तो भयो ।’ शिक्षक मात्रै नभएर सरकारी कर्मचारी र सरकारी करबाट सेवा सुबिधा लिने जनप्रतिनिधिलाई समेत नैतिक रुपमा जिम्मेबार बन्दै सरकारी बिद्यालयमा नै छोराछोरी पढाउन आग्रह गरेको उनले बताए ।
यस्तै, भेलाले कुनैपनि राजनीतिक संगठनले आयोजना गरेको बन्द हड्तालका बेला वडा भित्रका कुनैपनि बिद्यालय बन्द नगर्ने निर्णय समेत गरेको छ । राजनीतिक दलले आयोजना गर्ने बन्द र हड्तालले बिद्यालय बन्द हुँदा चाहे अनुसारको शैक्षिक उपलव्धी हासिल गर्न कठिन हुने भएकाले बिद्यालय बन्द नगर्ने निर्णय गरिएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए । बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गर्न भन्दै वडा भित्रका सबै बिद्यालयमा कक्षा १ देखी कक्षा ६ सम्म बिज्ञान र गणित बिषय अंग्रेजी माध्याममा पठनपाठन गराउने निर्णय समेत भेलाले गरेको छ । बाल बिकासका बालबालिकालाई अडियो भिडियो माध्यामबाट अध्यापन गराउनका लागि प्रत्येक बिद्यालयमा अनिवार्य इन्टरनेट सुबिधा र एक कम्प्युटर जडान गर्नुपर्ने निर्णय गरेको वडा अध्यक्ष लामिछानेले जानकारी दिए ।