काठमाडौं, २० चैत–नियतीलाई रोक्नै नसकेपछि दुनियालाई खुशी बनाउनेका आँखा रसाउँदा उनका फ्यान र आफन्त झनै दुखी बन्दा रहेछन् । पशुपति आर्यघाटमा दिवंगत पत्नी यशोदा सुवेदीको अन्तिम संस्कार हुँदै गर्दा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भावुकतामा धेरैका आँसु वगे ।
मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाल्ने प्रयास गरे । यशोदाको पार्थिव शरिर चितामा चढेपछि मदन झन् थामिएनन् । उनलाई हरिवंशले थम्थमाउने कोशिश गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारण अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका थिए ।
लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारका क्रममा हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । उनको गएराती ११ बजे निधन भएको हो ।