बागलुङ, २० चैत–गत दशैमा माझीलाई घर दिने भनेर बागलुङ नगरपालिकाले धेरै नै प्रचार गरेपनि अहिलेसम्म माझीहरु आफ्ना लागि बनाउन लागिएको घर अलपत्र देखेर चिन्तित छन् । उनीहरुले मझीको नाउँमा आँफूहरुलाई ठगिएको गुनासो समेत गरेका छन् । माझी बस्ती पुनःस्थापना तथा व्यवस्थितीकरणका लागि भन्दै ८२ लाख ३० हजार रुपैयाँमा १४ वटा घर बनाईदिने योजनासहित ठेक्का सम्झौता भएको थियो । २०७३ मंसिरमा भएको ठेक्कामा मुक्तिनाथ विएण्ड त्रिशक्ति जेभीका तर्फबाट ठेकेदार नारायण जिसीले जिम्मा लिएका थिए । नगर विकास कोषको सहयोगमा निर्माणाधिन माझी बस्ती अलपत्र पारेको माझी र बस्ती व्यवस्थापन समितिले आरोप लगाएका छन् । नगरपालिका र ठेकेदारको लापरवाही तथा मिलेमतोमा माझीको घर हस्तान्तरण गर्ने काम समेत अलपत्र भएको भन्दै समितिका सबै पदाधिकारीले राजिनामा समेत दिएका छन् ।
व्यवस्थापन समितिका अध्यक्ष केवी राना, सदस्य महेन्द्र आचार्य, हिरा बहादुर थापा मगर, चतुरबहादुर बोहरा, तेजेन्द्र आचार्य, कृष्णबहादुर क्षेत्री, शम्भु आचार्य, उमा माझी, देउकुमारी माझी र सदस्य सचिव राजनप्रसाद शर्माले सामुहिक राजिनामा गरेका हुन् । साथै उनीहरुले नगरपालिकाको बेवास्ता र ठेकेदारको लापरवाही बारे संचार माध्यमले साथ दिनुपर्ने समेत बताए । समितिका पदाधिकारी र माझीहरुले सामुहिक रुपमा निर्माण सामाग्रीमा गुणस्तरहिन बस्तु प्रयोग गरिएको समेत आरोप लगाएका छन् । ४ बर्षअघि नगर विकास कोषको आर्थिक सहयोगमा बागलुङ नगरपालिकाले यहाँको बिस्थापित माझी बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको थियो । बस्ती सार्ने निर्णयसंगै व्यवस्थापकीय काममा सहयोग गर्न समिति गठन गरिएको थियो । पोखरा बागलुङ राजमार्ग निर्माणको क्रममा २०४८ सालमा माझीहरु बिस्थापित भएका थिए । बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्तीमा रहेका माझीका घरहर पहरो फोड्ने क्रममा पहिरोले बिस्थापित भएपछि अहिलेसम्म उनीहरुको घर छैन । बाङगेचौरस्थित रामरेखा सामुदायिक वनको छेउमा छाप्रो बनाएर बसेका उनीहरुलाई नगरपालिकाले गत असार मसान्तमा घरमा सार्ने योजना बनाएको थियो ।
प्राविधिक कामले ढिलाई हुने बाहाना बनाएका ठेकेदार कम्पनीका अगुवा नारायण जिसीले दशैमा घर दिने आश्वासनपछि म्याद थपिएको थियो । तर अहिलेसम्म काम जस्ताको त्यस्तै रहेको पीडितले बताए । ठेकेदारले प्रयोग गरेको बालुवा समेत कमसल खालको ल्याएर राखेका छन् । ब्लकको गाह्रो जोड्नका लागि चाहिने बालुवा नल्याइएको, ब्लक पनि ठेकेदारले कमसल बनाउन लगाएर ल्याएको समेत आरोप लगाइएको छ । ठेकेदारले पटक–पटक लार्पवाही गरिरहेको तर व्यवस्थापन समितिलाई बेवास्ता गर्दै बागलुङ नगरपालिकाले ठेकेदारलाई पटक–पटक म्याद थपिरहेको आरोप लगाई समिति सदस्यले राजिनामा दिएका हुन् । नगर प्रमुख जनक पौडेलले भने प्राविधिक कारण, नीति नियमको प्रावधानमा रहेर काम गर्दा ढीलाई भएको भन्दै ठेकेदारको बचाउ गरेका छन् । उनले गुणस्तरहिन काम भएको भए तत्काल अनुगमन गरेर सच्याउन लगाउने अन्य काममा ठेकेदारलाई थपिएको समय काम गर्न दिनुपर्ने बताए । आफ्नो थातथलो छाडेर बस्न बाध्य उनीहरुलाई भूकम्प प्रतिरोधी भवन बनाएर राख्ने आश्वासनसहित नगरपालिकाले ठेक्का दिएको थियो ।
दुइतले बनाउन सकिने भनिएको भवन एकतला समेत भत्कने अवस्थामा रहेको समेत उनीहरुले आरोप लगाए । माझीहरुले नगरपालिकाका प्राविधिकलाई फोन गर्दा पनि नआएको, वास्ता नगरेको गुनासो गरेका छन् । बनाईरहेका घरको प्लास्टरमा समेत पानी नराखेको, डिजाईन अनुसार काम नभएको उनीहरुले बताए । डिजाईनमा शौचालय र बिजुलीको व्यवस्थापन नभएकोले थप गरेर काम गर्दा ढिलाई भएको पौडेलले दाबी गरेका छन् । नगर विकास कोषको ८० प्रतिशत अनुदान १० प्रतिशत ऋण र स्थानीय सहभागिताको १० प्रतिशतमा ती भवनहरु बन्ने योजना थियो । ठेकेदारले कामदारलाई समेत पैसा नदिएपछि माझीहरुले खाना खुवाउने र घर फर्कन चन्दा संकलन गरेर पैसा दिने गरेको गुनासो गरेका छन् ।
Previous Article२० चैत २०७४, ढोरपाटन दैनिक
Next Article दुनियाँ हसाएका मदनका आँखा आर्यघाटमा यसरी रसाए