बागलुङ, २० चैत–गत २०७२ को भूकम्प पछि धेरै मानिसहरु खुला चउरमा बसेर सुरक्षाको अनुभव गरेका थिए । उक्त घटनापछि बागलुङ नगरपालिकाले सुरक्षित आप्रवासी संगठन (आईओएम)को सहयोगमा सुरक्षित मैदानको खोजी थालेको थियो । उक्त थालनी अनुसार बागलुङ नगरभित्रका ५ वटा स्थानलाई सुरक्षित स्थान घोषणा गरिएको छ । सोमबार आयोजित एक कार्यक्रममा आईओएमका प्रतिनिधिले नगरपालिका भित्रको बाङ्गेचउर, धौलागिरी बहुमुखी क्याम्पस, बिरेन्द्र ऐश्वर्य पार्क, बाल मन्दिर र बाल उद्यानलाई सुरक्षित क्षेत्र तोकेको हो । बागलुङ नगरपालिकाले दिएको जिम्मा अनुसार आईओएमले ती स्थानको अध्ययन गरेर सार्वजनिक गरेको हो । सामुहिक छलफलबाट तोकिएका दर्जनबढी स्थान मध्ये ५ वटामा कम्तिमा २५ हजार मानिसलाई सुरक्षित अस्थायी बसोवास गराउन सकिने गरी छनौट गरिएको संगठनका ईन्जिनियर हरि श्रेष्ठले बताए ।
नगरपालिकाको अनुमति लिएर भवन निर्माण हुने भएकोले नगरपालिकालाई त्यस्ता स्थानमा नक्सापास नगर्न तथा अब बन्ने घरकको लागि आवस्यक खुला स्थान छाडेर मात्र बनाउन लगाउन समेत संगठनले ध्यनाकर्षण गराएको छ । संगठनले बनाएको नक्सा तथा अध्ययन प्रतिवेदन नगर प्रमुख जनकराज पौडेललाई हस्तान्तरण समेत गरिएको हो । पौडेलले प्रतिवेदन बुझेपछि जोखिम न्युनिकरणका लागि नगरपालिकाले थप अध्ययन गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा आईओएमकै पूजा श्रेष्ठले पनि प्रस्तुतीकरण गरेर सुरक्षित बसाई बारे जानकारी दिएकी थिईन् । कार्यक्रम नगर प्रमुख पौडेलको अध्यक्षता, आईओएमकै नविन कार्कीको संचालनमा सम्पन्न भएको थियो । त्यस बाहेक बलेवा एअरपोर्ट, उपल्लाचौर, कुडुले लगायतका स्थान पनि सुरक्षित स्थान बनाउने बिषयमा छलफल भएको थियो । तर ती स्थानलाई अति आवस्यक भएमा मात्र प्रयोग गर्नेगरी प्राथमिकतामा नराखेको समेत बताइएको छ ।