बागलुङ, २० चैत–बढ्दो बलात्कार तथा अन्य अपराधका घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले आमा समूह तथा महिला समूह परिचालन गरेर सचेतना अभियान संचालन गर्ने भएको छ । तीन महिने कार्ययोजना बनाएर कार्यालयले जवरजस्ती करणी र करणी उद्योगबाट महिलालाई जोगाउने अभियान बनाएको प्रहरी निरिक्षक धर्म अधिकारीले बताए ।
कार्यालयले किसोरीहरुलाई समेत सचेतना अभियान संचालन गर्नका लागि विद्यालय, क्याम्पस र समुदायका महिला तथा किसोरी समूह समेतमा प्रशिक्षण चलाउने निर्णय गरेको हो । पहिलो चरणमा तत्कालै बागलुङ नगरपालिका सहित जैमिनी, ढोरपाटन र गलकोट नगरपालिकामा अभियान चलाईनेछ । त्यस्तै गाउूपालिका, विद्यालय र क्याम्पसहरुमा पुगेर हिंसा बारे सचेतना र बच्ने उपायाको बारेमा प्रशिक्षण दिने र अप्ठ्यारो पर्दा प्रहरीले सघाउने गरी विश्वस्त बनाउने योजना बनाएको उनले जानकारी दिए । प्रहरीका अनुसार बागलुङ नगरपालिका वडा नं. ३, ९ र १४ तथा कम्तिमा ७ वटा विद्यालय वा कलेजमा कार्यक्रम संचालन गरिने बताइएको छ ।