बागलुङ, २० चैत–वन डढेलोको समय शुरुवात भएसँगै जिल्ला वन कार्यालय बागलुङले वन डढेलो व्यवस्थापनका विभिन्न कार्यक्रमलाई स्थानिय स्तरमा सञ्चालन गरेको छ । यसै क्रममा आर्थिक वर्ष २०७४।७५ को वार्षिक कार्यक्रम अन्तर्गतका वन डढेलो सचेतना गोष्ठी भकुण्डे क्षेत्रमा सञ्चालन गरेको छ । स्थानिय अगुवा जेष्ठ सदस्य जगन्नाथ शर्माले २ दिने वन सचेतनीकरण गोष्ठीको उदघाटन गर्दै स्थानिय स्तरमा सञ्चालन गरिने कार्यक्रमले दक्ष जनशक्तिको उत्पादन गर्ने र उक्त जनशक्तिले आगामी दिनमा हुन सक्ने वन डढेलो नियन्त्रणमा प्रभावकारी हुने बताएका थिए । |
बागलुङ नगरपालिका अन्तर्गत भकुण्डे क्षेत्रका ४ वटा सामुदायिक वन उपभोक्ता समूहका २१ महिला तथा १० जना पुरुष गरी ३१ जना उपभोक्ताको सहभागिता रहेको उक्त कार्यक्रममा इलाका वन कार्यालयका सहायक वन अधिकृत अच्युत प्रसाद उपाध्यायले सहजीकरण गरेका थिए । उक्त कार्यक्रम वन डढेलो व्यवस्थापनका लागि गरिने पुर्वतयारी, नियन्त्रणका उपायहरु, नियन्त्रण गर्ने क्रममा अपनाउनु पर्ने सावधानीबारे छलफल, अग्निरेखा निर्माण, नियन्त्रित आगोको अभ्यास गरिएको थियो । यस्ता कार्यक्रमलाई अझ स्थानिय स्तरमा विभिन्न कार्यक्रमका साथ अघि बढने सहायक वन अधिकृत उपाध्यायले जानकारी दिएका छन् ।