बागलुङ, २० चैत–श्रमिकहरुले आफुलाई हालसम्म बचत गर्नका लागि कसैले नसिकाएको गुनासो व्यक्त गरेका छन् । ६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ को अवसर पारी पूर्व सन्ध्यामा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको सहयोगमा आयोजित श्रमिकहरुका लागि वित्तीय साक्षरता विषयक कार्यक्रममा उपस्थित सहभागीले उक्त गुनासो व्यक्त गरेका हुन् । कार्यक्रममा श्रमिकहरुले नेपालमा सहकारी संस्थाहरु सञ्चालन भएको ६१ वर्ष पुगिसक्दा हालसम्म तपाईहरु कहाँ हुनुहुन्थ्यो भनी आयोजकलाई प्रश्न गरेका थिए ।
श्रमिकहरुले आफुलाई बचत गर्ने बारेमा कुनै जानकारी नभएकाले काम गर्ने, पैसा कमाउने र खर्च गरी सिध्याउने गरेको बताए । बागलुङ बजारमा ढुङ्गा, गिट्टी, ईट्टा, बालुवा, लोड अनलोड, रिक्सा चालक, ड्राईभर, घर बनाउने लगाएतका क्षेत्रमा काम गर्ने ४१ जना श्रमिकलाई उपस्थित गराई गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बचत नगर्दा भविष्यमा आईपर्ने समस्याहरुको बारेमा श्रमिकरुलाई उदाहरणसहित बुझाएका थिए । कार्यक्रममा ८ जना श्रमिकले सिवाईसी साकोसको शेयर सदस्य बनी सक्दो बचत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । श्रमिकरुलाई शेयर सदस्य बन्दा सिवाईसी वचत तथा ऋण सहकारी संस्थाले रु. १ हजारको मात्र शेयर र प्रवेश शुल्क छुट दिने व्यवस्था मिलाएको छ ।