शिवशरण ज्ञवाली
चलन चल्तीमा परीक्षाको शाब्दिक व्युत्पत्ति प्रक्रिया ‘पर’ प्लस ‘इच्छा’ का रुपमा गरिन्छ । अर्थ पनि शिक्षालयतिर आफ्नै किसिमले लगाइन्छ । परको अर्थ अरु र इच्छा भनेको त चाहना । त्यसकारण परीक्षा भनेको अरुको इच्छामा भर पर्ने कुरा हो भन्नेहरु धेरै छन् तर ‘परीक्षाको भूत !’ को डर कसैलाई पो छैन र ? शिक्षक विद्यार्थी दुवैलाई छ नि ! पहिला पहिला कक्षाकोठामा गूरुले पढाइरहेका बेला मैले सोच्थे, ‘सरले जस्तै परीक्षा दिनु नपरे कति जाति हुन्थ्यो होला है ? पढायो छाड्यो पास फेलै हुनै नपर्ने ।’ राम्रो अंक ल्याउनै पर्ने पारिवारिक, सामाजिक दबाबले यस्तो सोचाइ जन्माइदिन्थ्यो ।
परीक्षाका पनि आआफ्ना प्रयोजन हुँदा रहेछन् भन्ने कुरा विद्यार्थी जीवनपछि मात्रै चाल पाइयो । विद्यार्थी छँदा परीक्षा दिनुको अर्थ कक्षा उतीर्ण गर्नु मात्रै थियो तर पढाइ सकिसकेपछि दिइने परीक्षाको प्रयोजन भने प्रायशः जागिरकै लागि हुँदोरहेछ । ‘जागिरकै लागि’ दिइने परीक्षाको प्रतिष्ठा भने विद्यार्थी कालको तुलनामा धेरै उच्च हुँदो रहेछ, गृह मैदानमा हजारौं घरेलु दर्शकका अघि ‘पेनाल्टी’ प्रहार गर्दै गरेको फुटबल खेलाडीको जस्तै ! अधकल्चो जागिरे जीवनमा ‘जागिरे परीक्षा’का लागि भौतारिदाँ आफ्ना गुरुहरुले दिने भूमिगत परीक्षाहरुको अनुमान लगाउन थालेको थिएँ । तसर्थ विद्यार्थी कालका अनगिन्ती परीक्षाका तुलनामा जागिरका लागि दिइएका दुई चार वटा परीक्षाको मलाई सग्लो याद छ । विद्यार्थीमा परीक्षा दिंदा केवल पढे पुग्थ्यो तर जागिरका ‘स्थानीय’ परीक्षामा भने पढाइमा अब्बल भएर मात्रै पुग्दैनथ्यो है ! जागिरकै लागि पहिलो परीक्षा मैले आइ.ए. अनुतीर्ण भएर बसेका बेला दिएको थिएँ, गाउँकै एक बोर्डिङ्मा । सम्झदा पनि अचम्म लाग्छ, खै के विषयको शिक्षक चाहिएको हो याद छैन तर मैले कनीकुथी अंग्रेजीमा पढाएको भने सम्झना छ ।
त्यसैले लिखित परीक्षा पनि अंग्रेजीमा दिएँ हुँला । आफू नेपाली भाषाको विद्यार्थी अझ त्यसमा पनि अंग्रेजी विषय लागेर घर बसेको बेला मैले अंग्रेजीमा के र कसरी लेखे हुँला ? तथापि खै, कुनै मन्त्रले वा सूत्रले पो काम ग¥यो कि ! त्यसपछि प्रयोगात्मक परीक्षा सुरु भयो । त्यो परीक्षा थियो, कक्षाकोठामा गएर पढाउनुपर्ने । पढाएँ पनि, त्यो पनि अङ्ग्रेजीमा ! तर त्यसमा भने म अनुतीर्ण भएँ । जागिरको अर्को परीक्षा मैले बा ले पढाउने स्कुलमा दिएँ, बी.ए. परीक्षा दिएर ‘रिजल्ट’ कुरेर बसेको बेला । बाले दिनुपर्दैन, राजनीति चल्छ, हाम्रो पहुँच पुग्दैन भन्नुहुन्थ्यो तर मैले जबरजस्ती दिएँ । मैले त्यहाँ बाले नदे भन्दाभन्दै आवेदनका दिनुको मुख्य कारण भने अर्कै थियो । शायद २०५८ सालको कुरा हुनुपर्छ । त्यतिबेला युद्धविराम थियो । किनकिन माओवादी आन्दोलनप्रति मलाई पनि आकर्षण थियो, त्यसो त मलाई मात्र होइन, अरु मेरै साथीहरुलाई पनि आकर्षण थियो, त्यसकारण उनीहरु त रातिराति झन्डा बोकेर चारपालाबाट मझुवा पुगिसकेका थिए । म भने खै के कारणले हो जान पाइन । त्यसकारण म पनि माओवादीसँग भेट्न चाहन्थे ।
संयोग एकदिन चारपाला हटियामा एक कार्यकर्ता आएका रहेछन्, गाविस अध्यक्षलाई भेट्न भन्दै । आत्मराम अंकलले मलाई उनलाई गाविस अध्यक्षको घर बजारमारे पु¥याइदिन आग्रह गर्नुभयो । मलाई ‘ढुंगा खोज्दा देवता मिलेजस्तो’ भयो अनि उनलाई लिएर म गाविस अध्यक्षकोमा पुगे । अध्यक्षको घरको ताग्लाबाट भित्र लगाइदिएर म फर्किएँ । उनी विद्यार्थी नेता रहेछन्, उनीसँग ‘युद्ध र विद्यार्थी आन्दोलन’का विविध कुराकानी गर्दै हामी गाविस अध्यक्षकोमा पुग्यौं । हामी दुई अघिअघि कुरा गर्दै जान्थ्यौं, अरु हाम्रा पछिपछि कुरा सुन्दै जान्थे । अमर दाईले बीचबीचमा थप्नुहुन्थ्यो । त्यसले गर्दा गाउँभरी ‘शिव’ माओवादी भयो भन्ने हल्ला चलेछ । मैले उनलाई गाविस अध्यक्षको घरमा पु¥याएर दिदीकोमा खाना खान आएँ । दिदी त रिसाएर एकछिन बोल्दै बोल्नुभएन । अन्तिममा माओवादीको पछि नलाग्ने शर्तमा बोल्न तयार हुनुभयो । त्यो सानो घटनामा भ्रम छर्न र म माओवादी होइन है भन्नकै लागि मैले सोही दिन बा को स्कुलमा आवेदन दिएको थिएँ । यदि त्यो दोषबाट नउम्किए त गाउँमा बस्नै गाह्रो हुन्थ्यो । गाउँबाट धेरै युवाहरु पलायन भएका थिए । हामीलाई पनि गाउँ छाड्न दबाब थियो । जोशिला मित्र दुर्गाले एकदिन एउटा गीतको बोल सुनाएका थिए, ‘देशले रगत माग, मलाई बली चढाऊ ।’ त्यसैले अरु साथीहरुले गाउँ छाड्दा पनि उनी, म र अरु एकाध साथीहरु भने गाउँमै बस्यौं ।
बाले भनेजस्तै त्यो परीक्षामा भने मेरो लिखितमै नाम निस्केन । त्यसपछि पनि एउटा परीक्षाका लागि सोही स्कुलमा आवेदन दिइयो तर एकल महिलालाई त्यो जागिर दिलाउने शर्तमा त्यो आवेदन म लगायत अरु प्रतिष्पर्धीहरुले फिर्ता लियौँ । अन्ततः त्यो जागिर ती एकल महिलाले नै खाइन् । एम. ए. सकेपछि भने जागिर खोज्दा थाकिसकेका थियौं, दुई भाइ नै । पढ्दा लक्ष्यहीन पढाइ नै त्यसरी पढियो जसरी आज पनि तमाम युवाहरु लक्ष्यहीन किसिमले पढिरहेका छन् । हिसाब किताब नगरीकन पढेकाले पढाइ सकिने बित्तिकै जागिर पाइने कुरा भएन । काभ्रेतिरका साथीहरुले जागिरको आश्वासन दिदै मेरो सर्टिफिकेट लगेका थिए तर आजआज भोलिभोलि गर्दैगर्दा त्यतातिरबाट धोका भएको कसैले भन्नु परेन । पढाइ सकियो दिनभरी के गर्ने ? यही प्रश्नले जागिरको दौडघुप चलेको थियो । बेरोजगारी टार्नकै लागि एम. ए. पढिएको रहेछ भन्ने बुझिदै थियो । दाईले निराशाका स्वरहरु सुनाउनुहुन्थ्यो, ‘अंग्रेजीका तमाम विद्यार्थीहरुलाई मैले नै जागिर लगाइदिएको छु तर नेपालीको त तँलाई नै जागिर लगाउन सकिन मैले ।
एकजनाले पनि जागिर छाड्दो रहेनछ ।’ यस्तैमा एकदिन कीर्तिपुरस्थित व्यवस्थापन संकायको भवन अगाडि रवीन्द्र घिमिरे भन्ने गुल्मी धुर्कोटतिरका एकजना साथीले मलाई भने, ‘मलाई एकजना महेन्द्रमालाको शिक्षक खोजिदिनुस् न ।’ पहिला त यो महेन्द्रमाला भनेर के भनेको भनेर अक्कबक्क भएँ तर एकछिनमा भने बुझिहाले । अनि भने, ‘मै छु नि यार ! किन अरुलाई खोजी हिडेको ?’ उनले भने, ‘त्यसो भए म भनिदिइहाल्छु, तपाई भगवान पाउस्थित सनसाइन बोर्डिङ्मा जानुस् ।’ दुनियाँलाई जागिर लगाइदिने अंग्रेजीवाज मेरो दाइ मलाई जागिर खोजिदिन नसकेर हद्दु भइसक्नुभएको थियो । त्यसकारण दाइले तुरुन्तै सकारात्मक प्रतिक्रिया दिनुभयो, म भोलिपल्ट दुई बजेतिर साथीले बताएको स्कुलमा पुगे । स्कुलमा मेरो प्रयोगात्मक परीक्षण भएछ तर मैले त्यो कुरा थाहा पाइन । अनि पर्सिपल्ट फोन आयो, म त्यो परीक्षणमा पास भएछु । फोन आएको भोलिपल्टदेखि मैले स्कुल सुरु गरे, नेपाली विषयको शिक्षकको रुपमा । स्कुलमा पहिलो दिन कक्षामा जान्छु भन्दा त विद्यार्थीहरुले नौलो शैलीमा अभिवादन गरे, ‘बिहानको नमस्ते गुरु बा’ भनेर ! भर्खर एम. ए. सकेको ठिटै जस्तो लाग्थ्यो आफूलाई त ! तर यो ‘बा’ भन्ने शब्दले कताकता साह्रै असजिलो बनाइदियो । बिराएँ बिराएँ जस्तो लाज लागे लागेजस्तो ! त्यसकारण यसरी चिमोट्ने गुरुबा भन्ने शब्दलाई कक्षा नौ मा मैले तुरुन्तै फेरिदिएँ ।
दश कक्षामा जान्छु भन्दा पनि चालामाला उही छ । ‘भोलिबाट यसो नभन्नु गुडमर्निङ् सर’ भने हुन्छ भन्दै थिएँ, प्रिन्सिपलले चाल पाइहालेछन् अनि त कक्षामै आएर रोके । गुणस्तरका लागि अंग्रेजी मिडियममा पढाइ हुने स्कुलमा नेपाली विषयमा यो नभने त हाम्रो संस्कृति मासिन्छ रे । आफ्नो मातृभाषा पनि राम्ररी नसिकेका बालबालिकामाथि अंग्रेजीको नत्थी लगाउँदा संस्कृति नमासिने ? तर त्यहाँ प्रिन्सिपलले भनेकै कुरा लागू हुने नै भयो । अनि दिनहुँ त्यही असजिलाको साथ दुई महिनासम्म काम गरे । दुई महिनामा बिदा हुँदा प्रिन्सिपलले खाममा पारिश्रमिक दिएर बिदा गरे । त्यत्रो सम्मानका साथ खामबन्दी गरेर दिएको पारिश्रमिक खोलेर गन्नु मेरो नैतिकताले दिएन अनि खुरुक्क गोजीमा राखेर म त्यो स्कुलबाट बिदा भएँ । सइसाइनमा पढाउँदै गर्दा, म्याग्दीको दरबाङ्बाट वीरबहादुर कार्की सर प्लस टु चलाउन शिक्षक खोज्दै काठमाडौं जानुभएछ । अनि सरसँग मेरो भेट नयाँ बसपार्क पछाडिको कुनै होटलमा भयो । पठाउने गुल्मीकै कृष्ण पौडेल सरले निकै राम्रो ठाउँ छ भनेपछि म म्याग्दी जान तयार भएँ । त्यसभन्दा पहिला म एकपटक पोखरा हुँदै काठमाडौं गएको थिएँ, गुल्मीबाट फर्कदा । नभए यो बाटो हिड्ने औसर मिलेको थिएन । दोस्रो पटक म म्याग्दीका लागि काठमाडौंबाट हिडें । एकरात पोखरा र एकरात बेनी बसेर म म्याग्दीबाट २४ किलोमिटर हिडेरै दरबाङ पुगे । दरबाङ्स्थित तत्कालीन जनप्रिय उच्च माध्यमिक विद्यालयमा शिक्षक पदमा मेरो ठाडो मौखिक नियुक्ति भयो । त्यहाँ मैले कक्षा ११ को शिक्षकको रुपमा ६ महिना काम गरे । त्यसपछि जागिरमा ठाडो नियुक्तिका श्रृङ्खलाहरु चलिरहे, कतै क्याम्पस, कतै बोर्डिङ् त कतै विद्यालयमा गरेर । जनप्रियले एउटा नयाँ श्रृङ्खला सुरु गरेको थियो, मेरा लागि ! मलाई प्रक्रिया पु¥याएर धाँधलीपूर्ण किसिमले गरिएका नियुक्ति भन्दा ‘हाकाहाकी’का यस्ता नियुक्तिहरु निकै मन पर्न थालेका थिए । दुनियाँलाई झुक्काएर कुनै एक जनालाई रातिराति प्रश्न दिएर लिइने खुराफाती परीक्षाको प्रक्रियाबाट नियुक्ति गर्नुभन्दा हाकाहाकी गरिने ठाडा नियुक्तिहरु कता हो कता बेस छन् जस्तो लाग्न थालेको थियो । एकपटक हाकिमसँग द्वन्द्व बढ्दा उहाँले ‘तिमीहरुलाई अख्तियारको पत्र आएको छ’ भन्नुभयो । बुझ्दा थाहा पाइयो, त्यही मोरो ठाडो नियुक्तिले पो अख्तियारलाई निम्ता दिएको रहेछ ! खुराफातीमा अख्तियार नलाग्ने हाकाहाकीमा अख्तियार लाग्ने बडा गजबको चलन छ, हामीकहाँ ।
तथापि त्यसपछि पनि मैले जागिरे परीक्षाको सामना गर्नैप¥यो । २०६७ मा त्रिवि सेवा आयोगकै परीक्षा दिएँ । २०६५ मा डिग्री सके बाहेक आयोगको खासै तयारी थिएन । त्यसकारण सफलता पाइने कुरै भएन । दुई पटक शिक्षक सेवा आयोगको परीक्षा पनि दिए । पहिलो पटक करारमा सम्म नाम प¥यो, दोस्रोपटक त्यही पनि परेन । क्याम्पस पढाएर ठूलो भइ टोपलेको घटुवामा जाने उत्प्रेरणा थिएन । बा आमा पनि क्याम्पस पढाइरहेको मान्छे स्कुलको शिक्षक किन हुनुप¥यो भन्नुहुन्थ्यो भने केही साथीहरु पनि त्यही भन्थे । एकपटक नेपाल संस्कृत विश्वविद्यालयको परीक्षा दिन दाङ पनि पुगे । त्यसमा पनि सफलता मिलेन । तर अधकल्चो जागिरले गर्दा बेलाबेलामा जागिरे परीक्षाका लागि पटकपटक मन भौतारिरहन्थ्यो । क्याम्पसको जागिरले न सेवाको संकेत गथ्र्यो न खानपुग्ने पारिश्रमिक नै दिन्थ्यो । त्यसकारण साथीहरुको करकापमै दुई चार पटक लोक सेवा आयोगमा पनि फाराम चाहि भरें । एकपटक त दोब्बर दस्तुर तिरेर पनि फाराम भरेको छु तर लोकसेवा आयोगको परीक्षा भने मैले कहिल्यै दिइनँ । बरु एकपटक लोकसेवाको परीक्षा चलाउने ‘ठूलो मान्छे’ बने । लोकसेवा आयोगको परीक्षामा तर्कलाई स्थान छैन, म तर्क गर्थे । त्यसकारण मलाई उसका परीक्षाप्रति आकर्षण जाग्दै जागेन । म्याग्दीसँग मेरो गहिरो नाता छ, त्यसैले पुनः एकपटक मलाई उसले फर्कायो । तसर्थ त्यहाँको एक स्कुलमा जागिरका लागि आवेदन दिई परीक्षा पनि दिएँ । त्यतिबेला म त्रिविको परीक्षाको लागि पूरैपूरै तयारीमा थिएँ ।
त्रिविको परीक्षाको पूरै तयारीमा बस्नुपर्ने बाध्यता के थियो भने एकातिर मेरा विकल्पहरु दिनप्रतिदिन एकदम सीमित बन्दै गएका थिए अर्कोतिर असफल आन्दोलनको नेतृत्व पटकपटक गर्दा मसँग धेरै जना चिढिएका थिए । मैले मेरै लागि आन्दोलन गरेको थिएँ, अरुका लागि होइन । अरुले गरिदेला र मैले खाउँला भन्ने पनि थिएन । कोही कसैलाई असफल गराउन पनि गरिएको आन्दोलन थिएन । त्यसकारण आन्दोलनसँगसँगै किताब भन्ने हाम्रो क्याम्पसका आंशिक साथीहरुको नारा थियो । २०७२ पुष २९ गते बुटवल भेलामा हामीले प्रस्तुत गरेको कार्यपत्रको शीर्षक नै थियो, ‘आंशिक शिक्षकको एक हातमा कलम अर्कोमा मसाल ।’ यो सुझबुझ किसिमले तयार गरिएको शीर्षक थियो । त्यसपछिका हरेक कार्यक्रममा मैले साथीहरुलाई किताब सिरानीमा राखेर सुत्न आग्रह गर्थे । त्यसो भन्दा कतिपय साथीहरु हाँस्थे पनि । दिनभर आन्दोलन रातभर पढाइ भने पनि सजिलो थिएन । आन्दोलनको तनाबले पढाइलाई अवरोध गथ्र्यो । तर पढ्न छाडिएन । क्षेत्रीय आन्दोलन समेत असफल हुने लक्षण भएका बेला त्रिवि सेवा आयोगको परीक्षा तोकियो । त्यस्तो अवस्थामा परीक्षालाई नै आन्दोलनको रुपमा उपयोग गर्नुको विकल्प थिएन । मैले बाहिरका साथीहरुलाई पनि यही सन्देश पठाएको थिएँ । केही हदसम्म हामीले भनेजस्तै भयो पनि हाम्रो क्याम्पसमा । तर स्कुलको परीक्षामा भने मेरो लिखितमै नाम निस्केन । निस्कदैन भन्ने करिबकरिब संकेत पाए पनि लेखन अभ्यास हुन्छ भन्ने ठानेरै म सो परीक्षामा सहभागी भएको थिएँ ।
त्रिविको लागि परीक्षा दिंदा गुल्मी धुर्कोटकै साथी मधुसुदन पन्थीले मलाई चुनौती दिएको थियो । उसको भनाइ थियो, ‘तैले यसपटक नाम निकालिनस् भने कहिल्यै निकाल्दैनस् ।’ नेपाली विषयमै एम.ए अनि भर्खरै एम.एड.सकेको भएर उसले चुनौती दिएको थियो । म मा आत्मविश्वास भने अनौठै थियो । अनन्य मित्र हंसले मलाई लोकसेवाका लागि उक्साइरहन्थे कारण उनी मेरो लेखनशैलीबाट प्रभावित थिए । साथीले उक्साएकाले पनि म मा आत्मविश्वास बढे होला । तर परीक्षामा सफलता पाउनका लागि कुनै ठ्याक्कै सूत्र भने छैन कि ? आत्मविश्वाससहितको मेहनत नै पहिलो शर्त हो जस्तो लाग्छ । परीक्षा आफैमा प्राविधिक कुरा भएकाले जानेर मात्रै हुँदो रहेनछ, परीक्षारूपी दैलोमा आफूलाई छिराउन पनि सक्नुपर्दोरहेछ । आयोगका परीक्षामा नाम निस्कनु ननिस्कनु भनेको त कुशल चालक ‘लाइसेन्स’को ‘ट्रायल’मा उतीर्ण वा अनुतीर्ण हुनु जस्तै हो जस्तो लाग्छ । तसर्थ परीक्षाको ढाँचाभित्र आफूलाई ढाल्नैपर्छ । अर्को कुरा निरन्तरको अध्ययन नै सफलताको कुन्जी हो जस्तो लाग्छ । परीक्षाका बेला मात्रै पढ्ने बानीले सफलता सम्भव छैन । लोकसेवा तयारी गर्नेहरुले ‘लोकसेवा होइन लकसेवा’ भनेजस्तै कहिलेकाही चिट्टा पर्नु फरक कुरा हो । अन्तर्वार्ताको परीक्षा पनि पास गरेपछि भने जागिरकै लागि भनेर परीक्षा दिन भौतारिनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । तर परीक्षा सकिएका छैनन् । जागिरे परीक्षाका अनेक तह अझै बाँकी छन् । स्मरणीय कुरा यो छ कि जागिरको पहिलो परीक्षामा पनि मैले अन्तवार्ता अगाडि शिक्षण गर्नुपरेको थियो भने अन्तिम परीक्षामा पनि शिक्षण गर्नुपरेको थियो । यो अनौठौ काकतालीले रोमाञ्चकता भने थप्यो नै, शिक्षक बन्नुको मज्जासँगै ।