बागलुङ, १५ चैत– निसीखोला गाउँपालिका–२ टारीफाँट–धाराटोल, उपल्लो बेङ्ग्रीहुँदै ढोरपाटन जोड्ने मोटरबाटो निर्माण कार्य सुरु भएको छ । निसीखोला गाउँपालिका–२ को २०७४ र ०७५ मा विनियोजन भएको रकममध्येको १५ लाख रुपैयाँले उक्त मोटरबाटोको निर्माण कार्य सुरु गरिएको निसीखोला गाउँपालिका–२ का वडा अध्यक्ष कुविर विकले जानकारी दिए ।
मोटरबाटो निर्माण गर्न थालेसँगै त्यस स्थानका स्थानीयमा खुसीयाली छाएको छ । गाउँदेखि करिब साढे १ घण्टा तल झरेपछि मोटर गाडी देख्ने गरेका त्यस स्थानका स्थानीय अब आफ्नै घर दैलोमा मोटर पुग्ने भएपछि खुसी भएका छन् । यो सडक निर्माण भईसकेपछि निसीखोला गाउँपालिका–२ को धाराटोल, तारीफाँट र उपल्लो बेङ्ग्रीका स्थानीयलाई बजारदेखि सामान ढुवानी गर्न, घर भवन निर्माणका लागि खोलादेखि गिटी, बालुवा घरसम्म पुराउन र बिरामी परे गाडीबाटै हस्पिटल पुराउन सकिने भएको छ ।
त्यसैगरी सडकको निर्माण कार्य सम्पन्न भैसकेपछि ढोरपाटनमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरु सजिलै आवतजावत गर्न सक्ने छन् । त्यस्तै ढोरपाटन क्षेत्रमा उत्पादन हुने स्वादिष्ट आलु, स्याउ, सिमी, च्याउ निसीखोलामा ल्याउन सहज हुने छभने ढोरपाटनमा पाईने जडिबुटी संकलन गर्न सहज हुने निसीखोला गाउँपालिका–२ का वडा अध्यक्ष कुविर विकले जानकारी दिए ।
Previous Articleआगलागी पीडितलाई राहत हस्तान्तरण
Next Article राष्ट्रिय आर्थिक गणना किन ?