काठमाडौं, १७ असोज- कर्णाली बिकट होइन निकट छ, राराबास देखि रारातालसम्म जानलाई केही समस्या छैन भन्ने सन्देश सहित बाँकेको राराबास देखि मुुगुको रारा तालसम्मको नयाँ पर्यटन प्याकेज सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा पूर्व पर्यटन राज्यमन्त्री बलदेवबहादुर महत, नेकपा एमालेका पर्यटन विभाग प्रमुख सूर्य थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी र सोट्टोका अध्यक्ष याम खड्का लगायतले सो कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रदेश नं ६ का बाँके, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसहित छ जिल्लालाई केन्द्रित गरेर सो प्रवद्र्धन कार्यक्रम तय गरिएको हो । गत भदौ ३० देखि यही असोज ६ सम्म महतको नेतृत्वको टोलीले सो क्षेत्रमा ‘पर्यटन जागरण, अन्तक्र्रिया र भ्रमण’ सम्पन्न गरी कार्यक्रम गरेको थियो।
तीन प्याकेज अन्तर्गत २५, ३० र ४० हजार रुपैंयाको प्याकेज कार्यक्रम सार्वजनिक गरिएको हो । सडकमार्ग र हवाई दुवै मार्गको प्रयोग गरेर घुम्न सकिने उक्त प्याकेजअनुसार तीन दिनदेखि महिनौ दिन लगाएर पनि कर्णली र राराको सुन्दरतामा रमाउन सकिनेछ ।
प्याकेज सार्वजनिक गर्दै पूर्व पर्यटन राज्यमन्त्री महतले रारासम्म पुग्ने सडक बाटो पक्की भएमा सो क्षेत्रमा विकासको थप सम्भावना रहेको बताए । उनले कर्णालीका नाममा विनियोजन हुने गरेको बेजट केवल आँखामा छारो हाल्ने प्रकारको मात्र भएको गुनासो गदृै योजना सम्पन्न गर्नसक्ने बजेट उपलब्ध गराउन माग गरे ।
एमाले पर्यटन विभाग प्रमुख थापाले छ नं प्रदेशका जिल्लालाई केन्द्रित गरेर पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, बसोबासको व्यवस्थापन, गन्तव्य पहिचान र प्रवद्र्धनसहित बजारीकरणका लागि एकीकृत कार्य गर्नुपर्ने र यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।थापाले विसं २०३२ मा रारा राष्ट्रिय निकुञ्जबाट त्यहाँका नागरिकलाई विस्थापन गरी बाँकेको चिसापानी सारिएको र हाल त्यो स्थान चिसापानीमा राराबास बनाइएको जानकारी दिए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक जोशीले पर्यटन व्यवसायीको अगुवाइमा भएका प्रवद्र्धनसम्बन्धी कार्यक्रम सफल हुने भन्दै मध्यपश्चिमको यस नयाँ कार्यक्रमलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । मानिसलाई आकर्षित पार्ने विषयहरुलाई पर्यटन प्रबद्र्धन र प्याकेज कार्यक्रममा समेट्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले रारा प्रबद्र्धनका लागि सम्पन्न गरिएको अध्ययन भ्रमणले पर्यटन क्षेत्रमा नयाँ आयाम थपिएको भन्दै शब्द र चित्रका माध्यमबाट राराबासदेखि रारासम्मका गन्तव्यहरुको कार्यपत्रमार्फत उजागर पार्ने काम गरेको बताए ।