पोखरा, १२ चैत – झन्डै डेढ महिनापछि प्रदेश नम्बर ४ को मन्त्रिपरिषदले पूर्णता पाएको छ। यसअघिको जिम्मेवारीलाई हेरफेर गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई पूर्णता दिएका हुन्।
प्रदेशमा रिक्त रहेका आर्थिक मामिला तथा योजना मन्त्रालयमा किरण गुरुङ, उद्योग, पर्यटन तथा वन र वातावरण मन्त्रालयमा विकास लम्साल र सामाजिक विकासमा नरदेवी पुन मन्त्री बनाएका छन्। यसअघि पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका रामशरण बस्नेतलाई जिम्मेवारी हेरफेर गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। बस्नेतको ठाउँमा विकास लम्साललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिईएको छ।
मन्त्रीहरुका आकांक्षी बढी, पार्टीभित्रको गुट, आन्तरिक असहमतिका कारण एमालेले आफ्नै भागमा परेका मन्त्रीहरुको टुंगो लगाउन सकेको थिएन्। गत बिहिबार दिउँसो तीन बजे पनि मन्त्रीपरिषदलाई पूर्णता दिने निश्चित देखिएतापनि अन्तिम समयमा किरण गुरुङले मन्त्रीमा आकांक्षा देखाएपछि मन्त्रीपरिषद विस्तार रोकिएको थियो।
गत बिहीबार पर्वतका विकास लम्साल, नवलपरासीका रोशन गाहा र म्याग्दीकी नरदेवी पुनलाई मन्त्री बनाउने तयारी भएतापनि एमालेका प्रदेश-४ संयोजक किरण गुरुङले अन्तिम समयमा मन्त्री हुने चाहना देखाएपछि मन्त्रीपरिषद विस्तार ३ दिन पछि सरेको थियो। यसअघि प्रदेशमा पार्टीको संसदीय दलको नेता बन्ने दौडमा रहेका प्रदेश-४ संयोजक गुरुङले उम्मेदवारी नदिएपछि पृथ्वीको नाममा सहमति जुटेर मुख्यमन्त्री बनेका थिए।
यो सँगै प्रदेश ४ मा रहने सातवटै मन्त्रालयले पूर्णता पाएका छन् । मुख्यमन्त्री गुरुङले यसअघि उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा एमालेका रामशरण बस्नेतलाई नियुक्त गरेका थिए। त्यस्तै सत्ताघटक माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा लेखबहादुर थापालाई मन्त्री बनाएका छन्।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष सपथग्रहण लिएका छन्। प्रदेश प्रमुख कुँवरले उनीहरुलाई संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् । नयाँ मन्त्रीहरुले सोमबार नै सम्बन्धित मन्त्रालयमा पदवहाली समेत गरेका छन्।
Previous Articleराष्ट्रपतिले चैत १५ गते संघीय संसदमा सम्बोधन गर्ने
Next Article प्याराग्लाइडिङ १८ औँ एसियाली खेलकुदमा समावेश