पोखरा, १२ चैत – साहसिक खेलको रुपमा चिनिने प्याराग्लाइडिङ १८ औँ एसियाली खेलकुदमा समावेश हुने भएको छ। इण्डोनेसियाको जकार्तामा हुने प्रतियोगितामा ‘आमन्त्रित खेल’का रुपमा प्याराग्लाइडिङले प्रवेश पाएको हो।
एसियाडको तयारी गरिरहेको नेपालले प्याराग्लाइडिङमा सहभागिता जनाउने निश्चित भएको छ। प्रतियोगितामा इन्डिभिजुअल एक्कुरेसी, टिम एक्कुरेसी र टिम क्रसकन्ट्री विधामा नेपालको सहभागिता रहने नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ एसोसियसनका महासचिव शैलेन्द्र रावतले जनाए।
सबैमा गरी १० जना नेपाली खेलाडी इण्डोनेसिया पुग्ने उनको भनाइ थियो। तर, थप खेलाडी सहभागिताको लागि समेत राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरिएको उनको भनाइ थियो। पोखरा प्याराग्लाइडिङको मुख्य ‘हब’ हो। देशका अन्य भागबाट समेत प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिए पनि पोखरामा मात्र ६० वटाभन्दा बढी कम्पनीहरु अस्तित्वमा रहेका छन्।
सानुबाबु सुनारजस्ता व्यावसायिक पाइलटहरुले विश्वस्तरमै प्याराग्लाइडिङमा कीर्तिमानी कायम गरेका छन् भने टिम क्रसकन्ट्री विधामा नेपालका ६ जना पाइलटहरु टप टेनभित्र अटाएका छन्। एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० वटा देशको सहभागिता रहने अपेक्षा गरिएको छ।
Previous Articleप्रदेश नं. ४ को मन्त्रिपरिषद्ले पूर्णता पायो
Next Article गिरिजाप्रसादको त्यो आक्रोश, ओलीको यो अडान