बागलुङ, १२ चैत-बाङ्गेचौर खेल मैदानमा जारी पाँचौ धौलागिरि कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक बागलुङ क्रिकेट क्लब र राईजिङ क्रिकेट क्लब पोखरा फाईनल भीड्ने भएका छन् । आईतबार भएको सेमीफाईनल खेलमा दुवै समूहले आ–आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । राईजिङ पोखराले नेपाल विद्यार्थी संघ बागलुङ र आयोजक बागलुङ क्रिकेट क्लबले बुटवल युवा स्पोर्टस् क्लबलाई पाखा लगाए । पहिलो सेमिफाईनल खेलमा नेपालका राष्ट्रिय टोलीका खेलाडी करण केसीको शतकको मद्धतमा राईजिङ पोखराले नेविसंघ बागलुङलाई ४ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ रोजेको नेविसंघ बागलुङले निर्धारित २० ओवरमा ९ विकेट गुमाउदै १६१ रनको योगफल तयार पारेको थियो ।
ओपनिङ ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा परेको नेविसंघलाई मध्यक्रमले पनि राम्रो भरोसा दिन सकेन् । नेविसंघका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका अभिजित रोयले ३० रनको योगदान गरे । बलिङतर्फ राईजिङ पोखराका अमृत गुरुङ, करण केसी, अमन रेग्मी, विनय भण्डारी र मुक्ति यादवले समान २–२ विकेट लिएका थिए । १६२ रनको लक्ष्य पछ्यार जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको राईजिङ पोखराका लागि सुरुवात सुखद हुन सकेन । सुरुवाती तीन ब्याट्सम्यानलाई शून्यमा गुमाएर दबाबमा परेको राईजिङका लागि ओपनर करण केसीले पारी सम्हालेका थिए । एक इनिङबाट विकेट पतन भइरहे पनि केसीले समालिएर व्याटिङ गर्दै प्रतियोगिताकै पहिलो शतक प्रहार गरे । ७३ बलको सामना गर्द १२ छक्का र ५ चौका प्रहार गरेका उनले नटआउट १ सय १० रन बनाए । केसी म्यानअफदी म्याच घोषित भएका थिए । करणसँग जीतको आधार तयार गर्न राईजिङ पोखराका कप्तान अमृत गुरुङले २३ रनको योगदान गरे । बलिङतर्फ नेविसंघका प्रविण बाबरले ३ र अभिजित रोयले २ विकट लिएका थिए । दोस्रो सेमीफाईनल खेलमा बुटवल युवा स्पोर्टस् क्लबलाई ११६ रनले पराजित गर्दै आयोजक बागलुङ क्रिकेट क्लबले फाईनल यात्रा पक्का प¥यो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको बागलुङ निर्धारित २० ओवरमा ९ विकेट गुमाउँदै १६३ रन जोड्यो । बागलुङका विक्की गाजीले २७ र पुरन सिंहले २६ रनको योगदान दिए । बलिङतर्फ बुटवलका सिकन्दर यादवले ३ र याम क्षेत्री र अमरजित सिंहले समान २–२ विकेट लिए । १६४ रन पछ्याउँदै ब्याटिङ थालेको बुटवलका लागि सुखद सुरुवात हुन सकेन । पहिलो ओभरमै दुई ब्याट्सम्यानलाई गुमाएको बुटवल सम्हालिन नसक्दा जम्मा ४७ रनमै अल आउट हुन पुग्यो । बुटवलका लागि ईन्द्रदेव निशानले सर्वाधिक १७ र सिद्धान्त अधिकारीले १२ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ बागलुङका विक्रम सोबले ४, किरण सिंहले ३ र विक्की गाजीले २ विकेट लिए । फाईनल भीडन्त सोमबार दिउँसो बाँगेचौर खेल मैदानमा हुनेछ । चैत्राष्टमी मेला २०७४ को अवसर पारेर बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ दि सिरिजले १० हजार सहित डोगि मोबाईल, बेष्ट ब्याट्सम्यान र वेष्ट बलरले जनही ५–५ हजार प्राप्त गर्नेछन् ।