बागलुङ, १२ चैत-कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्न चाहेको बताएका छन् । उनले मन्त्रालय सम्हाले लगत्तै परिवर्तनका लागि काम थालिसकेको समेत दावी गरेका छन् । प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा आइतबार उनले नेपाली बस्तुको उपयोग बढाएर कृषि बस्तुको आयात रोक्ने प्रतिवद्धता पनि जनाएका छन् । उनले केही बर्षमा त्यो परिवर्तन देखिने दाबी गरे । स्थिर सरकारमार्फत कृषि व्यवसायबाट समृद्ध मुलुक निर्माण गरिने योजना अनुसार सरकारले आयात प्रतिष्थापनको नीति लिएको बताएका हुन् । उनले किसानको जीवन र आर्थिक अवस्थामा सुधार भएको देखाउन बर्तमान सरकार लागि परेको समेत बताएका हुन् ।
मन्त्री खनालले बैदेशिक रोजगारीमा हिडेका युवालाई सबै एकैपटक फर्काएर भन्दा उत्पादन बढाएर आर्कषित बनाउने योजना उनले सुनाए । ‘हामी एकै बर्षमा सबैलाई रोक्छौं भनेर संभव देख्दैनौं’ खनालले भने, ‘कम्तिमा १० बर्षमा पलायन दर न्युन बनाउने हो, त्यसका लागि यही उत्पादन र बजराको व्यवस्था गर्नु हो ।’ सरकारले तत्कालका लागि दूध, चामल र गहुँमा आत्मनिर्भर बनाउने, तरकारी निर्यातमूखी बनाउने र युवालाई स्वदेशमा रोजगारी दिने योजना बनाएको बताए । गत निर्वाचनमा दिएका नारा पुरा गर्न दश बर्ष लाग्ने उनको भनाई छ । भूमि व्यवस्थामा सबैभन्दा धेरै कठिनाई रहेको भन्दै उनले सहकारी मार्फत युवालाई रोजगारीमा ल्याउने, भूमिको चक्लाबन्दीतस्बाट उत्पादन बढाउने काममा नीति बनाई रहेको समेत उनले प्रष्ट पारेका थिए । मन्त्री खनाल बागलुङका केही कार्यक्रममा भाग लिने क्रममा आएका थिए । मन्त्री खनालले चालु बर्षको बजेटमा केही रकमान्तरण गरेर भएपनि कृषि उत्पादन वृद्धिमा लगाउने पनि बताएका थिए । स्थिर सरकार दिएर जनताको चाहना पुरा गर्ने र आम जनतालाई आर्थिक समृद्धिको बाटोमा हिड्न साथ दिने गरी सरकारले काम थालेको बताए । उनले पार्टी एकीकरण पछि जनतालाई सेवा दिने काम अझै बढ्ने समेत दाबी गरे ।
सेन्टरका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष कृष्ण कंडेलको संचालन र सल्लाहकार कोपिला कंडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै बागलुङमा जारी चैत्राष्टमी मेलाको अवसरमा समेत मन्त्री खनाल सहभागि भएका थिए । उनले उक्त मेलामा बोल्दै पर्यटन प्रवद्र्धनमार्फत बागलुङको मुहार परिवर्तन गर्न सकिने दावी गरेका छन् । उनले कालिका भगवती मन्दिर प्रतिको चासोलाई अझै बढाएर पर्यटन व्यवसाय संचालन गर्न पनि सुझाव दिए । उनले राजनीतिक परिवर्तनमार्फत अब स्थायी सरकारको बाटोमा हिडेकोले आर्थिक क्रान्तिमार्फत अब जनताको चाहना पुरा गर्ने काममा लाग्ने बेला आएको दाबी गरे । उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने तथा कृषि उपजको उचित बजारीकरणको बाटोमा किसानलाई आर्कर्षित गर्ने कार्यक्रम ल्याउन पहल गर्ने समेत बताएका थिए ।
Previous Articleक्रिकेटको फाइनल भीडन्त आज हुँदै
Next Article १२ चैत २०७४, ढोरपाटन दैनिक