पर्वत, १२ चैत-जिल्लाको एक विकट गाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले गाउँघर क्लिनिक निर्माण गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको करीव रु छ लाख ४१ हजार आर्थिक सहयोग र स्थानीय जनसमुदायको रु ११ हजार २०० बराबरको श्रमदानमा फलेवास नगरपालिका–९ भँगरा उल्लेरीमा सो क्लिनिक निर्माण गरिएको हो । उक्त क्लिनिक निर्माण समितिका अध्यक्ष होमबहादुर पौडेलका अनुसार क्लिनिक निर्माणका लागि स्थानीय सावित्रा रिजालले झण्डै ९ आना २ पैसा १ दाम बराबरको जग्गा दान दिएकी थिइन् । यसैबीच, दुई गाउँपालिकामा भएका स्वास्थ्य क्लिनिकमा खकार परीक्षणका लागि माइक्रोस्कोपको सुविधा नहुँदा क्षयरोग पहिचानमा कठिनाइ भएको छ ।
जलजला र मोदी गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा खकार परीक्षणका लागि माइक्रोस्कोपको अभाव हुँदा क्षयरोग पहिचानमा कठिनाइ भएको छ । स्थानीय स्वास्थ्यचौकी र उपस्वास्थ्य चौकीमा पुग्ने बिरामीको खकार परीक्षण सोही स्थानमा गर्दा सहज हुने गर्छ तर लामो समयदेखि यी दुई गाउँपालिकामा उक्त सुविधा नहुँदा क्षयरोगी पहिचान गर्न कठिन भएको हो । अहिले खकारको नमूना संकलन गरेर जिल्ला अस्पतालमा रहेको ल्याबमा ल्याउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । समयमै खकार ल्याउन नसक्दा जिवाणु नष्ट हुने र पहिचान गर्न समेत समस्या हुने जनस्वास्थ्य अधिकृत सजिना महर्जनले बताइन् ।
जलजला गाउँपालिकाले यस वर्ष माइक्रोस्कोप खरिद गर्ने कार्यक्रम राखेको छ । जिल्लामा जलजला र मोदीमा खकार परीक्षणको सुविधा नहुँदा कम बिरामी देखिएको अनुमान छ तर लामो समयदेखि नै पैञ्यु र बिहादी गाउँपालिकामा बढी क्षयरोगी देखिएका छन् । यस वर्ष फागुनसम्म ५६ जना नयाँ क्षयरोगी भेटिएका छन् । गत वर्ष १०० बिरामी पहिचान भएकामा ८७ बिरामीलाई प्रत्यक्ष निगरानीमा राखेर उपचार गरेपछि निको भएको कार्यालयका क्षयकुष्ठ निरीक्षक जनार्दन गिरीले जानकारी दिए ।
Previous Articleन्याय माग्दै द्वन्द्वपीडित
Next Article क्रिकेटको फाइनल भीडन्त आज हुँदै