बागलुङ, ९ चैत– धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टीको चौथो दिन बिहीबार भएको खेलमा धौलागिरी क्रिकेट क्लबलाई पराजित गर्दै बुटवल युवा स्पोर्टस् क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुटवलले धौलागिरी क्रिकेट क्लबलाई ८८ रनले पराजित गरेको हो । टस जितेर पहिलो व्याटिङ गरेको बुटवलले १८ ओभरमा २ सय १९ रन बनाउँदै अलआउट भएको थियो । उसको लागि खेलका म्यान अफ दी म्याच घोषित भएका सुवम यादवले २३ बलमा ४९ रन र सिकन्दर यादवले ४० रनको योगदान दिएका थिए ।
धौलागिरीका रिम थापाले ३, सन्देश छन्त्याल र प्रतिक थापाले समान २–२ र सागर शर्मा, अविशेक सिंह र तेजेन्द्र घर्तिले समान १–१ विकेट लिएका थिए । २ सय २० रनको विशाल लक्ष्य पछ्याएर जवाफि व्याटिङ गरेको धौलागिरी क्रिकेट क्लबले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रनमा समेटिएको थियो । धौलागिरीका लागि राजु थापाले ३१ रन र प्रविन ढकालले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बुटवलको लागि इन्द्रदेव निशान र याम क्षेत्रीले समान २–२ विकेट लिएभने अमरदिप सिंह, गोलु यादव, अविशेक त्रिपाठी र सुवम यादवले ले समान १–१ विकेट लिएका थिए । यस्तै बिहिबारै हुने भनिएको बागलुङ नगरपालिका–५ मालिकाविरुद्ध शिवशक्ति भैरहवा बीचको खेलमा शिवशक्ति उपस्थित नभएपछि मालिका विजयी भएको आयोजकले जनाएको छ ।
यस्तै, बिहिबार भएको खेलमा छक्का प्रहार भएको बललाई खेल हेर्न गएका दर्शक रमेश बस्नेत र किसान खड्काले क्याच गरेपछि फ्रुटी र चाउचाउ प्राप्त गरेका थिए । प्रतियोगितामा शुक्रबार लेकसाइट क्रिकेट क्लब पोखरा विरुद्ध नेपाल विद्यार्थी संघ बागलुङ र रमक ११ स्याङजाविरुद्ध बुटवल युवा स्पोर्टस् क्लबबीच हुने फ्युचर स्पोर्टस् क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिए ।
बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्यटम्यान र वेष्ट बलरले जनहि ५–५ हजार प्राप्त गर्नेछन् ।