बागलुङ, ९ चैत– निसीखोला गाउँपालिका–२ अर्नाकोट देउरालीमा दुई दिने निशुल्क स्वास्थ्य परिक्षणका साथै दुखाइ तथा घाउ हेरचाह सम्बन्धी अभिमुखीकरण शिविर शुरु भएको छ । शिविरको उद्घाटन गर्दै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जिल्लाको विकट क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका बर्गहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने संस्थाप्रति धन्यवाद ज्ञापन दिए । कार्यक्रममा बोल्दै कर्म फ्लाइट्स फाउण्डेसन, पोखराका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले आफ्नो संस्थाले विदेशी दाताहरुसँग निरन्तर सम्पर्क र समन्वय गरी पश्चिम बागलुङका विकट क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको सहज पहुँचको लागि अभियान जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा अवसरमा कान्ति बाल अस्पताल काठमाडौका डा. मोहन विश्वकर्मा, औषधि व्यवसायी महासंघका महासचिव कृष्ण प्रसाद पाण्डे, निसीखोला गाउँपालिकाका सचिव बिराज विश्वकर्मा, देविस्थान स्वास्थ्यचौकीका इन्चार्ज मुक्तिनाथ लोहनी, कर्म फ्लाइट्स फाउण्डेसन पोखरासँग सम्बन्धित विदेशी स्वयमसेवकहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।
शिविरको पहिलो दिन ३ सयभन्दा धेरै स्थानीयको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । शिविरबाट निसीखोला गाउँपालिकाका अर्नाकोट, देउराली र ढोरपाटन नगरपालिकाका निन्नेचौर, चौर तथा खलबाङका स्थानीयहरु लाभाम्बित भएका छन् । त्यस्तै, फाउण्डेसनले निसीखोला गाउँपालिका वडा नम्बर २ का शैक्षिक संस्थाहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
Previous Articleचैत्राष्टमी टि–ट्वान्टीको चौथो दिन बुटवल स्पोर्टस् क्वाटरफाइनलमा
Next Article मधुमेह, लक्षण र रोकथाम