🖎 विनोद विवश
जालमा परिसकेको माछाले कुवा भेट्न सक्दैन
जसरी रातो रङले कहिल्यै बिधुवा भेट्न सक्दैन
यी नेताहरूले मेरो देशलाई अपाङ्ग बनाइदिए
लेखेर राख्नु ! यस्तो दौडले कछुवा भेट्न सक्दैन
कोशिश गरे भेटिन्छ, कसले सुनाइदिएको होला !
ऊ उजाड शिशिर हो, उसले पालुवा भेट्न सक्दैन
बूढा बाआमा खुसी बनाउँछु भन्दै बिदेशियो छोरो
मृत्युशैयामा छ बाउ, पानीको करुवा भेट्न सक्दैन
सामर्थ्य जोख्नु पर्छ आशा राख्ने हो भने कसै प्रति
घरको बिरालोले मुसा भेट्ने हो चितुवा भेट्न सक्दैन
जैमिनी ०१, बागलुङ