बागलुङ, ८ चैत– धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टीको चौथो दिन बुधबार रक ११ स्याङ्जा, बागलुङ क्रिकेट क्बल र धौलागिरी क्रिकेट क्लब विजयी भएका छन् । रक ११ स्याङ्जाले बागलुङ नगरपालिका ७ मुल्पानी खेलकुद विकास समितिलाई २८ रन, बागलुङ क्रिकेट क्लबले राईजिङ क्रिकेट क्लब (वि) पोखरालाई १ सय ९० रन र धौलागिरी क्रिकेट क्लब (ए)ले इस्लामिक एक्टिभ युथ पाल्पालाई २ सय ९ रनले पराजित गरेका थिए ।
बागलुङमा बजारको बाङ्गेचौर खेलमैदानमा जारी प्रतियोगितामा टस जितेर पहिले व्याटिङ गरेको रक ११ स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रनको योगफल तयार गरेको थियो । रक ११ स्याङजाको लागि ओपनर विपिन काफ्लेले २३ रन र ईश्वर गुरुङले २० रनको योगदान दिएका थिए । बानपा–७ मुल्पानी खेलकुद विकास समितिका सुरज सिंहले ३ र दिनेश हमाल र योगेश रावलले २–२ विकेट लिएका थिए । १ सय २९ रनको लक्ष्य पछ्याएको मुल्पानी १४ ओभरमा १०० रन बनाउँदा अलआउट भएको थियो । मुलपानीको लागि ओपनर पुश्कर कुँवरले ३१ रन र सुनिल सनीले २१ रन बनाएका थिए ।
रक ११ स्याङजाका अपर गैरेले ३, विरु तमुले २ र इश्वर गुरुङ, सुनिल गुरुङ, विश्व तजबउब र समिप मल्लले १–१ विकेट लिएका थिए । अर्को खेलमा टस जितेर पहिले व्याटिङ गरेको आयोजक बागलुङ क्रिकेट क्लब (ए)ले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३७ रन बनाएको थियो । विसिसिको लागि प्रकाश सिंहले अर्धशतक प्रहार गरेका थिए । उनले २४ बलमा ८ छक्का र ६ चौकाको मद्दतले नटआउट ७८ रन बनाएका थिए । यस्तै विसिसिको लागि पुरन सिंहले ४७ र विक्रम सोबले ३१ रनको योगदान गरेका थिए । राईजिङ क्रिकेट क्लब (वि)का किशोर छन्त्यालले ३ र आकाश बहादुर र माधव सुवेदीले समान १–१ विकेट लिएका थिए । २ सय ३८ रनको विशाल लक्ष्य पछ्याएर जवाफि व्याटिङ गरेको राईजिङ १० ओभरमा ४६ रन बनाउँदै अलआउट भएको थियो । राईजिङको लागि दिपेन्द्र लामिछानेले १५ रन र सतिश बरवालले १२ रन बनाउँनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । विसिसिको लागि विक्रम सोवले ४ विकेट लिए ।
यस्तै आजको अन्तिम खेलमा टस हारेर पहिलो व्याटिङ गरेको धौलागिरी क्रिकेट क्लब (ए)ले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । उसको लागि प्रतिक थापाले ४१ रन र प्रभाव पुनले ३८ रन बनाएका थिए । इस्लामिक एक्टिभ युथ पाल्पााका सिकेन्द्र यादवले ३, विरेन्द्र चौधारी, अशोक महतो र रविन्द्र महतोले समान १–१ विकेट लिएका थिए ।
२ सय ८० रनको लक्ष्य पछ्याएको इस्लामिक एक्टिभ युथ पाल्पा १३ ओभरमा ७८ रन बनाउँदै अलआउट भएको थियो । उसको लागि अर्भिन्द महतोले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । डिसिसिका सन्देश छन्त्यालले ४, सागर शर्माले ३, प्रतिक थापाले २ र रिम थापाले १ विकेट लिएका थिए ।
प्रतियोगितामा बिहीबार बागलुङ नगरपालिका–५ मालिका विरुद्ध शिवाशक्ति भैरहवा, धौलागिरी क्रिकेट क्लब (ए) विरुद्ध बुटवल युवा क्लब विच हुने फ्युचर स्पोर्टस् क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिए । बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्यटम्यान र वेष्ट बलरले जनहि ५–५ हजार प्राप्त गर्नेछन् ।