बागलुङ, ७ चैत– आईतबारदेखि सुरु भएको पाचौं धौलागिरी कप तथा चैत्राष्टमी टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिन पोखरा क्रिकेट क्लब र राइजिङ क्रिकेट क्लब पोखरा (ए) विजयी भएका छन् । मंगलबार भएको खेलमा पोखरा क्रिकेट क्लबले धौलागिरी बहिरा आवासिय माविसँगको खेलमा रनको वर्षा गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको थियो । उक्त खेलमा पोखरा २ सय ५८ रनले विजयी भएको छ ।
पोखराको लागि म्यानअफदी म्याच घोषित भएका विदान श्रेष्ठले ३७ बलमा ९१ रन र अनिल गुरुङले ३८ बलमा ८२ रनको आक्रमक पारी खेलेका थिए । बलिङ तर्फ धौलागिरी बहिरा आवासिय माविका बैदेनाथ चौधारीले ३ विकेट लिएभने निरञ्जन अधिकारी र धन बहादुर थापाले १ विकेट लिएका थिए । ३ सय १६ रनको विसाल योगफल पक्ष्याएर जवाफि व्याटिङ गरेको धौलागिरी बहिरा आवासिय मावि १० ओभर १ बलमा ५७ रन बनाउँदै अलआउट भएको थियो ।
यस्तै आजै भएको अर्को खेलमा राईजिङ क्रिकेट क्लब (ए) पोखराले धौलागिरी क्रिकेट क्लब (वि)लाई ७ विकेटले पराजित गरेको छ । ४५ रनको सामान्य लक्ष्य पक्ष्याएर जवाफि व्याटिङ गरेको राईजिङले ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । राईजिङो जितको लागि मनोज कोइरालाले १९ रनको योगदान दिएका थिए । बलिङ तर्फ धौलागिरीका भुवन शर्मा, अनिश खत्री र शिवराम मण्डलले १–१ विकेट लिएका थिए । टस जितेर पहिले व्याटिङ गरेको धौलागिरी क्रिकेट क्लब ११ ओभरमा ४४ रनमा समेटिएको थियो । धौलागिरीका ६ जना खेलाडीहरुले खातानै नखोली पवेलिएन फर्केका थिए ।