म्याग्दी, ७ चैत-भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट छिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन आफ्नै मिर्गौला समेत दिन पछि पर्दिनन् । यस्तै एउटा उदारहण बनेकी छिन् धौलागिरि गाउँपालिका–५ मल्कवाङ भेडिखाल्टाकी भुलमती बुढाथोकी । तीन छोरा र एक छोरीकी आमा उनले माइला छोरा धनबहादुरको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आफ्नो एउटा मिर्गौला दिएर उसलाई नयाँ जीवनसमेत दिइन ।
उनान्सत्तरी वर्षीया भुलमती मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पुगेर मिर्गौला प्रत्यारोपण गरेपछि पछि प्रसन्न छिन् । “छोराले मृत्युसँग संघर्ष गरिरहेका बेलामा श्रीमतीले शक्ति दिइन् । दुवै जनाको हेरचाह गरिरहेको छु” धनबहादुरका पिता लिलबहादुरले भने । रोजगारको सिलसिलामा साउदी अरबमा पुगेका धनबहादुरको स्वास्थ्य परीक्षणमा दुवै मिर्गौलामा खराबी देखिएपछि एक महिना साउदीमै उपचार गरी घर फर्किएका थिए । काठमाडौँका विभिन्न अस्पतालमा उपचारको क्रममा बुढाथोकीका लागि आमा, बुबा र दिदीले मिर्गौला दिन तयार भएपनि आमाको मिर्गौला मिल्ने भएपछि प्रक्रिया अगाडि बढेको थियो ।
आमाको मिर्गौलाले नयाँ जीवन पाएको बताउँदै धनबहादुरले आमाको महत्व थाहा पाएको बताए । “छोराछोरीका दुखःकष्ट सबै आमाबाटै सुल्झने रहेछ । उहाँले धेरै दुःख खेपेर मलाई दोस्रो जन्मदिनुभयो । आमा सर्वशक्तिमान हुनुहुन्छ” उनले भने । धनबहादुरको उपचारमा स्वदेश तथा विदेशमा रहेका मल्कवाङवासीको सक्रियतामा आर्थिक संकलन भएको थियो । करिब पाँच लाखभन्दा बढी सहयोग संकलन भएको आफन्तको भनाई छ । अझै नियमित औषधिका लागि रकम अपुग भएको धनबहादुर परिवारको गुनासो छ ।