बागलुङ, ५ चैत– तमानखोला गाउँपालिका–६ नर्जाखानीस्थित सामुदायिक स्वास्थ्य एकाइ औषधिविहीन अवस्थामा छ । स्वास्थ्य चौकी सरहको सुविधा हुनुपर्ने एकाइ औषधि अभावले प्रभावहीन बनेको छ । डेढ वर्षअघि खोलिएको एकाइ जम्मा १०÷१२ थरी औषधिको भरमा चलेको छ । रक्तचाप र तौल नाप्नेबाहेक अन्य स्वास्थ्य उपकरण एकाइले देख्न पाएको छैन । दुर्गममा स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकारले यस्ता एकाइ खोल्ने गरेको छ । एकाइले न्यूनतम पनि ७० थरीका औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । सामान्य रुघाखोकी, ज्वरोका बिरामीलाई मात्र सेवा दिने अवस्थामा एकाइ रहेको अहेब लक्ष्मी छन्त्यालले बताइन् । “औषधि, उपकरण नहुँदा भनेजस्तो सेवा दिन सकिएको छैन”, उनले भनिन् । सामान्य रोगका बिरामीलाई पनि अन्यत्र पठाउनुपर्ने अवस्था रहेको उनको भनाई छ ।
सडक नपुगेको नर्जाखानीका बासिन्दा वडा नं ५, खुङ्खानीमा रहेको स्वास्थ्य चौकी पुग्न दुई घण्टा पैदल हिँड्नुपर्छ । भौगोलिक विकटताले स्वास्थ्य चौकी टाढा भएका ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ खोल्ने गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले एकाइ स्थापना गरेपछि अनुगमन समेत गरेको छैन । कार्यालयले अघिल्लो चौमासिकपछि एकाइलाई औषधि उपलब्ध गराउन छोडेको छ । सरकारले स्थानीय स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेपछि उक्त जिम्मेवारी गाउँपालिकामा सरेको बताइन्छ । गाउँपालिकाले स्वास्थ्य चौकीको बजेटबाट केही रकम छुट्टाएर एकाइको लागि औषधि उपलब्ध गराएको छ । औषधि नै नहुने अवस्था आएपछि थोरै भएपनि औषधि उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बूढाले बताएस् । उनले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन र व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट नभएको उल्लेख गरे । एकाइमा औषधि खरिदका लागि बजेटसमेत व्यवस्था नगरिएको अध्यक्ष बूढाले बताए । अहेब र अनमी गरी दुई स्वास्थ्यकर्मी रहेको एकाइको भौतिक पूर्वाधार पनि कमजोर अवस्थामा छ । एकाइले गाउँको सामुदायिक भवनबाट जेनतेन सेवा दिँदै आएको छ ।
जनशक्ति भएर पनि औषधि, उपकरण नहुनु दुःखद् भएको वडासदस्य निर्मलादेवी सिरपालीले बताइन् । “हुँदै नहुनुभन्दा केही सुविधा त भएको छ, तर यतिले मात्र हुँदैन” उनले भनिन् “व्यवस्थित र सुविधायुक्त बनाएर चलाउनुपर्छ ।” एकाइ खुलेपछि गर्भवती जाँच गर्नेको संख्या भने बढेको जनाइएको छ । एकाइका स्वास्थ्यकर्मीले प्रसूतिका बेला घरमै गएरसमेत सेवा दिने गरेका छन् । एकाइमा अहेब छन्त्याल र अनमी रञ्जना घर्ती कार्यरत छन् । तमानखोला गाउँपालिकाकै वडा नं–२ बोङ्खानीमा पनि अघिल्लो महिनादेखि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट बञ्चित सर्वसाधारणलाई लक्षित गरी जिल्लाको हुग्दीशीर, दर्लिङ, निशी, पैंयूपाटा, जैदी, बोवाङको ढोरपाटन, ग्वालीचौर, खुङ्खानी र अमरभूमिको भुस्कातमा पहिलेदेखि नै एकाइ सञ्चालनमा छ ।
नर्जाखानी गाउँको सामुदायिक स्वास्थ्य एकाई औषधिविहीन
Previous Articleभैरवस्थानको विकासका लागि गुरुयोजना पुरा गर्न आर्थिक अभाव
Next Article बलेवा बिमानस्थलमा परिक्षण उडान सफल