म्याग्दी, ४ चैत– ४ नं प्रदेशको जीवनरेखा मानिएको बेनी–जोमसोम–कोरला सडक आयोजनामा बजेट अभावमा निर्माण कार्य प्रभावित भएको छ । चार वटा प्याकेजमा निर्माण भइरहेको सडक आयोजनामा गत असोज महिनादेखी बजेट निकासा नहुँदा बिना तलब सुविधामा काम गरिरहेका मजदुरले समेत काम छोड्न थालेपछि असर गरेको हो ।
उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्वको सडक आयोजनामा अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा विभिन्न जिल्लाबाट मजदुरीका लागि आएका फर्कन थालेपछि मजदुरको अभाव देखिन थालेको निर्माण कम्पनीले जनाएको छ । करिडोर अन्र्तरगत पहिलो प्याकेज बेनी–भुरुङ तातोपानीसम्म शर्मा यूनाइटेड जेभी, दोस्रो र तेस्रो प्याकेज शर्मा गजुरमुखी जेभी र चौथो प्याकेज अन्र्तरगत मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङबाट जोमसोमसम्म कोशी कन्ट्रक्सनले निर्माण सम्पन्न गरेको बिल समेत भुक्तानी नपाउँदा मजदुरले काम छोड्न थालेका छन् । राष्ट्रिय गौरवको आयोजनालाई आवश्यकता अनुसारको बजेट विनियोजन नहुँदा समस्या भएको शर्मा गजुरमुखीका प्रोजेक्ट इन्जिनियर सचित क्षत्रीले बताए ।
क्षेत्रीले आफ्नो कम्पनी अन्र्तगत रहेका दुईवटा प्याकेजमा आवश्यक पर्ने हेभी मेसिन लगाएतका उपकरण समेत नयाँ रहेकाले पनि कम्पनीको आन्तरिक आम्दानीबाट रनिङ विल भुक्तानी गर्न सम्भव नभएको बताउँदै आन्तरिक ब्यवस्थापनबाट ८ करोड आयोजना स्थलमा खर्च गरिएको बताए । शर्मा गजुरमुखीले करिव २४ प्रतिशत काम सम्पन्न गरेको छ । बेनी–जोमसोम–कोरला सडक अन्र्तगत १ सय ८६ किलोमिटरमा ११ मिटर फराकिलो दुई लेनको कालोपत्रे सडकका लागि भिर कटिङ, रिटेनिङ वाल, तारजाली सहित सडकलाई दिगो बनाउन आवश्यक इन्जिनियरिङ आवश्यकता अनुसार काम भइरहेको छ । आयोजना स्थलका मजदुरले भोकभोकै काम गरेको गुनासो समेत गरेको बाँकेको सुरेश चन्दले गुनासो गरे । निर्माण कम्पनीबाट पिटी ठेक्का लिएकाले आफ्ना मजदुरलाई ज्याला दिन नसकेपछि निर्माण कार्य नै रोकेर पैसाको खोजीमा निस्किएका छन् ।
आयोजना स्थलमा बजेट अभावका कारण देखिएको समस्या समाधानका लागि म्याग्दी र मुस्ताङका प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई समेत जानकारी गराइएको छ । यता आयोजना प्रमुख नगेन्द्र सुबेदीले बजेट अभावले निर्माण कार्यमा असर गरेको स्वीकार गरेका छन् । अघिल्लो सरकारले आयोजनाका लागि विनियोजन गरेको ५५ करोड बजेट सकिएपछि थप बजेटका लागि पहल भएपनि निर्वाचन र सरकार परिवर्तनले केही असर गरेको बताए । अर्थ मन्त्रालयबाट ३० करोड बजेट स्वीकृत भएकाले केही दिनभित्र आयोजनाले बजेट प्राप्त गर्ने आयोजना पक्षको भनाई छ । बेनी–घाँसा खण्डमा डीबिएसडी र घाँसादेखी जोमसोमसम्म असपाल्ट प्रविधिको कालोपत्रे गरिने छ । नालीसहित ११ मिटर चौडाई रहने सडकको ७ मिटर चौडाइमा कालोपत्र गरिने छ । भारत र चिनलाई जोड्ने सडकखण्ड अन्र्तगत उत्तरी म्याग्दीमा सडक आयोजनाका साथै जलविद्युत आयोजना, विद्युत प्रशारण लाईनको निर्माण कार्यले समेत तिब्रता पाएको छ । फराकिलो संगै कालोपत्रे सडकले म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्ने अपेक्षा पर्यटन ब्यवसायीले गरेका छन् ।
Previous Articleकाठेखोलामा शैक्षिक कार्यशाला गोष्ठी
Next Article कर्मचारीलाई कर्जा व्यवस्थापन तालिम