बागलुङ, २ चैत– सरकारी मापदण्ड पुरा गर्न नसक्दा जिल्लामा अहिलेसम्म एउटा पनि ईटा उद्योग दर्ता भएको छैन । तर दर्जन बढी उद्योग संचालनमा आईरहेका छन् । दर्ताका लागि कडा प्रावधान तोकिएका छन् । तोकिएको स्थान, लगानी, वातावरणीय प्रभाव मूल्यांकन समेतले प्रकृया नपुगेपछि बिना दर्ता चलेको भेटिएको हो । दर्ता नभएपछि उनीहरुले कर पनि छलिरहेका छन् । घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गरेर उद्योग संचालन गर्ने प्रावधान छ ।
त्यसरी दर्ता भएको उद्योगले कारोवारको आधारमा कर तिर्नुपर्छ । पटक–पटक उद्योग दर्ता गर्ने मिति दिएपनि यहाँ संचालित कुनैपनि उद्योगले दर्ता नगरेका हुन् । दर्ता नगरेपछि उनीहरुले उद्योगको नाम पनि राखेका छैनन् । राजमार्ग, सामुदायिक वन र मुख्य बजारदेखि तोकिएको दुरीमा खोल्नुपर्ने प्रावधान बिपरित ती उद्योग संचालनमा आएका हुन् । ‘भट्टीमा पोल्ने ईटा उद्योग दर्ता नहुने, भिएसबिके प्रविधिको मात्र दर्ता हुने प्रावधान छ’ घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक नारायण न्यौपानेले भने, ‘यहाँका कुनैपनि उद्योगमा प्रावधान पुग्दैन, त्यसैले उनीहरु दर्तामा नआएका हुन् ।’ उनीहरुलाई प्रकृया पु¥याउन भनेपनि अटेर गरेको न्यौपानेले बताए । केही बर्ष अघिदेखि जिल्ला प्रशासन, समिति र कर कार्यालयले भ्याटको दायरामा आउन पत्राचार गरेपनि उनीहरुले अटेर गरेका थिए । दुइ बर्षदेखि भने सरोकारवालाले यो बिषयमा वास्ता गर्न छाडेका छन् ।
बागलुङमा अहिलेसम्म आधुनिक र प्रदुषणरहित उत्पादन गर्ने अन्य इटा उद्योग संचालनमा छैनन् । उपल्लाचौर, कुँडुले र गौंडाकोट लगायतका स्थानमा अव्यवस्थित र गैरकानूनी रुपमा ईटा उद्योग संचालनमा छन् । उनीहरुले घरेलु प्रयोजनका लागि ईटा उत्पादन गरेको जवाफ दिने गरेका छन् । समितिका निर्देशक नारायण न्यौपानेले भने सरकारी प्रावधान अप्ठ्यारो भएकोले दर्तामा आउन नसकेको दाबी गर्छन् । ‘दर्जन प्रकृया पुरा गरेपछि पनि धेरै लगानी गर्नुपर्छ, त्यो प्रावधान पुरा गर्न नसक्दा धेरैले दर्ता नगरेका हुन्’ न्यौपानेले भने, ‘पहाडी र तराई क्षेत्रको मापदण्ड एउटै नभएमा धेरैलाई दर्तामा ल्याउन सकिन्छ ।’ चुरे, तराई र पहाडी जिल्लामा उद्योग संचालन गर्ने प्रावधान एउटै भएको उनले टिप्पणी गरे । अन्य घरेलु प्रकारका उद्योग नियमित दर्ता गरेर संचालन भैरहेको न्यौपानेले बताए । ईटा खपत हुने बजार क्षेत्र, नगरपालिका, सामुदायिक वनको आसपास र राजमार्ग छेउमा पनि उद्योग दर्ता गर्न नपाउने प्रावधान छ । व्यवसायीले पनि दक्ष कामदार नपाएर महंगो तलब दिने गरी भारतबाट झिकाउनुपर्ने, सरकारले दर्ता नगर्ने प्रकारको नियम ल्याउँदा पुँजी पलायन बढेको व्यवसायीहरु बताउँछन् । ‘ठाउँ सुहाउँदो नियम बनिदिएमा धेरैलाई करको दायरामा ल्याउन समेत सकिन्छ, त्यसबारे पहल हुन जरुरी छ’ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले भने, ‘अप्ठ्यारो नियमले सरकारलाई सहजै आउने कर राजश्वमा पनि नोक्सानी परेको छ ।’ नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधानले उद्योग संचालन गर्ने ठाउँनै नभेटिएको उनले बताए । उद्योग बाणिज्य संघले धेरै व्यवसाय र उद्योग संचालनका लागि पहल गरेपनि अप्ठ्यारो नियमले बाधा पुगेको भारीको भनाई छ ।
समितिले युवालाई रोजगारी बढाउन भूकम्प प्रतिरोधी घर बनाउने तालिमपनि दिएको छ । उक्त तालिममा पनि अधिकांसले ईटा बनाउन नपाएको गुनासो गरेको बताए । ढुंगामाटोका घर बनाउँदा प्रतिरोधी कसरी बनाउने भन्ने उपायसहित यो बर्ष जिल्लामा ४ सय युवालाई तालिम दिएको न्यौपानेले जानकारी दिए ।
बिना दर्ता ईटा उद्योग संचालन उद्योग दर्ता गर्ने मिति दिएपनि दर्ता हुन आएनन्
Previous Articleगाउँमा पानीको दुखःवर्षाैदेखि पालो कुरेर खानेपानीको जोहो
Next Article बागलुङमा मिनी म्याराथन प्रतियोगिता