बागलुङ, २ चैत – जिल्लामा संचालित रोट्रयाक्ट सप्ताहको चौथो दिन माध्यामिक बिद्यालय स्तरिय मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । बिश्व रोट्रयाक्ट सप्ताहको अवसरमा रोट्रयाक्ट अफ बागलुङद्वारा आयोजित बिश्व शान्तिको कामनासहित कालिका भगवती मन्दिर गेटदेखि लोकतान्त्रिक चोकसम्मको मिनि म्याराथुन प्रतियोगिता सम्पन्न गरिएको हो ।
कालिका भगवती मन्दिर प्रवेशद्वारबाट शुरु भएको दौड बाङ्गेचौर, ट्रापिकचोक, आवारोड, अस्पताल रोड, बालमन्दिर रोड, धौलागिरि चोकहुदै लोकतान्त्रिक चोकमा पुगेर समापन गरिएको कार्यक्रमका संयोजक सन्देश बोगटीले जानकारी दिए । बिभिन्न बिद्यालयका गरि ३१ जना बिद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा अमर आदर्श माविका शक्ति खत्री प्रथम, फ्युचर ब्राइटर बोडिङ स्कुलका बिशाल खड्का द्धितीय, अमर आदर्शका सुनिल जिसी तृतीय र अमर आदर्शकै सुनिल थापाले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले समृद्ध राष्ट्र निर्माणका लागि स्वास्थ्य नागरिक हुन अनिवार्य भएको बताए । उनले स्वास्थ्य नागरिकका लागि खेलकुद आवश्यक पर्ने भएकाले खेल क्षेत्रको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताए । कार्यक्रम क्लबका अध्यक्ष नविन पन्तको अध्यक्षता, सचिव शिव केसीको स्वागत र उपाध्यक्ष ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
उक्त प्रतियोगितामा बिजयी खेलाडिमध्ये प्रथम हुनेलाई ५ हजार, द्धितीयलाई ३ हजार, तृतियलाई १ हजार ५ सय र सान्त्वनालाई ५ सयसहित प्रमाण पत्र प्रदान गरिने क्लबले जनाएको छ । सप्ताहको पाँचौ चैत २ गते शुक्रबार ट्राफिक सचेतना कार्यक्रम, छैठौ दिन चैत ३ गते शनिबार खुल्ला लुडो प्रतियोगिता र सातौ दिन चैत ४ गते आइतबार छात्रबृत्ति बितरण, पुरस्कार बितरणसहित समापन समारोह हुने क्लबका सचिव शिव केसीले जानकारी दिए ।