राम थापा ‘अविरल’
बागलुङ, २ फागुन– तमानखोला गाउँपालिका–५ खुंखानीका बासिन्दा वर्षौंदखि खानेपानीको समस्या भोग्न बाध्य छन् । फागुनदेखि जेठसम्मको सुख्खा याममा सिँगो टोल एउटा धारामै भर पर्दै आएका छन् । खानेपानी लिन घण्टौँसम्म पालो पर्खनु पर्ने बाध्यता रहेको स्थानीय टीका परियारले बताइन । “हिउँदमा गाउँका अधिकांश धारा सुक्छन्” उनले भनिन्, “एक÷दुईवटा धारा चल्ने हुँदा खानेपानीको जोहो गर्नै गाह्रो छ ।” तीन सय घरधुरी रहेको खुंखानीमा एकमात्र मुनाखोला खानेपानी आयोजना चालु छ । हिउँदमा आयोजनाको मुहान सुक्ने हुँदा गाउँमा खानेपानीको अभाव हँुदै आएको हो ।
वर्षायाममा भने खानेपानीको समस्या हट्ने वडा सदस्य समेत रहेकी परियारको भनाई छ । स्थानीय मायाकुमारी पुनले भनिन्– “बिहानै धारामा लाम लाग्छ, बेलामा पालो नपाउँदा गृहिणीले खानेपानी समस्याबाट बढी दुःख झेल्नुपरेको छ ।” कतिपयले आफू नभए पनि धारामा गाग्रीको पालो लाउने गरेका छन् । एक घर, एक धारा हुनुपर्नेमा खुंखानीबासीको अवस्था भने ठीक उल्टो छ । वडाध्यक्ष हीराबहादुर विकले नयाँ आयोजना नबनेसम्म समस्या रहिरहने बताए । उनका अनुसार, आयोजना बनाउन मुहानको खाँचो भने छैन । हिउँदमा पनि नियमित चल्ने मुहानबाट नयाँ आयोजना बनाउन सकिने छ । यसअघि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले कुनाखोरे मुहानबाट आयोजनाको सर्भेक्षण गरेपनि काम अघि बढ्न सकेको छैन ।
आयोजना बनाउने कुरा आश्वासनमा सीमित भएको वडाध्यक्ष विकको भनाई छ । स्थानीय सरकारका रुपमा गाउँपालिका बनेपछि खानेपानी समस्याबाट मुक्ति पाउने आशामा गाउँले छन् । गाउँपालिकाले यो वर्ष खानेपानी आयोजना मर्मतका लागि थोरै बजेटमात्र छुट्याएको छ । आउँदो वर्ष बजेट व्यवस्था गर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।