बागलुङ, २ चैत– जिल्लामा यस बर्षको एसईई परीक्षामा ५ हजार ५ सय ३२ परीक्षार्थी सहभागी हुने भएका छन् । आगामी चैत ७ गतेदेखि सुरु हुने यस बर्षको एसईई परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुले ३१ परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । यसबर्ष जिल्लाभरका सबै एक्जाम्टेड परीक्षार्थीका लागि बागलुङ सदरमुकाम स्थित बिद्यामन्दिर माविमा परीक्षा दिने ब्यबस्था गरिएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । परीक्षा एकै समयमा हुने भएपनि एक्जाम्टेडको संख्या थोरै भएका कारण एकै स्थानबाट परीक्षा गराउने निर्णय भएको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए ।
जिशिअ पौडेलले दिएको जानकारी अनुसार, जिल्लाको अर्गल मावि अर्गल, अमर मावि बिहुँ, धारा मावि तंग्राम, भिमसेन मावि बिहुँ, सुन्तलाचौर मावि दमेक, शान्ति मावि कुस्मिसेरा, जनकल्याण मावि भिमापोखरा, तित्याङ मावि तित्याङ, शारदा मावि बाटाकाचौर, सर्वोदय मावि बरेङ, जनता मावि राङखानी, जनता मावि सर्कुवा, संस्कृत मावि बेलबगर, त्रिभुवन मावि पैँयुपाटा, जनताधन मावि नारायणस्थान, धवलागिरी वीरेन्द्रमावि रातामाटा, फ्युचर आवासीय मावि बागलुङ बजार, बिद्यामन्दिर मावि बागलुङ बजार, कालिका कन्या मावि बागलुङ बजार रहेका छन् । यसैगरी, बुर्तिवाङस्थित उत्तरगंगा मावि, रिभरहेड बोर्डिङ र जनता आवासीय बोर्डिङ स्कुलमा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, निसीखोला गाउँपालिकाको प्रभा मावि बोहोरागाउँ, तमानखोला गाउँपालिकाको जनजागृति मावि बोङगादोभान, बडीगाड गाउँपालिकाको भिमगिठे मावि भिमगिठे, भानु मावि ग्वालिचौर, त्रिभुवन मावि खर्वाङ, रमुवा मावि रनसिंहकिटेनी, गल्कोट नगरपालीकाको शिव मावि कांडेवास, पृथ्वी मावि हरिचौर, गल्कोट मावि हटिया, महेन्द्र मावि नरेठाँटी रहेका छन् ।
एसईई परीक्षा केन्द्रलाई मर्यादित र ब्यबस्थित बनाउनका निम्ती आबश्यक सबै तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बानपाबाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको र प्रश्नपत्र भने चैत १ गतेपछि मात्र सुरक्षाकर्मीको निगरानीमा रहने गरी उपलब्ध गराईने निर्णय भएको जिशिअ पौडेलले बताए । प्रत्येक परीक्षा केन्द्रमा ३ सय परीक्षार्थी सम्म १ जना केन्द्राध्यक्ष र सो संख्याभन्दा बढी परीक्षार्थी भएमा २ जनासम्म केन्द्राध्यक्ष रहन, प्रत्यक केन्द्रमा १५ जनाका दरले जिल्लाभर ४ सय ६५ सुरक्षाकर्मी, २० देखि २५ जना परीक्षार्थी बराबर एक निरीक्षक सहित अन्य कर्मचारी छन् ।