बागलुङ, १ चैत– अभिभावक गुमाएका तथा आर्थिक रुपमा बिपन्न भएका बालबालिकालाई शान्ति नेपाली संस्था बेलायत र शान्ति नेपाली संस्था नेपालले छात्रवृत्ति दिएको छ । जिल्ला शिक्षा कार्यालयको समन्वयमा संस्थाले ढोरपाटन जनवादी आधारभूत विद्यालयमा अध्ययनरत २ जना र गलकोट स्थित धुस्तुन प्राविका २ जना बालबालिका लाई उक्त छात्रवृत्ति सहयोग गरेको हो । बालबालिका लाई विद्यालय पोशाक, कापी कलम र झोला तथा नगद रकम समेत प्रदान गरिएको हो ।
जिल्ला शिक्षा अधिकारी गुरुदत्त पौडेल, संस्थाका कोषाध्यक्ष ओम रिजाल र शाखा अधिकृत सरिता शर्माले सहयोग हस्तान्तरण गरेका थिए । ढोरपाटन जनवादीमा पढ्ने रैमला विक र सुनु सुनारलाई तथा धुस्तुनमा पढ्ने टिकाराम भण्डारी र खिमबहादुर भण्डारीलाई सहयोग गरिएको हो । बिकका आमाबाबु र हजुरबुवा समेत नभएकोले छिमेकीको आश्रयमा बसेर पढेकी छिन् भने सुनार बहिरा हुन् ।
त्यस्तै भण्डारीका बाबुको निधन भैसकेको र आमा मिनाले ज्याला मजदुरी गरेर बालबालिका पढाइरहेकोले उक्त सहयोग गरिएको संस्थाकी निर्देशक कमला उप्रेतीले बताईन् । संस्थाका कोषाध्यक्ष ओम रिजालको अध्यक्षता, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका लालबहादुर पुर्जाको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गुरुदत्त पौडेलले सानो सहयोगबाट बालबालिकाको शैक्षिक भविष्यले सहीबाटो लिन सक्ने बताए ।
उनले सहयोगी संस्थालाई धन्यवाद पनि दिए । कार्यक्रममा बेलायतमा बस्ने नेपालीले उठाएको रकमबाट बिपन्न, प्राकृतिक लगायतका जोखिममा परेका बालबालिकालाई सहयोग गर्ने योजना अनुसार रकम पठाएपछि सहयोग गरिएको उप्रेतीले बताईन् । संस्थाले बागलुङका ५ जना, पर्वतका एक र म्याग्दीका १ गरी ७ जनालाई दशदश हजार रुपैयाँको दरले सहयोग गरिएको पनि प्रष्ट पारिन् ।
Previous Articleरोट्रयाक्ट सप्ताहको तेस्रो दिन बुधवार बिपन्नलाई खाद्यान्न सहयोग
Next Article धौलागिरीमा पहिलो पटक स्याउको अध्ययन सुरु