बागलुङ, १ चैत– मुस्ताङ, म्याग्दी र बागलुङमा उत्पादन हुने स्याउको लगत संकलन र राष्ट्रिय आयमा परेको प्रभावबारे अध्ययन गर्ने काम सुरु भएको छ । नेपालको राष्ट्रिय आयमा ‘स्याउ’ को हिस्सा पत्ता लगाउन पहिलोपटक अध्ययन सुुरु गरिएको केन्दीय तथ्याङ बिभागले जनाएको छ । उच्च पहाडी र हिमाली जिल्लामा स्थायी बालीको रुपमा खेती गरिदै आएको स्याउको राष्ट्रिय आयमा हिस्सेदारीको विषयमा केन्द्रीय तथ्यांक विभागले पहिलो अध्ययन सुरु गरेको विभागका कार्यवाहक महानिर्देशक नविनलाल श्रेष्ठले बताए । थुप्रै जिल्लाहरुमा स्याउको व्यवसायिक खेती हुने गरेको र ठूलो परिमाणमा स्याउको उत्पादन हुने गरेपनि त्यसले नेपालको राष्ट्रिय आयमा पारेको प्रभावका बारेमा अहिलेसम्म अध्ययन भएको थिएन ।
राष्ट्रिय स्तरबाट अध्ययन तथा सर्वेक्षण हुन नसक्दा स्थानीय तथा जिल्ला स्तरबाट अनुमान तथा सामान्य सर्वेक्षणका भरमा स्याउ खेतीका बारेमा कार्यक्रम तथा बजेट बनाउनुपर्ने अवस्था रहेको बेला केन्द्रीय तथ्यांक विभागले अध्ययन सुरु गरेको जनाएको छ । केन्द्रीय तथ्यांक विभागले ३३ वटा तथ्यांक कार्यालयमार्फत ७७ वटा जिल्लामा अध्ययन सुरु गरेको केन्द्रीय कार्यवाहक महानिर्देशक श्रेष्ठले बताए । ‘हामीले सबै कार्यालयमार्फत सर्वेक्षण सुरु गरेका छौं, यो सर्वेक्षणको प्रतिवेदन तयार भएपछि स्याउको बारेमा धेरै जानकारी प्राप्त हुन्छ ।’ महानिर्देशक श्रेष्ठले भने । स्थानीय किसानकै घरमा पुगेर स्याउका जात, सम्भावना, चुनौती, उत्पादन क्षमता, उत्पादन लागत र बजार मूल्यका विषयमा लगत संकलन गरिने छ ।’ लगत संकलन गर्ने कामका लागि पायक पर्ने जिल्लाका तथ्याङ्क कार्यालयहरुलाई जिम्ममा दिईएको श्रेष्ठले बताए ।
स्याउका बारेमा स्पष्ट तथ्यांक नहुँदा राष्ट्रिय स्तरबाट गरिने स्याउ खेती प्रवद्र्धन लगायतका योजना बनाउन असहज भएकाले आगामी आर्थिक वर्षको सुरुवातकै चरणमा प्रतिवेदन तयार गर्नेगरी कामलाई अगाडि बढाइएको उनको भनाई छ । ‘स्याउको उत्पादन लागत, खरिदका लागि ढुवानी लागत र बजार मूल्यका विषयमा धेरै अन्यौल हुने भएकालेपनि तथ्यांक संकलनपछिको प्रतिवेदनले धेरैकुराको जानकारी गराउँछ’ श्रेष्ठ भन्छन् ‘यसबाट स्याउ खेती प्रवद्र्धनका लागि योजनाहरु तयार पार्न सहज हुन्छ ।’ तथ्यांक विभागले गरेको सर्वेक्षण तथा अध्ययनले वर्षौदेखि स्याउ खेती गरिरहेकाहरुलाई पनि सहज हुने तथ्यांक कार्यालय बागलुङका प्रमुख मुकुन्दप्रसाद शर्माले बताए ।
स्याउको पकेट क्षेत्र मानिने मुस्ताङको अध्ययन गरेर फर्केका प्रमुख शर्माले स्थानीय किसानलाई नै स्याउको मूल्य, स्याउको जातका बारेमा राम्रो ज्ञान नभएकाले अध्ययनले स्याउको राष्ट्रिय स्थिति पत्ता लगाउने बताए । ‘हामीकहाँ धेरै किसानहरु स्याउ खेतीका बारेमा जानकारी लिन आउँछन्’ शर्माले भने ‘विस्तृत अध्ययन नभएकाले सबै कुरा जानकारी गराउँन सक्ने अवस्थामा थिएनौं ।’ तथ्यांक कार्यालय बागलुङको कार्यक्षेत्र भित्रको उच्च पहाडी तथा हिमाली भेगमा बढी मात्रामा स्याउको खेती गरिने भएकाले तथ्यांक कार्यालयले योजनाबद्ध रुपमा सर्वेक्षण सुरु गरेको शर्माले बताए । मुस्ताङको अधिकांश भेग, म्याग्दीको उच्च पहाडी भेग, बागलुङको ढोरपाटन क्षेत्रमा स्याउको खेती हुँदै आएको छ ।
Previous Articleबालबालिकालाई शान्ति नेपाली संस्थाको सहयोग
Next Article १ चैत २०७४, ढोरपाटन दैनिक