बागलुङ, ३० फागुन– जिल्लामा जारी रोट्रयाक्ट सप्ताहको दोस्रो दिन मंगलबार बागलुङ बजार सरसफाई गरिएको छ । बिश्व रोट्रयाक्ट सप्ताहको अवसरमा रोट्रयाक्ट अफ बागलुङले सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन बजार सरसफाई गरिएको हो ।
बजार सरसफाई कार्यक्रमको अर्जुन बाण गणका सेनानी अजय रानाले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कृष्णबहादुर कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कुलबहादुर हरिजन, रोटरी क्लबका सचिव ओमप्रकाश पौडेल र रोट्रयाक्ट क्लवका अध्यक्ष नविन पन्तलाई कुचो दिएर उद्घाटन गरेका थिए । लोकतान्त्रिक चोकबाट शुरु भएको सरसफाई कार्यक्रम हल्लनचोक, समिटचोक, ट्राफिक चोक, आवारोड, अस्पतालरोड, क्याम्पसचोक, धौलागिरि चोक हुदै पुनः लोकतान्त्रिक चोकमा आएर समापन गरिएको कार्यक्रमका संयोजक साधना पन्तले जानकारी दिइन् । ‘हामी सबैको अभियान, स्वच्छ, सफा र सुन्दर बजार बागलुङबासीको सान’ भन्ने नाराका साथ संचालन गरिएको कार्यक्रममा अर्जुन वाण गणका नेपाली सेना, जिल्ला प्रहरी कार्यालयका प्रहरी, ट्राफिक प्रहरी कार्यालयका प्रहरी, रोटरी र रोट्रयाक्टका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम क्लबका अध्यक्ष नविन पन्तको अध्यक्षता, सचिव शिव केसीको स्वागत र उपाध्यक्ष तथा सरसफाई कार्यक्रममा सदस्य ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । सप्ताहको तेस्रो दिन ३० गते बुधबार मालढुङ्गामा रहेका गरिव तथा अशक्त परिवारलाई खाद्यान्न एवँ लत्ताकपडा बितरण, चौथो दिन चैत १ गते बिहिबार म्याराथुन दौड, चैत २ गते शुक्रबार ट्राफिक सचेतना कार्यक्रम, चैत ३ गते शनिबार खुल्ला लुडो प्रतियोगिता र चैत ४ गते आइतबार छात्रबृत्ति बितरण, पुरस्कार बितरण सहित समापन हुने क्लवका सचिव शिव केसीले जानकारी दिए ।