फोटोः जिल्लाको जैमिनी नगरपालिका ९ पैञ्युथन्थापका मगर समुदाय नौमती बजा बजाउँदै ।
बागलुङ, ३० फागुन– रोजगारी खोज्दै बिदेश भौंतारिने युवाका लागि अमरभूमिका युवा प्रेरणाका श्रोत बनेका छन् । उनीहरुले गाउँमै पञ्चेबाजा बजाएर कमाई गर्न थालेका हुन् । गीत संगीतको रुचीमा लागेका स्थनीय दलबहदुर रोका र उनका साथीहरुले अहिले पञ्चेबाजाको व्वसाय गर्न थालेका हुन् । बिदेसिन खोजेका युवाहरुको १५ सदस्यीय टीम बनाएर रोकाका साथीहरुले पञ्चेबाजा बनाउन सिकेका छन् । यो शिपले उनीहरुलाई गाउँमै रोजगारी दिएको छ । उनका साथीहरु पनि अहिले बाजा बजाउने पेशामै खुसी छन् ।
दमाई जातीमा मात्र बाजा बजाउने चलन रहेकोमा मगर समुदायका युवाले यो पेशा थालेका हुन् । ‘शिव लेकाली मगर पञ्चेबाजा समूह’ गठन गरेर उनीहरुले गाउँ र आसपासका क्षेत्रमा पनि बाजा बजाउन जाने गरेका छन् । यो पेशाले सोचेजस्तै आम्दानी भएको पनि उनीहरुले बताए । बाजा बजाउने कामलाई निरन्तरता दिएपछि मनग्ये आम्दानी समेत बढाउन पाएको बताए । यो अभियानपछि अधिकांस युवा बिदेश मोह त्यागेर बाजा सिक्न पनि थालेका छन् । पञ्चेबाजा बजाउने अभियान थालेपछि दैनिकजसो काम पाउने तथा मनग्ये आम्दानी समेत गर्न सफल भएको रोकाले बताए ।
गाउँघरमा हुने विवाह, व्रतबन्ध, मेला महोत्सव तथा छिमेकी गाविस र छिमेकी जिल्लादेखि समेत उनीहरुलाइ निम्तो आउन थालेको हो । ‘शुरु शुरुमा साथीहरुले पनि अप्ठ्यारो मानेका थिए, मलाई पनि टिक्न सकिंदैन की भन्ने लागेको थियो’ रोकाले भने, ‘अहिले युवालाई बिदेश मोह बिर्साएको छ ।’ एउटा कार्यक्रम वा बिबाहमा गएर बाजा बजाउँदा उनीहरुले १२ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ पाउँछन् । पाएको रकमबाट १० प्रतिशत गाउँ विकास कोषमा जम्मा गरेर बाँकी रकम युवाहरुले बाँड्ने गरेको उनले बताए । टाढाको काममा जानुपरेमा यातायात खर्च, खाना खर्च समेत आयोजकले तिर्ने गरेपछि उनीहरुले पारिश्रमिक पुरै बचाउन सकेको बताए । सामान्यतया बाजा बजाउने टोलीको दैनिक १७ हजारदेखि २० हजारसम्म दररेट चलेको छ ।
उक्त रेटमा गाउँ तहमा भएमा छुट दिने गरेपछि युवाहरुलाइ भ्याइनभ्याइ भएको हो । गाउँमा रोजगार नपाएर बसेका युवालाई समावेश गरेर स्थानीय मनबहादुर पुन, काजीमान घर्ती सहित रोकाले एउटा टिम बनाई तालिम संचालन गरेका थिए । एक दुइ महिनाको तालिमपछि राम्रो बाजा बनाउन जानेका युवाले बिदेश मोह विर्सेको बताए । ‘यो कामले हामीलाई बिदेश जाने चाहना बिर्साएको छ, परिवारसँगै बस्न पनि पाइएको छ’ घर्तीले भने, ‘बचेको समयमा खेतीपातीको काम पनि गरेका छौं ।’ गाउँमा युवाहरुले ताजा तरकारी, आलु लगायत खेतीपनि गरिरहेका हुन् । गाउँका विद्यालय, सामुदायिक संस्थाहरुको निर्माणमा पनि युवाहरुले सहयोग गर्न थालेका छन् । बाजा बजाएको पारिश्रमिकको १० प्रतिशत जम्मा गर्दा पनि भवन निर्माण, विभिन्न प्रकारका जनचेतना मूलक अभियान संचालनमा सहयोग पुगेको उनले बताए । ‘बालबालिकालाई भर्ना अभियान, स्वास्थ्य संस्थामा उपचारका लागि जान महिलाहरुलाई आग्रह गर्ने काम पनि गरेका छौं’ उनले भने, ‘आजकल जनजाती युवाको काम भनेर चितवन, पोखरा लगायतबाट पनि निम्तो आएको छ ।’ टाढाको काममा जानुपर्दा उनीहरुले गाउँघरको तुलनामा दोब्बर खर्च पाउने गरेका छन् । युवाहरुले केही युवा विरामी पर्दा, काम विशेषले बाहिर जानुपर्दा पनि जगेडा कलाकारको व्यवस्था गरेका हुन् ।
एटपटकमा १० जना युवाले काम पाउँछन् । २ वटा नरसिंगा, २ सनाइ, २ कर्नाल, २ दमाहा, १ झ्याली र १ ट्याम्को बजाउने व्यवस्था छ । उनीहरुले विवाह सम्बन्धी ताल, झ्याउरे, लोकगीत लगायतका अधिकांस गीतमा बाजा बजाउने गरेका छन् । मगर समुदायमा संचालन हुने विभिन्न संस्कृतिसँगै गुरुङको घाँटु जस्ता पर्वमा बजाउने बाजा पनि उनीहरुले जानिसकेको बताए । उनीहरुले एकरुपता देखाउन ड्रेसको व्यवस्था गरेका छन् ।