तारानाथ आचार्य
बागलुङ, २९ फागुन– सर्वसाधारणलाई आवतजावतमा असहज भएको भन्दै बानपाको एक वडाले गोरेटो बाटो मर्मतको काम थालेको छ । बागलुङ नगरपालिका–९ तित्याङले सर्वसाधारणको मर्कालाई मध्यनजर गर्दै गोरेटो बाटो मर्मतको काम थालेको हो । मोटरबाटो निर्माणका क्रममा भताभुङ्ग अवस्थामा रहेका गोरेटो बाटोका कारण स्थानियलाई सास्ती भएको भन्दै गोरेटो बाटो मर्मतको कामलाई बजेट बिनियोजन गरेर प्रक्रिया अगाडि बढाएको वडा अध्यक्ष गणेश थापाले बताए ।
वडाभरका ४ वटा लामो दुरीका गोरेटो मर्मतका लागि यसबर्ष वडा कार्यालयले ३ लाख ५० हजार रुपैयाँ बिनियोजन भएको र उपभोक्ता समिती निर्माण गरी कामको प्रक्रिया सुरु गर्ने चरणमा रहेको थापाले जानकारी दिए । ‘मर्दा मलामीदेखी जिउँदाको जन्तीसम्म हिँड्नको लागि गोरेटो प्रयोग हुन्छ’ थापाले भने ‘खेतबारीमा जानको लागि समेत सर्वसाधारणले कष्ट काटेकाले बाटो मर्मत गर्न लागेका हौं ।’ पछिल्लो समय मोटरबाटो निर्माणका लागि सबैको ध्यान जाने गरेकाले स्थानियले धेरै प्रयोग गर्ने गोरेटो बाटो ओझेलमा परेको थापाले बताए । ‘गाउँघरमा सबै कामको लागि मोटरबाटो उपयुक्त हुने कुरा भएन’ उनले भने ‘एक टोलबाट अर्को टोलमा जानको लागि समेत गोरेटोको प्रयोग गरिन्छ ।’ मोटरबाटो निर्माण तथा बर्षात्को समयमा बाढी र पहिरोका कारण क्षतबिक्षेत बनेका गोरेटोहरु मर्मतको काम थालिएको हो । बाटोमा रहको माटो, ढुंगा पन्छाउनेदेखी भत्केका ठाउँमा पुनः निर्माणको काम गरिने वडा कार्यालयले जनाएको छ । वडा कार्यालयका अनुसार, २०५४ साल यता वडाका कुनैपनि गोरेटो बाटोको मर्मत भएको छैन् ।
चार्डपर्वको समयमा स्थानिय महिला समुह तथा केही स्वयमसेवी संस्थाले सरसफाई गर्नेबाहेक मर्मतको काम नभएको वडा अध्यक्ष थापाले बताए । यसबर्ष समान्य मर्मतको कामका लागि बजेट बिनियोजन गरेको वडाले आगामी बर्षको बजेटमा वडाका सबै गोरेटो बाटोमा सहज आवतजावत हुने गरी स्तरोन्नती गर्ने योजना समेत बनाएको छ । ‘गाउँघरमा मोटरबाटो भन्दा धेरै गोरेटो बाटोको प्रयोग हुने गरेको छ’ वडा अध्यक्ष थापाले भने ‘स्थानिय सरकारको काम भनेको सर्वसाधारणलाई सुबिधा दिनु हो, सोही अनुसार हामीले प्राथमिकतामा राखेर गोरेटो मर्मत थालेका हौं ।’ वडा कार्यालयले गोरेटोको मर्मत गरेपछि जन्ती, मलामी तथा खेतीपातीका लागि आवतजावतमा सहज हुने स्थानिय बताउँछन् । वडाका मोटरबाटो पक्की बनाउने अभियानमा लागेको वडा कार्यालयले गोरेटो बाटो मर्मतको काम महत्वपुर्ण भएको भन्दै प्राथमिकतामा राखेको छ ।
मोटरबाटो पक्की हुँदा समेत गोरेटोको महत्व उत्तिकै रहने भन्दै गोरेटोको मर्मतमा लागेको थापाले बताए । ‘पहिले–पहिले हुलाकी बाटो र गोरेटो बाटोको नाममा जिल्लाबाट समेत बजेटको व्यवस्था गरेर काम हुन्थे’ थापले भने ‘मोटरबाटो निर्माणको रटानले गोरेटो बाटोहरु ओझेलमा परेका छन् ।’ गोरेटो बनाउँदा मोटरबाटोलाई सहयोग हुने तर मोटरबाटो बनाउँदा गोरेटोका संरचना बिग्रिने भएकाले त्यसतर्फ ध्यान दिन उपभोक्ता समितीलाई थापाको सुझाव छ । मोटरबाटो निर्माणका क्रममा जथाभावी गर्दा गोरेटो बाटो संकटमा परेको र स्थानियलाई सास्ती हुने गरेको उनले बताए ।
Previous Articleजीप व्यवसायीको साधारणसभा शुरु
Next Article २०७४ फागुन २९ गते मंगलबारको राशिफल