म्याग्दी , २९ फागुन– जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई÷चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो । माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन व्यवसायबाट खड्काको जीवनमा अहिले परिवर्तन आएको छ । उनले अहिले बाख्रा बेचेरै वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्छिन् । “साहुले ऋण नपत्याएर माइतीबाट पाठापाठी ल्याएर बाख्रा पाल्न थालेकी थिए” खड्काले भनिन्े “एक वर्षयता २३ वटा बाख्रा र १५ वटा खसीबोका बेचे । घर व्यवहार र छोराछोरीको पढाई खर्च धानिएको छ ।” राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि आठ वर्षसम्म इराक, साउदी, मलेसियामा भौतारिएका खड्काका श्रीमान् गणेश पनि घर फर्किएर बाख्रापालनमै लागेका छन् ।
बाख्रापालनबाट स्वरोजगार बनेका खड्का दम्पतीले तीन वर्षअघि दर्ता गरेको ‘खड्का बाख्रा’ फार्ममा हाल खरी र जमुनापारी जातका ६० वटा बाख्रा छन् । घार, पोखरेबगर, भुरुङ तातोपानीमा खसीबोका तथा गाउँमै बाख्रापालन गर्नेले पाठापाठी खरिद गरेर लैजाने गरेका छन् । “खसीबोका र बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, ग्राहक घरमै आउँछन्” गणेशले भने “सुख र आम्दानी दुवै हिसाबले बाख्रापालनबाट विदेशमा भन्दा राम्रो भएको छ ।” बाख्रापालनबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन र घरव्यवहार चलाउन सजिलो तथा दुई, चार हजार आवश्यक पर्दा महँगोमा ऋण खोज्नुपर्ने अवस्थाको अन्त्य भएकोमा खड्काले खुशी व्यक्त गरे । गरिबी निवारण कोषको सहयोगमा गाउँमा गठन भएको जलेश्वर सामुदायिक संस्थाबाट हालै रु ४० हजार ऋण लिएर तीन माउ बाख्रा थपेको खड्काले बताए । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका गमबहादुर गर्बुजाले पनि विदेश जाने योजना त्यागेर बाख्रापालन शुरु गरेका छन् । दुई वर्षअघि चार पाठा ल्याएर शुरु गरेको गर्बुजाको फार्ममा अहिले ४६ वटा बाख्रा छन् ।
स्थानीय दोसल्ले प्रगतिशील सामुदायिक संस्थाबाट सहुलियत ब्याजदरमा लिएको रु ३४ हजार र व्यक्तिगत रु एक लाख १० हजार लगेर २२ वटा बाख्रा खरिद गर्नुका साथै खोर निर्माण गरेको गर्बुजाले बताए । खड्का र गर्बुजाजस्तै म्याग्दीको ग्रामीण क्षेत्रमा गरिब विपन्न समुदाय बाख्रापालनबाट आत्मनिर्भर र स्वरोजगार बनेका छन् । गरिबी निवारण कोषको सहयोगमा सामुदायिक संस्थामा स्थापित घुम्ती कोषबाट सहुलियत ब्याजदरमा बिना धितो उपलब्ध गराइने ऋण बाख्रा, कुखुरापालन, घरेलु उद्यम गर्नेका लागि सहयोगी बनेको छ । म्याग्दीका १० वटा वडामा सञ्चालित गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत ८१ वटा सामुदायिक संस्थाले ८२२ घरधुरी विपन्नलाई तीन करोड ३७ लाख ४२ हजार ५४६ दिएका छन् ।
Previous Articleन्यायाधीशबाटै प्रधानन्यायाधीश पराजुली पदमुक्त !
Next Article चैत्र २५ बाट यस बर्षको राष्ट्रपति रनिङ शिल्ड हुने