पर्वत, २८ फागुन– विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो । दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नआउँदा यस क्षेत्रका उद्योग, कलकारखाना, व्यापार–व्यवसाय र सञ्चार माध्यम चौपट बनेका हुन् । यस क्षेत्रमा सञ्चालित दुग्धजन्य उद्योग, चाउमिन, दालमोठलगायत एक दर्जनभन्दा बढी उद्योग समस्यामा परेका छन् । त्यस्तै झण्डै दुई दर्जनभन्दा बढी सञ्चार माध्यम प्रभावित भएका छन् ।
दैनिक दश घण्टाभन्दा बढी विद्युत् जाने भएकाले एफएम रेडियो र केबुल टेलिभिजन दिनभर बन्द गर्ने गरिएको छ । ‘लाइन बेलुका ५ बजे आउने भने पनि ७ बजेसम्म आउँदैन, त्यतिबेलासम्म ब्याट्री र जेनेरेटरले पनि धान्दैन’ त्यसैले बन्द गरेर बस्नुको विकल्प नभएको रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले बताए । नेपाल विद्युत् प्राधिकरणले मोदी–पोखरा १३२ केभी प्रसारण लाइनअन्तर्गत टावर नं ३५ बदली गर्न नयाँ टावर फेर्नका लागि फागुन २३ गतेदेखि लगातार विद्युत् सेवा बन्द गरेको हो । सन् २००० मा मोदीखोला जलविद्युत् केन्द्र निर्माण गर्ने बेलामा बनाइएको उक्त टावर जीर्ण भएकाले अहिले परिवर्तन गर्नु परेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण शाखाका प्रमुख विजयराज रेग्मीले बताए ।
उनले भने, “शनिबार साँझदेखि नियमित विद्युत् दिने तयारी भएपनि वर्षाका कारण काम गर्न नसकेकाले लम्बिएको हो ।” यो सँगै गर्मीयाम लागेपछि यस क्षेत्रमा विद्युत् अनियमित हुने गरेको छ । खोलामा पानीको बहाबसमेत कम हुँदा उत्पादन घटेको छभने हावाहुरीका कारण पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको छ ।
Previous Article२०७४ फागुन २८ गते सोमबारको राशिफल
Next Article विपन्न बिद्यार्थीहरुलाई दाताको सहयोग