फि. कृष्ण कुमार सैजु
गर्मी याम सुरु हुनासाथ छालाको स्वास्थ्य वा अनुहारको सुन्दरताप्रति संवेदनशील र सचेत ब्यक्तिहरू उपयुक्त सन स्क्रिनको खोजीमा लाग्न थाल्छन् । सबै प्रकारका छालाको लागि उपयुक्त कस्मेटिक्स नै सन स्क्रिन क्रिम हो । तर त्यस्ता अधिकांश व्यक्तिलाई सन स्क्रिनको कार्य–प्रणाली, संरचना, बेफाइदा, उपयोग गर्दा खेरि अपनाउनुपर्ने सावधानी जस्ता विषयमा पर्याप्त जानाकारी हुँदैन । ‘सहरी क्षेत्रमा मात्र नभई अचेल ग्रामीण क्षेत्रमा समेत गर्मीमा सन स्क्रिन लगाउने चलन बढेको भएपनि अधिकांशलाई यसबारे अपेक्षित ज्ञान छैन । अधिकांस प्रयोगकर्ताहरू टेलिभिजन तथा पत्र–पत्रिकाको विज्ञापनमा गरिएको दाबीलाई सही ठानेर यसको उपयोग गर्ने गर्छन् ।
नियमित रूपमा उपयुक्त सन स्क्रिन उचित रूपमा लगाउँदा सूर्यको प्रकाशको नकारात्मक प्रभावबाट छालामा देखिने खराब परिवर्तन, चाउरीलगायत बुढयौलीको समस्यालाई कम गर्न सहयोग मिल्छ । चर्को गर्मीमा छालालाई सूर्यको हानिकारक परावैजनी विकिरणबाट जोगाउन सन स्क्रिन फाइदाजनक हुन्छ । उसो त, विश्वश्वब्यापी रूपमा सन स्क्रिनमा बढी जोड दिइएपनि हाम्रो मुलुकमा पश्चिमी मुलुकहरूको दाँजोमा यसको त्यति आवश्यकता नरहेको जस्तो पनि लाग्छ् ।
हालको वायुमण्डलीय प्रदूषण (विश्वब्यापी तापमान बृद्वि) जसलाई ग्लोबल वार्मिङ पनि भनिन्छ) ले गर्दा ओजोन तह पातलो भइसकेका मुलुकहरूमा सूर्यको खतरनाक परावैजनी किरणको जोखिम बढी हुने गर्छ । सँगै मुलुकको उच्च पहाडी र हिमाली भेगमा जाँदा सन स्क्रिनको उपयोगले छालामा कडा सूर्यको प्रकाशले देखिने समस्याबाट जोगिन सकिन्छ । यसैले हाम्रो मुलुकमा सामान्य व्यक्तिले कम मात्रामा सन स्क्रिनको प्रयोग गर्नु उपयुक्त हुन्छ । उसो त सूर्यको प्रकाशप्रति बढी संवेदनशील वा एलर्जी भएकाहरूको लागि भने सन स्क्रिनको निरन्तर प्रयोग आवश्यक मानिन्छ । सन स्क्रिनमा पैसा खर्चेर मात्र छालाको सुरक्षा हुन्छ भन्ने छैन । मध्यान्न घाममा निस्किँदा छाता ओढ्नु पनि सन स्क्रिनको राम्रो विकल्प हुन सक्छ । यसले पनि घाममा हुने खतरनाक किरणबाट जोगाउन सक्छ । यस्तै, चर्को घाममा हिँड्दा सुतीको सलले मुख छोप्नुसमेत सन स्क्रिनको राम्रो विकल्प हुन्छ । यसो गर्दा परावैजनी किरणसँगै तातो हावाले छालामा पार्ने दुष्प्रभावलाई समेत कम गर्छ । उपयुक्त सन ग्लास र गगल्सले समेत आँखा र छेउछाउको भागमा घामले पार्ने नकारात्मक असरबाट जोगाउँछ । अमेरिकन एकेडमी अफ डर्मेटोलजी (एएडी) ले प्रकाशित गरेको एक प्रतिबेदन अनुसार, सूर्यको प्रकाशमा हुने परावैजनी किरण ‘ए’ लामो समयसम्म हाम्रो छालामा पर्दा फोटो एजिङ (सूर्यको प्रकाशले छालामा ल्याउने बुढयौलीको लक्षण) र क्यान्सरसँग सम्बद्घ छ ।
सन स्क्रिनका प्रकार
सन स्क्रिन फिजिकल सन ब्लक र केमिकल सन ब्लक गरी दुई प्रकारका हुन्छन् । फिजिकल सन ब्लकमा म्याग्नेसियम अक्साइड, टाइटेनियम डाइक्साइड, म्याग्नेसियम सिलिकेट, आइरन अक्साइड, जिंक अक्साइड, रेड भेटनरी पेट्रोलियम र काओलिन आदि मिसाइएको हुन्छ । यसमा अपारदर्शी तत्वको कणहरू हुन्छ जसले छरिएका प्रकाशलाई परावर्तित गर्छ । सूर्यको प्रकाशप्रति भौतिक अवरोध उत्पन्न गर्ने भएकोले यसलाई अवरोधक क्रिमसमेत भनिन्छ । यसलाई बजार मा सन ब्लक क्रिम भनेर चिनिन्छ । यसको फाइदा के होभने, यसले परावैजनी किरण ‘ए’ र ‘बी’, देखिने किरण र अवरक्त (इन्फ्रारेड) किरण लगायत सबैजसो किरणलाई रोक्छ । सन स्क्रिन लगाउँदा रियाक्सन हुने इतिहास बोकेका र संवेदनशील छाला भएका व्यक्तिहरूको लागि समेत फिजिकल सन ब्लक उपयोगी हुन्छ ।तर यो कस्मेटिक्सको दृष्टिकोणले अनाकर्षक हुन सक्छ किनकी यसमा अव्यवस्थित किसिमको प्राकृतिक रंग हुन्छ ।’ फिजिकल सन ब्लक छालासम्बन्धी अनेक रोगमा समेत उपयोग गरिन्छ । केमिकल सन ब्लकमा डाइभेन्जोइल मिथेन, पारसोल, एमिनो वेन्जोयट्स सिनामेट्स, सलिसिलेट्स, क्याम्फर डिरेभेटिभ्स हुन्छ । यीमध्ये डाइभेन्जोइल मिथेन र पारसोलले मात्र परावैजनी किरण ‘ए’ लाई अवशोषित गर्न सक्छन् । अरूले परावैजनी किरण ‘बी’ लाई अवशोषण गर्छन् । केमिकल सन ब्लक गन्ध र रंगहीन हुन्छ । त्यसैले यसलाई बढी कस्मेटिक मानिन्छ । तर यो धेरै प्रकारको सम्पर्कले हुने छाला रोग (कन्टेक्ट डर्मेटाइटिस) सँग सम्बद्घ छ । यसैले रासायनिक सन ब्लक दुई वर्षमुनिका बालबालिकामा उपयोग गर्नु हुँदैन । सन स्क्रिनको प्रभाव छालामा त्यो रहुन्जेलसम्म मात्र रहन्छ । त्यसैले सन स्क्रिन घरबाहिर निस्कनुभन्दा कम्तीमा आधा घन्टा पहिले लगाउनुपर्छ । अनुहार धोएपछि वा धेरै बढी पसिना निस्केपछि सन स्क्रिनको प्रभाव घट्दै जान्छ ।
क्रिम लोसन वा जेल
सुक्खा छाला भएकाहरूले क्रिम वा लोसनका रूपमा रहेको सन स्क्रिन उपयोग गर्नुपर्छ । चिल्लो छाला भएकाहरूले जेलका रूपमा रहेको सन स्क्रिन लगाउनु फाइदाजनक हुन्छ । तर जेलको रूपमा भएको सन स्क्रिन पानीमा आधारित भएकोले तुरुन्त पसिनाले पखालिने समस्यासमेत देखिन सक्छ ।
के हो एसपीएफ ?
सन स्क्रिनमा उल्लेख भएको एसपीएफ (सन प्रोटेक्सन फयाक्टर) सूर्यको किरणबाट बचाउको क्षमता बुझाउने मानक शब्द हो । कुन सन स्क्रिनले कुन स्तरसम्म बचाउ गर्छ भन्ने कुरा यसले बताउँछ । त्यसैले सन स्क्रिन क्रिम वा लोसनछान्दा त्यसमा एसपीएफ लेखिएको छ कि छैन भनेर ख्याल गर्नुपर्छ । एसपीएफ छालामा दुई मिलिग्राम प्रतिवर्ग सेन्टिमिटर सन स्क्रिन लगाएपछि छालामा बिमिरा लगायतका रियाक्सन उत्पन्न गर्न आवश्यक परावैजनी किरण ‘बी’को अनुपात हो । एसपीएफ १० को अर्थ यदि कुनै व्यक्तिलाई सूर्यको प्रकाशमा रहँदा १० मिनेटपछि छालामा बिमिरा लगायतका समस्या देखिन्छ भने यही समस्या सूर्यको प्रकाशमा रहँदा सन स्क्रिन लगाएको ५० मिनेटपछि मात्र हुने गर्छ ।
सूर्यको प्रकाशबाट पर्याप्त सुरक्षाका लागि एसपीएफ १५ वा योभन्दा बढीको सन स्क्रिन उपयुक्त हुन्छ । तर यो पश्चिमाहरूको गोरो छालाका लागि बढी उपयुक्त हुन्छ । हामी नेपालीको छालाको रंग गहुँ गोरो वा कालो हुने भएकाले हाम्रा लागि एसपीएफ ६ मा उपयुक्त हुन्छ । अमेरिकास्थित (एफडीए) फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनका अनुसार, घामबाट छालाको न्यूनतम सुरक्षाका लागि एसपीएफ २ भन्दा कम हुनु भएन, एसपीएफ १२ भन्दा बढी पनि हुनु हुँदैन । यस्तै, घामबाट मध्यम छालाको सुरक्षाका लागि एसपीएफ १२ भन्दा कम हुनु भएन र एसपीएफ ३० भन्दा बढीसमेत हुनु हुँदैन । अझ घामबाट छालाको उच्च सुरक्षाको लागि एसपीएफ ३० भन्दा बढीको सन स्क्रिन हुनुपर्छ । सन स्क्रिन वाटरप्रुफ पनि हुन्छ, जसको अर्थ हो– त्यस्तो सन स्क्रिन लगाएको व्यक्तिले ८० मिनेटसम्म पौडी खेल्न सक्छ । वाटर रेसिस्टेन्स लेखिएको सन स्क्रिन लगाएर पौडी खेल्दाचाहिँ त्यो ४० मिनेट मात्रै टिक्छ । सन स्क्रिन र सन ब्लक यी दुइटैले सूर्य किरणको हानिकारक प्रभावबाट हाम्रो छालालाई जोगाउँछन् । परावैजनी किरणका दुई प्रकार (ए र बी) मध्ये ए बढी खतरनाक हुन्छ । यसले छालामा दीर्घकालीन हिसाबको नकारात्मक प्रभाव पार्ने गर्छ । यस्तै, परावैजनी किरण बी छालामा घामले गर्दा हुने डढाइ र फोटो एजिङका लागि जिम्मेवार मानिन्छ । सन स्क्रिनले परावैजनी किरण बीलाई धेरै कम छान्छ भने सन ब्लकमा हुने जिंक अक्साइडले गर्दा यसले परावैजनी किरण ए र बी दुवैबाट बचाउ गर्छ ।
घरभित्र पनि सन स्क्रिन
हामी प्रायः घाममा निस्कन लाग्दा मात्र सन स्क्रिन लगाउँछौं । परावर्तित सूर्यको प्रकार र कृत्रिम प्रकाशसमेतमा विकिरण हुने भएकाले घरमा रहेका बेला समेत सन स्क्रिन लगाउनु फाइदाजनक हुन्छ ।
सन स्क्रिन कसरी छान्ने ?
एएडीका अनुसार, मेलोनोमा लगायत छालाको क्यान्सरसंग जुध्ने सबैभन्दा महत्वपूर्ण औजार हो सन स्क्रिन । प्रत्येक पाँचमा एक अमेरिकीलाई छालाको क्यान्सर विकसित हुने गरेको छ । नेपालीहरूमा यो क्यान्सर पश्चिमाको दाँजोमा निकै कम त छ, तर यसको विस्तारबारे खासै अध्ययन भएको भने छैन । एएडीले उपभोक्तालाई बोर्ड स्प्रेक्टम सन स्क्रिन लगाउन प्रस्तावित गर्छ । यसको अर्थ के हो भने, बोर्ड स्प्रेक्टम सन स्क्रिनले अल्ट्राभ्वाइलेट ए (परावैजनी किरण ए) र अल्ट्राभ्वाइलेट बी (परावैजनी किरण बी) बाट जोगाउँछ । यी दुइटै परावैजनी किरणले क्यान्सर उत्पन्न गर्न सक्छ ।
अनुहारको छालाको चमक बढाउन केही प्राकृतिक तथा घरेलु बिधिः
सौन्दर्य परमात्माको स्वरूप हो । सधैं केही श्रम तथा व्यायम गरिरहनु नै सौन्दर्य प्राप्तिको राम्रो उपाय हो । यसो भन्दैमा जतिबेला पनि बजारमा पाइने कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्नु हुँदैन । अनुहारको छालाको चमक र यौवनलाई दीर्घकालीन रूपमा स्वस्थ एवं कान्तिमय बनाउन दिनहुँ पाँच मिनेट समय दिनुपर्छ ।
मुसुरोको दालः मुसुरोको दाललाई मोटो धूलो (सुख्खा पाउडरजस्तो) बनाई डब्बामा राख्ने, यही मुसुरोको दालको पाउडरले अनुहार अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ ।
काँक्राः चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाका लागि यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ । गोलभेंडाः अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छभने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।
बेसारः काँचो बेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने । यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग देखिन्छ ।
आलुः आँखा वरिपरि कालो घेरा छभने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।
महः महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छभने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।
अण्डाः अण्डाको प्रयोगले अनुहारको कान्ति वृद्धि हुन्छ । छाला सुख्खा छभने अण्डाको पहेंलो भागलाई साताको दुईपटक अनुहारमा लगाउने । छाला चिल्लो छभने अण्डाको सेतो भाग लगाउने । सुख्खा छालामा पहेंलो भाग नियमित लगाए अनुहारको छाला कसिलो बनाउन हुन्छ ।
मेवाः मेवामा पाइने एन्जाइमले छालाको मृतकोष हटाई नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । मेवाको लेप लगातार केही महिना लगाउने होभने छालाको सबै दाग हराउँछ । कागतीः अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको महत्वपूर्ण भूमिका हुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुख्खा छभने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।
दहीः दही छाला र केश दुवैका लागि अत्यन्त लाभकारी छ । सुख्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ । छाला चिल्लो छभने दुई चम्चा दही लिने र त्यसमा एक चुटकी बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ ।
केराः सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउने र २० मिनेटपछि सफा गर्ने । यो उपाय केही महिना नियमित अवलम्वन गरे छालामा एक प्रकारको चमक आउँछ र छाला छिट्टै चाउरी पर्दैन ।
तुलसीको पातः तुलसीका पातलाई कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छालामा भएको दाग एवं चाउरी समाप्त हुन्छ ।
बदामः बेलुका आधा कप दूधमा दुई–तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले पूरा अनुहारमा लगाई २० मिनेटपछि सफा गर्ने । यो लेप सुख्खा छालाका लागि अत्यन्तै गुणकारी मानिन्छ । यसबाट छाला मुलायम एवं चम्किलो देखिन्छ भने छाला चाउरी पर्नबाट पनि जोगिन्छ ।
चनाः चनाको बेसनमा दूध मिसाई लेप बनाएर अनुहार धुनुपर्छ । यो उपाय अपनाउँदा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ ।
जौः जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०–१५ मिनेटपछि सफा गर्दा चायाँ वा पोतो पूर्ण रूपमा हटेर जान्छ अनि छाला कसिलो, मुलायम एवं चम्किलो देखिन्छ ।
पानीः पानी एक सर्वगुण सम्पन्न तरल पदार्थ हो । पानीलाई निस्चित मात्रामा उचित समयमा पिउनाले पनि अनुहारको निखारपन बढाउँछ । साथै अनिद्रा र तनावबाट पनि टढै रहन उपयुक्त हुन्छ । माथी उल्लेखित बिधिहरू सबै प्राकृतिक भएकोले कुनै एक बिधिलाई न्युनतम २१ दिनसम्म निरन्तर प्रयोग गेर्नुहोला । धन्यबाद ।
गर्मी याममा छालाको हेरचाह र सुन्दरताको सूत्र
Previous Articleगर्भवती महिलाको स्वास्थ्य जाँच हुने
Next Article डिग्नीटी र फ्युचर फाइनलमा भीड्ने