चैत्र ९ गतेबाट बलेवा विमानस्थल संचालनमा आउने
बागलुङ, २४ फागुन– विगत २६ वर्षदेखि बन्दरहेको बलेवा बिमानस्थल आगामी चैत्र दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । बागलुङ नगरपालिका, नेपाल एयरलायन्स र तारा एयरबीच बुधबार उठान सम्झौता भएपछि नियमित उडान हुने निश्चित भएको हो । तीनै पक्षबीच चैतको ९ गतेदेिख नियमित उडान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । तारा एयरले पहिलो उडान गरेपछि दोस्रो उडान नेपाल एयरलायन्सले चैत्रको दोस्रो बिहिबार उडान भर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार चैत्रको ९ गते पहिलो उडान हुने र चैतको १५ गते ताराले दोस्रो उडान हुने छ ।
चैत्रको १८ पछि प्रत्येक हप्ताको आईतबार काठमाण्डौ–बलेवा–काठमाण्डौ ताराको उडान हुने छभने प्रत्येक हप्ताको बिहिबार नेपाल एयरले उडान भर्ने सम्झौता भएको छ । बुधबार बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेल, तारा एयरको तर्फबाट बिक्री तथा बजार विभागका निर्देशक सरल राणा र नेपाल एयरलायन्सको तर्फबाट बाणिज्य बिभागका निर्देशक जनकराज कालाखेतीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको साक्षी बागलुङ नगरपालिकाका तर्फबाट वडा नं ५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटा, नेपाल एयरलायन्सको तर्फबाट सुवास रिजाल तथा तारा एयरको तर्फबाट राप्के शेर्पा साक्षी रहेका छन् ।
पुर्व निर्धारित कार्यक्रम अनुसार चैतको पहिलो सातादेखि नियमित उडान सुरु हुने भनिएको भएपनि एयरलायन्स कम्पनीसंग चैतको दोस्रो साताबाट उडान हुने गरी सम्झौता भएको हो । सम्झौता अनुसार, नगरपालिकाले काठमाण्डौ–बलेवा र बलेवा काठमाण्डौ दुबै रुटको लागि कम्तीमा १२÷१२ जना यात्रु उपलव्ध गराउनु पर्ने र उक्त संख्यामा यात्रु नभएको खण्डमा यात्रुको खुद भाडा कम्पनीलाई उपलव्ध गराउनु पर्ने उल्लेख गरिएको छ । त्यस्तै हवाई सञ्चालनको लागि नगरपालिकाले प्रतिकम्पनी दश लाख रुपैयाँ धरौटी राख्नुपर्ने, कम्तीमा एक उडानभन्दा धेरैको भाडा बाँकी राख्न नपाईने, बिमानस्थलमा आवश्यक कर्मचारीको वयवस्था नगरपालिकाले गर्नुपर्ने, सामान तौल गर्ने मेसिन कम्पनीले उपलव्ध गराउने तर अन्य सबै प्रबन्ध नगरपालिकाले गर्नुपर्ने, कम्पनीको न्युनतम मापदण्डका आधारमा भुमिस्त सेवा नपाले नै व्यवस्था गर्नुपर्ने र कावु बाहिरको अवस्थामा बाहेक कम्पनीहरुले नियमित उडान भर्नुपर्ने लगायतका बिषय सम्झौतामा उल्लेख रहेको नगर प्रमुख पौडेलले बताए । ‘सबै हिसाबले सम्झौतामा हस्ताक्षर भैसकेकाले अब उडानको बिषयमा दुबिधा रहेन’ पौडेलले भने ‘भाडा दरको बिषयमा भने कम्पनीहरुले प्रचलित नियम अनुसार निर्धारण गर्ने कुरा भएको छ ।’ नेपाल एयरलायन्स र तारा एयरले उडान भर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको भएपनि भाडा दर भने अझै तोकिएको छैन् ।
नागरिक उड्यन प्राधिकरण र एयरलान्स कम्पनीहरुको नियम अनुसार भाडादर कायम हुने भएकाले भाडा दरको बिषयमा जानकारी आउन समय लाग्ने नगरप्रमुख पौडेलले बताए । बुधबार भएको छलफलमा कम्तीमा ६ हजारदेखी बढीमा ६ हजार ५ सयसम्म प्रतिटिकट भाडादर हुन सक्ने सम्भावना रहेको पौडेलले बताए । नागरिक उड्यन प्राधिकरणको नियम अनुसार आन्तरिक उडानको लागि एयरलायन्स कम्पनीहरुले भाडा दर तोक्दै आएका छन् । सम्झौता अनुसार नगरपालिकाले काठमाण्डौदेखी बलेवा आउने बढिमा १२ वटा टिकट बिक्री गर्न सक्ने छभने बलेवादेखी काठमाण्डौका लागि सबै उडानको टिकट बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । यता बिमानस्थल सञ्चालनका लागि सबै तयारी पुरा भएको बागलुङ नगरपालिकाले जनाएको छ । बिमानस्थलको मर्मत र आवस्यक पुर्वाधार निर्माणको काम सकिएको बानपा–१४ नारायणस्थानका वडाअध्यक्ष चक्रबहादुर खत्रीले बताए ।
Previous Articleमहासंघको भवन निर्माण अभियानलाई सहयोग प्रदान
Next Article विद्यार्थीलाई जडिबुटी चिनाउँदै विद्यालय