तारानाथ आचार्य
बागलुङ, २४ फागुन– जिल्लाको गाउँमा रहेको एक बिद्यालयले बिद्यार्थीहरुलाई जडिबुटी चिनाउने अभियान थालेको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुन्थला माध्यामिक बिद्यालयले जडिबुटी चिनाउने अभियान थालेको हो । कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई गाउँघरमा पाईने जडिबुटी संकलन गर्न लगाएर जडिबुटीको बिषयमा जानकारी गराउने काम थालिएको बिद्यालयका प्रधानाध्यापक पुर्णबहादुर थापाले बताए । दैनिक जिवनमा प्रयोग हुने समान्य जडिबुटीको बिषयमा समेत बिद्यार्थीहरुलाई ज्ञान नभएकाले उनीहरुलाई जडिबुटीको ज्ञान दिलाउन बिद्यालयले अभियान चलाएको हो ।
दुबै कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई बिज्ञान बिषयका शिक्षकले जडिबुटीको संकलन गर्न लगाएको र गाउँमा पाईने जडिबुटी तथा तिनीहरुको उपयोगिताका बिषयमा जानकारी गराउने गरिएको थापाले बताए । ‘पहिलेका पहिलेका बुढापाकाले जडिबुटीको प्रयोग गरेर कतिपय रोगको उपचार आँफै गर्थे भन्ने सुनिन्छ’ बिद्यालयका बिज्ञान शिक्षक शंकर थापाले भने ‘ अहिलेका नयाँ पुस्तालाई आगनमा भएका जडिबुटी समेत के हो भन्ने थाहा नभएकाले चिनाउने अभियान थालिएको हो ।’ बिद्यार्थीहरुले गाउँघरमा पाईने टिमुर, तुलसी, दमसिन्का, कचुर, सतुवा, कालोकाफल, भोलाटाप्रे, मुलापाते, दमकेर्ना लगाउतका जडिबुटीहरु संकलन गरेका छन् ।
दुबै कक्षाका सबै बिद्यार्थीलाई संकलनको लागि अनुरोध गरेको भएपनि केहीले मात्रै जडिबुटी लिएर आएको बिद्यालयले जनाएको छ । ‘प्रतिनिधिमुक हिसाबले आएका नमुना जडिबुटीहरुलाई कक्षा कोठामा लगेर प्रदर्शन गर्ने र चिनाउने ब्यवस्था मिलाएका छौं’ प्रअ थापाले भने ‘बिद्यार्थी आफैले खोजेका जडिबुटीको बिषयमा जानकारी पाउँदा निकै चाख दिएर जानकारी लिने दिने गर्ने गरेका छन् ।’ व्यवहारिक शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बिद्यार्थीलाई दैनिक जीवनसँग जोड्नको लागि समेत जडिबुटीको संकलन कार्यले सहयोग गरेको थापाले बताए । बिद्यालयले बिद्यार्थीको सहभागितामा संकलन भएका जडिबुटीहरुलाई बिद्यालयमा संरक्षण गरेर राखेको छ ।
संकलन गर्ने बिद्यार्थीको नाम, जडिबुटीको प्रजाती र उपयोगको बिषयमा जानकारी सहित प्लास्टिक झोलामा प्याकिंङ गरेर बिद्यालयको कार्यालयमा राखिएको प्रधानाध्यापक थापाले बताए । जंगलमा पाईने जडिबुटी र घर बारीमा पाईने जडिबुटी दुबैको बिषयमा समेत बिद्यालयले बिज्ञान बिषयको शिक्षणका बेला जानकारी गराउने गरेको छ ।
Previous Articleचल्ने भो चिलगाडी अब गुड्ने की उड्ने ?
Next Article प्रदेश ४ को मन्त्रिपरिषदबाट आर्थिक कार्यविधि पारित