म्याग्दी, १४ असोज – म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको हितविपरित शुल्क बृद्धि गरेको भन्दै अनेरास्ववियूले विरोध जनाएको छ । बार्षिक रुपमा कार्यान्वयनमा नआउने योजना र कपोकल्पित घाटा बजेट पेश गरेर विद्यार्थीलाई भ्रममा राखेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियू म्याग्दी क्याम्पस इकाईले प्रेस विज्ञप्ती मार्फत विरोध जनाएको हो ।
‘आर्थिक अवस्था कमजोर भएकाका छोराछोरीले बृद्धी भएको शुल्क तिर्न सक्दैनन् । विद्यार्थी र अभिभावकलाई आर्थिक बोझ बोकाउने निर्णयमा आँखा चिम्लिएर सहमति गरिदैन’ इकाई सचिव सुबेदीले भने । उनले क्याम्पसलाई विगतमा समेत आफ्नो संगठनले आर्थिक स्रोतको भरपर्दो सुझाव सहितका कार्यक्रमहरू प्रस्तुत गरेको समेत बताए ।
पुरानै शुल्क कायम नगरे शसक्त आन्दोलन गर्ने समेत उनले चेतावनी दिए । बिहिबार क्याम्पसमा भएको विरोध सभामा अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलले क्याम्पसको आयस्तर बनाउन आफुँहरुले दिएको विकल्पलाई प्रयोग गर्न सकेमा क्याम्पस भित्रै नै बैकिङ सेवा समेत सञ्चालन गर्न सकिने बताए ।
अनेरास्ववियूले विरोध जनाएपनि नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी सहितका विद्यार्थी संगठनले क्याम्पस सञ्चालमा देखिएका समस्यालाई समाधान सहित विद्यार्थीलाई मारमा नपार्ने गरी शुल्क बृद्धिमा सहमति जनाएका थिए ।
यसैविच म्याग्दी क्याम्पसका प्रमुख टिकाराम सापकोटाले २०६८ सालकै शुल्कमा क्याम्पसलाई सञ्चालन गर्न समस्या भइरहेकाले सहमतिमा न्यून शुल्क बृद्धि गरेको बताए । ‘साविकको शुल्कमा २५ प्रतिशत बढेको छ ।
अझैपनि क्याम्पस घाटामै छ’ क्याम्पस प्रमुख सापकोटाले भने । उनले विगतमा क्याम्पसमा लक्ष्य अनुसारका विद्यार्थी भएकाले शुल्क बृद्धिको आवश्यकता महसुस नगरिएपनि अहिले विद्यार्थीको संख्या घट्दै गइरहेको अवस्थामा शुल्क बृद्धि रहर नभई बाध्यता भएको बताए । प्रथमबर्षमा ६७५ रहेको शुल्कबाट ८ सय, दोस्रोबर्षमा ९ सय, तेस्रो बर्षमा १ हजार र चौथो बर्षमा ११ सय शुल्क बनाइएको छ ।
गतबर्ष सार्वजनिक गरिएको प्रतिवेदनमा क्याम्पसको बार्षिक सञ्चालन खर्च ४८ लाख रहेको थियो । जसमध्यबाट केही प्रध्यापक र कर्मचारी सहित अतिरिक्त खर्चमा कमी गरिएकाले राहत भएपनि दिर्घकालिन स्रोतको अभावमा शुल्कबृद्धि गरिएको क्याम्पसले जनाएको छ ।
यसैविच लामो समयसम्म शुल्क बृद्धि नहुदाँ एकैपटक बढाउनुपरेको भन्दै अनेरास्ववियू बाहेक अन्य संगठनले हरेक बर्ष स्वत ५ प्रतिशतले शुल्क बढाउन सहमति जनाएका छन् ।