बागलुङ, २३ फागुन– परंपरागत रुपमा उत्पादन गरिने तर लोपोन्मुख हुदै गएको बुट्टेनलीको संरक्षणका लागि बागलुङमा तालिम शुरु गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पुल्चोक ललितपुरको सहयोगमा उक्त तालिम आयोजना गरेको हो । धौलागिरी बहिरा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा बागलुङ बहिरा संघका सदस्यहरु २२ जनाका लागि उक्त तालिम आयोजना गरिएको हो ।
तालिमपछि बहिराहरुले बुट्टे नली बनाएर आम्दानी लिन सक्ने बताइएको छ । बुट्टेनली गाउघरमा पाईने निगालोबाट बनाईन्छ । परंपरागत संस्कृति र ईतिहास बोकेका चित्र कोरेर बनाइने भएकोले बजारमा महंगोमा विक्रि पनि हुने गर्छ । बागलुङ उद्योग वाणिज्य संघ सहित केही संघसंस्थाले पाहुनालाई उपहार दिने काममा पनि यो नली प्रयोगमा ल्याउने गरेको छ । तालिममा बागलुङ बहिरा विद्यालयका शिक्षक बसन्तजंग राजभण्डारीले प्रशिक्षण दिनेछन् । यसअघि संघले बागलुङ कारागारका कैदीबन्दीलाईपनि तालिम दिएको थियो ।
तालिम उद्घाटनको अवसरमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले बागलुङको ईतिहास र संस्कृति जोडिएको बुट्टेनलीको संरक्षण र उचित बजारीकरणको आवस्यकता भएकोमा जोड दिए । त्यसका लागि उद्योग बाणिज्य संघले पनि पहल गर्ने धारणा राखेका थिए । बहिराहरुले शैक्षिक रुपमा उचित रोजगारी पाउन नसकेको समयमा शिपमुलक तालिमबाट राम्रो कमाई गर्न सक्ने भएकोले संघले यो अभियान ल्याएकोमा धन्यवाद पनि दिए ।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता तथा स्वागत मन्तव्य, महासचिव दयाराम पौडेलको संचालन र बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीको धन्यवादमा सम्पन्न कार्यक्रममा समाजसेवी केवी राना, प्रशिक्षक बसन्तजंग राजभण्डारी, बहिरा विद्यालयका प्रअ मधुसुदन निउरे र पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले बोलेका थिए ।
Previous Articleविवाद छिट्टै सुल्झाउ
Next Article भू.पू.सैनिक बहुउद्देश्यीय सहकारी संस्थामा ऐन सचेतना