पर्वत, २३ फागुन– जिल्लाका ७ ग्रामीण सडक कालोपत्र हुने भएका छन् । २०५६मा ट्रयाक खुलेको दोबिल्ला–फलेवास सडकको आधाजसो भागको कालोपत्र अन्तिम चरणमा पुगेको छ । दोबिल्ला–फलेवाससँगै जोडिएको मुडिकुवा–झकलाक र फलेवास लुंखु सडकको कालोपत्र शुरू भएको १ वर्ष बढी भइसक्यो । कुश्मा–खुर्कोट सडक कालोपत्रको टेण्डर भएर अघि बढेको छ ।
डिमुवा–राम्जा–चित्रे सडकको पनि कालोपत्र शुरू भएको छ । करिब २२ सय किलोमिटर ग्रामीण कच्ची सडक सञ्जालले जेलिएको पर्वतका गाउँमा नयाँ ट्रयाक खन्ने काम बन्द गरेर गतवर्षदेखि स्तरोन्नतिको काम शुरू भएको हो । चालू वर्षदेखि कार्यान्वयनमा आएका स्थानीय तहले जिससको पुरानै योजनालाई निरन्तरता दिँदै भइरहेका सडकको स्तरोन्नतिलाई अघि बढाएका छन् ।
यो वर्ष जिल्ला सदरमुकामलाई स्थानीय तहसम्म जोड्ने ६ ओटा मुख्य सडक कालोपत्र र एउटाको स्तरोन्नति शुरू भएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र एशियाली विकास बैंकको सहयोगमा ४ सडक कालोपत्र र स्तरोन्नति हुँदैछ । सडक कालोपत्रमा चालू आवमा करिब ६० करोड रुपैयाँ खर्च हुने भएको छ । ‘कृषि सडक र आर्थिक केन्द्र जोड्ने सडकका लागि आउने बजेट स्थानीय तहमै गएको छ,’ जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर जगदीश शर्माले भने, ‘केन्द्रबाट सीधा आउने बजेटको काम हामीले नै गरिरहेकै छौं । क्रमागत योजना स्थानीय तहसँगै मिलेर अघि बढेका छन् ।’
Previous Articleदुई पत्रकारमाथि राजधानिमानै जातिय विभेद
Next Article गुयली जाने मोटरबाटाको ट्रयाक निर्माण कार्य सम्पन्न