मुस्ताङ, १४ असोज – जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ ।
सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए । लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको हो । अधिकांश किसानले यस वर्ष स्याउ टिपेर बजारमा पु¥याइसकेका छन् ।
भदौ अन्तिम साता स्याउ टिपेका यहाँका किसानलाई बेनी–जोमसोम सडक सञ्चालन नहुँदा ढुवानी गर्न समस्या भएको गुरुङको भनाई छ । जिल्लामा एक हजार ४५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिए पनि ३५० हेक्टरमा लगाएको बोटबाट मात्र उत्पादन भएको थियो । ‘बर्सेनी स्याउ उत्पादन एकनासले हुने गरेको छ,’ वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले भनिन् । जिल्लाका १६ गाविसमध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमीमा मात्र स्याउ उत्पादन हुन्छ ।
जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, फुजी, न्यूरोयल, मुत्सु, अरुैकिन, बिनौनी, साउने, राइमर, अम्री, रेड गोल्ड, ब्रामे र चकलेट लगायतका प्रजातिका स्याउ उत्पादन हुने गर्दछन् ।
यस वर्ष किसानले व्यापारीलाई बोटबाटै प्रतिकिलो रु ८० देखि रु १०० मा स्याउ बिक्री गरेका छन् । मुस्ताङ जिल्लाका किसानले स्याउबाट बर्षेनि रु एक लाखदेखि रु एक करोडसम्म आम्दानी गर्दै आएका छन् ।