प्रकाश थापा
अहिलेका दिनहरुमा यत्र तत्र सर्वत्र सुनिने शब्द हो जलवायु परिवर्तन । चाहे गैह्र सरकारी संस्थाका कार्यक्रम हुन् वा सरकारी निकायका कार्यक्रम हुन् जलवायु परिवर्तन सम्बन्धी धेरै कार्यक्रमहरु गाउँ घरदेखि सहर बजारसम्म बढी नै मात्रामा हुने गर्दछन् । यी कार्यक्रमहरु गर्नुको मुख्य उद्देश्य पनि जलवायु परिवर्तनको विश्वव्यापी नकारात्मक प्रभावको न्युनिकरण र परिवर्तित अवस्थामा अनुकूलित हुनु हो । यो दशकमा जलवायु परिवर्तनले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको छ । चाहे त्यो कृषिमा होस् वा मानव स्वास्थ्य होस् वा वातावरणका क्षेत्रमा यसले असर पारिरहेको छ । आम मानिसको दैनिकीमा पनि यसले समस्या पारिरहेको छ । यही कुरा मध्यनजर गरी अहिलेका वर्षहरुमा दातृ निकायले नेपालको गैह्र सरकारी क्षेत्रमार्फत जलवायु परिवर्तनका विविध पक्षहरुमा लगानी बढाईरहेको छ । त्यसैगरी सरकारी निकायले पनि जलवायु परिवर्तनलाई सम्बोधन गर्न अनेकौं प्रयासहरु गरिरहेका छ । यही कारण जलवायु परिवर्तनका कुरा अहिले गाऊँ घरदेखि सहर बजारसम्म सुनि राखिएकोे हो ।
सामान्य शब्दमा जलवायु परिवर्तन भन्नाले लामो समय (३० वर्ष भन्दा बढी) को अन्तरालमा पृथ्वीको वर्षा र तापक्रममा आउने परिवर्तनलाई बुझाउँछ । मौषम परिवर्तन र जलवायु परिवर्तन शब्दहरु उस्तै लागे पनि यसमा व्यापक भिन्नता छ । मौषमको लामो समयको औषत नै जलवायु हो । वायुमण्डलमा दैनिक रुपमा देखिने फेरबदल मौषम परिवर्तन हो भने लामो समयपछि पृथ्वीमा आउने फेरबदल जलवायु परिवर्तन हो । वायूमण्डलमा मानव सिर्जित अवस्थाले हरित गृह ग्याँसको मात्रा बढ्दै जान्छ र जलवायु परिवर्तन हुन्छ । हरित गृह ग्याँसहरु कार्वनडाईअक्साइड, मिथेन, नाइट्रसअक्साइड, हाइड्रोफ्लोरो कार्बन, परफ्लोरो कार्बन आदि हुन् । यी ग्याँसहरु पृथ्वी वरिपरि वायुमण्डलमा प्राकृतिक रुपमा रहेका हुन्छन् । यिनै ग्याँसले गर्दा पृथ्वीलाई कम्बल ओढेको जस्तो गरी न्यानो बनाई राख्दछ । तर मानवीय कारणले वायुमण्डलमा हरित गृह ग्याँसको मात्रा बढेमा पृथ्वी तात्न गई जलवायु परिवर्तनका असरहरु देखिन्छन् । हरितगृह ग्याँसको उत्सर्जन कलकारखाना, वन विनाश, यातायात, कृषि क्षेत्र, व्यावसायिक भवन, फोहोर आदिबाट हुने गर्दछ ।
यही जलवायु परिवर्तनले गर्दा पछिल्ला वर्षहरुमा समाज र विश्वमा अनेकौं नकारात्मक समस्याहरु देखा परिरहेका छन् । यसको परिणाम स्वरुप हालैका दशकहरुमा समुन्द्री सतह बढ्ने दर तीव्र गतिमा छ । यसैका कारण माल्दिभस जस्ता टापु तथा तल्लो क्षेत्रमा रहेका देशहरु जोखिममा परिरहेका छन् । अर्कातर्फ ध्रुवीय हिउँका तहहरु बढ्दो तापक्रमका कारण घट्दो क्रममा छन् । विभिन्न देशहरुमा जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपहरु बढिरहेका छन् भने मानव जीवनमा समस्याहरु थपिंदै गएका छन् । नेपालमा पनि जलवायु परिवर्तनका नकारात्मक प्रभावहरु देखिन थालेका छन् । प्रति वर्ष नेपालको तापक्रम ०.०६ डिग्रिसेल्सियसका दरले बढिरहेको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिमपूर्ण देश अर्थात् विश्वमा चौथो जोखिमपूर्ण मुलुकको सुचीमा पर्दछ । उच्च जोखिममा पर्नुको मुख्य कारणहरुमा भौगोलिक विकटता, कमजोर अर्थतन्त्र, जनचेतनाको अभाव आदि हुन् । जलवायु परिवर्तनको प्रभाव कृषि तथा खाद्य सुरक्षा, जलश्रोत तथा उर्जा, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, जलउत्पन्न प्रकोप र शहरीकरण तथा वासस्थान लगायतका क्षेत्रहरुमा देखिन सुरु भएको छ । तापक्रम तथा वर्षाको परिवर्तनले नेपालको कृषि प्रणालीलाई नराम्रो प्रभाव पारिरहेको छ । बालीमा नयाँ रोगहरु देखिन थालेका छन् भने मिचाहा प्रजातिका झारहरुको बाहुल्यता दिनानुदिन बढिरहेको छ । हिमाली भेगमा हिम तालहरु फुट्ने अवस्था छन् भने हिम नदीहरु पग्लेर पहाडको बगाउने बगाउने र तराइको वस्ती डुब्ने अवस्थामा छ । वन्यजन्तुहरुको वासस्थानमा पनि नराम्रो असर परिरहेको छ । मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने नयाँ प्रकारका रोगहरु देखापरि रहेका छन् । यसैको परिणम स्वरुप बाढी, पहिरो, र खडेरी जस्ता जलवायुजन्य खतराहरु दिन प्रति दिन बढ्दो क्रममा छन् । यो चुनौतीलाई आजका मानवले समय मै बुझ्न जरुरी छ । जलवायु परिवर्तनले समाज, राष्ट्र र सारा विश्वलाई नै प्रभावित पारिरहको अवस्थामा यसको असरलाई कम गर्न वन–जंगलको विशेष भूमिका रहन्छ । एकातर्फ वनले जलवायु परिवर्तनलाई न्युनीकरणमा मदत पु¥याइरहेको छ भने अर्कातर्फ जलवायु परिवर्तनमा अनुकूलित गर्न समेत टेवा पु¥याएको छ । वनको संरक्षण र दिगो व्यवस्थापनका माध्यमबाट कार्वन उत्र्सजन कम भई जलवायु परिवर्तन न्यु्नीकरण गर्नमा सहयोग पुग्दछ । रुख बिरुवाले खाना वनाउने क्रममा वायुमण्डलमा भएको कार्बनडाइअक्साइडलाई साेंसेर लिन्छ र कार्बनलाई आफूमा राखी अक्सिजन फ्याँक्दछ । यसरी वनले वायुमण्डलमा भएको कार्बनडाइअक्साइडको भण्डारण वा संचितिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । एउटा रुखमा कार्वनको मात्रा काण्ड र हाँगामा ४० प्रतिशत, जरामा १३ प्रतिशत, माटोको प्राङ्गारिक पदार्थमा ४५ प्रतिशत, पातमा १ प्रतिशत र झरेका पात पतिङ्गरमा १ प्रतिशत सोस्न सक्ने क्षमता रहेको हुन्छ । यसैबाट पनि पुष्टी हुन्छ कि एउटा रुखको वातावरणमा कति महत्व छ । यसरी वन क्षेत्रले जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्नुका साथै परिवर्तित अवस्थामा समेत अनुकुलित हुन ठूलो सहयोग गर्दछ । वन–जंगलले वनमा आश्रित समुदायलाई विभिन्न सेवा उपलब्ध गराइरहेको छ । वनबाट काठ, दाउरा, जडिबुटी, घाँस, सोत्तर, फलफुल लगायतका वस्तुहरु प्राप्त हुन्छ । अर्कातर्फ वनले जैविक विविधता संरक्षण, भू–क्षय नियन्त्रण, कार्बन संचिति लगायतका वातावरणीय सेवा उपलब्ध गराइरहेको छ । वन– जंगलबाट उपलब्ध हुने वस्तु र वातावरणीय सेवाले परिवर्तित प्रतिकुल अवस्थामा जीवन जीउन सबल बनाउँछ ।
यसरी जलवायु परिवर्तनका नकारात्मक प्रभावबाट बच्न वन–जंगलले विशेष भूमिका खेल्ने गर्दछ । वन–जंगलको बहुउपयोगिता र जलवायु परिवर्तनको गाम्भीर्यतालाई बुझी वनको संरक्षण गर्ने दिशामा सबैले सक्रियता देखाउनु आजको अपरिहार्यता हो । तसर्थ गाउँदेखि सहर बजारसम्म हुने जलवायु परिवर्तनका कुरामा गैह्र सरकारी निकाय, सरकारी निकाय र सर्वसाधारणको सक्रिय सहभागिता जनाउन अति जरुरी भैसकेको छ । समयमै सबैलाई चेतना भया ।
prakash.thapa013@gmail.com