तारानाथ आचार्य
बागलुङ, २२ फागुन– जिल्लामा पहिलोपटक बिद्युतिय प्रणालीबाट रकम भुक्तानी (ई पे) सिस्टम सुरु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले इपे सिस्टम सुरु गरेको हो । गत आर्थिक बर्षमा राजधानी काठमाण्डौ लगायत उपत्यकाका तीन जिल्लामा सुरु भएको सिस्टम उपत्यका बाहिर बागलुङमा पहिलोपटक सुरुवात गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारी कार्यालयबाट प्रवाह हुने सेवा र कारोवारलाई छिटोछरितो र चुस्त बनाउनका लागि उक्त सिस्टम लागु गरिएको प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्माले बताए ।
सोमबार एक कार्यक्रमको आयोजना गरी कोष तथा लेखा नियन्त्रण कार्यालयले बागलुङबाट प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकको गा्रहक बापतको रकम र जिल्ला जनस्वास्थ्य कार्यालयले प्रोफेसनल कम्प्युटर सेन्टरको कम्प्युटर खरिद बापतको रकम उक्त सिस्टममार्फत भुक्तानी गर्दै सेवा आरम्भ भएको जानकारी गराएको थियो । प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले उक्त रकम सिस्टममार्फत खातामा पठाएपछि सेवा आरम्भ भएको जानकारी गराएका थिए ।
इपे सिस्टम सुरु भएपछि सेवाग्रही तथा कार्यालयहरुलाई समेत काम गर्न र भुक्तानी पाउन सहज हुने प्रमुख कोष नियन्त्रक शर्माले बताए । ‘नयाँ प्रबिधि भएकाले पुर्ण रुपमा लागु गर्न समय लाग्न सक्छ’ शर्माले भनेत्गस्– ‘पहिलो चरणमा बिभिन्न संघ संस्था तथा योजनाका कारोवार सिस्टममार्फत गरिने छ ।’ कार्यालयले नयाँ आर्थिक बर्षको प्रारम्भबाट जिल्लाका सबै कार्यालयबाट हुने भुक्तानीलाई सिस्टममा ल्याएर योजनाका भुक्तानीदेखी कर्मचारीको तलब सम्मका सबै काम सिस्टमको प्रयोग गरेर गरिने जनाएको छ ।
नेपाल सरकारको योजना अनुसार यो आर्थिक बर्षको अन्त सम्ममा देशका सबै जिल्लामा यो सिस्टम सुरु हुने गरी काम अगाडि बढेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । ‘उपत्यका बाहिर पहिलोपटक बागलुङबाट प्रबिधियुक्त ई पे सिस्टम सुरु भएको छ’ महालेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत श्यामनाथ सुबेदीले भने ‘यो आर्थिक बर्षको अन्त सम्ममा सबै जिल्लामा सिस्टम सुरु हुनेछ ।’ सबै जिल्लामा एकै पटक सुरुवात गर्दा सिस्टम लोड हुने र समयमा काम नहुने भएकाले चरणबद्ध रुपमा सबै जिल्लामा सिस्टम लागु गर्न लागिएको सुवेदीले बताए ।
सिस्टमबाट भुक्तानी लिँदा व्यक्तिको नाम र खाता नम्बरमा ध्यान पु¥याएमा अन्य कुनैपनि व्यवधान नरहेको सुबेदीको भनाई थियो । नेपाल सरकारले एनसिएचएल सिस्टममार्फत बिद्युतिय भुक्तानी गर्ने भएकाले उक्त सिस्टममा आबद्ध भएका सबै बैंकका खातामा रकम भुक्तानी गर्न सकिने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सिस्टमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले अब बैंक गएर पैसा बुझेपछि हातमा थुक लगाएर गन्ने दिन समाप्त भएको बताए । बिश्व प्रबिधिको युगमा प्रबेश गरेको भन्दै प्रबिधिमैत्री बन्न सबै कर्मचारीलाई थापाले आग्रह समेत गरे । बैंक खाता नभएका कर्मचारीहरुले बैंकमा खाता खोलेर सहज सेवा लिन कर्मचारीलाई थापाको सुझाव थियो । कार्यक्रम प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्माको अध्यक्षता र कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी माकण्र्ड प्रसाद बरालको सञ्चालनमा सम्पन्न भएको थियो ।
जिल्लामा पहिलोपटक ई पे सिस्टम शुरु बित्तिय कारोवारमा सहज हुने
Previous Articleबिमानस्थलको काम सकियो फागुनको अन्तिम साता परिक्षण उडान
Next Article प्रदेश चारलाई शैक्षिक गन्तव्य बनाऔं