बागलुङ, २२ फागुन– चैतको पहिलो सातादेखी सञ्चालनमा आउन लागेको बलेवा बिमानस्थलमा फागुनको अन्तिम साता परिक्षण उडान हुने भएको छ । नेपाल एयरलायन्स र तारा एयरलाईन्सले परिक्षण उडान भर्ने भएका हुन् । बिमानस्थलको पुर्वाधार निर्माणको काम सकिएकाले परिक्षण उडान गर्न लागिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । बिमानस्थलमा नियमित हवाई सेवा सञ्चालनको लागि सम्झौता गर्न सोमबार काठमाण्डौमा बसेको सरोकारवालाहरुको बैठकले फागुनको २५ वा २६ गते परिक्षण उडान गर्ने गरि निर्णय गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले बताए ।
नागरिक उड्यन प्राधिकरण, तारा एयर, नेपाल एयरलायन्स र बागलुङ नगरपालिका तथा बागलुङबाट निर्वाचित सांसदहरु सहितको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको पौडेलले जानकारी दिए । बिमानस्थल सञ्चालनको लागि बित्तिय जोखिम बहन गर्ने गरि बागलुङ नगरपालिकाले हवाई सञ्चालनको पहल थालेको थियो । पुर्व निर्धारित तालिका अनुसार चैत्रको पहिलो सातादेखी नियमित हवाई सेवा सञ्चालनमा आउने भनिए पनि एयरलायन्स कम्पनी र नगरपालिकाका बीच बुधबार बस्ने बैठकले नियमित उडानको बिषयमा टुंगो लगाउने प्रमुख पौडेलले जानकारी दिए । ‘परिक्षण उडानपछि त्यसका प्रबिधिक पक्षहरुको बिषयमा उहाँहरुले अध्ययन गर्नु हुन्छ’ पौडेलले भने ‘कम्पनीहरुको आन्तरिक तयारी पुरा भए लगत्तै नियमित उडान हुन्छ ।’ सोमबार बसेको बैठकले नियमित उडानका बिषयमा निर्णय गर्न नसकेपछि थप तयारीका साथ बुधबार बैठक बसेर उडान सम्बम्धी सम्झौता गर्न लागिएको हो ।
बुधबार बस्ने बैठकले उडान हुने बारे र टिकटको अधिकतम र न्युतम दररेट समेत टुंगो लगाने पौडेलले बताए । ‘टिकटको दर रेटको बिषयमा समेत उहाँहरुले तयारी गरेर आउने भन्नु भएको छ’ उनले भने ‘बुधबार जहाज चढ्दा लाग्ने भाडाको दर समेत जानकारी हुने कुरा भएको छ ।’ यता बिमानस्थल सञ्चालनका लागि आवस्यक सबै प्राबिधिक तयारी पुरा भएको छ । यात्रु प्रतिक्षालयदेखी टावरको व्यवस्थापन सम्मका सबै काम सकिएको नागरिक उड्यान प्राधिकरण अन्तरिक बिमानस्थल विकास महाशाखाले जनाएको छ । ‘हामीले सबै तयारी पुरा गरेका छौं’ महाशाखाका प्रबन्धक इन्दु अधिकारीले भने ‘उडान हुने पक्का भएपछि टावरमा रेडियो सेट जडानको काम हुने छ ।’ प्रबिधिक हिुसावले कुनै पनि बाधा नरहेको अधिकारीले बताए । यता बिमानस्थलको पुर्वाधारको काम समेत अन्तिम चरणमा पुगेको छ ।
बिमानस्थल छेउका अग्ला रुख काट्नेदेखी नाली काट्ने, प्रहरी पोष्ट बनाउने र रंग रनवेमा रंग रोगन लगाउने लगायतका काम सम्पन्न भएको बनापा–१४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । व्यक्तिगत तथा सामुदायिक बनका आवश्यक रुखहरु काट्ने काम सकिएको छभने टावरका आडमा रहेका रुखहरु समेत आश्यकता अनुसार काट्ने काम भैरहेको खत्रीले बताए । बिमानस्थल सम्माउनका लागि पोखराबाट लोडर मगाईएको र लेवलिङको काम चलिरहेकाले काम अन्तिम चरणमा पुगेको उनले बताए ।