नेपालमा सन् २००२ मा पारित भएको गर्भपतन सम्बन्धी कानुनले महिलाको वर्तमान वा विगतका वैवाहिक सम्बन्धको स्थिति जस्तोसुकै भएपनि महिलाको चाहना अनुसार १२ हप्ता सम्मको भ्ुर्ण पतन गराउन पाउने कानुनी व्यवस्था गरेको छ । महिलाहरुको समस्यालाई मध्यनजर गरेर बनाईएको कानुनले जो अप्ठ्यारोमा परेका छन् उनीहरुको लागि निकै ठुलो सहयोग गरेको छभने पछिल्लो समय बेग्रल्ती बढ्दै गएको अबैध यौन सम्बन्ध र जसका कारण रहने गर्भको पतनले समेत स्थान पाईरहेका छन् । केही दिन पहिला जिल्लाका केही सञ्चारमाध्यामले उठाएको समाचारको बिषयलाई नियालेर हेर्ने होभने बागलुङमा गर्भपतनले भयावह रुप नै धारण गरेको छ । गर्भपतनले कानुनी मान्यता पाएसँगै आधिकारिक रुपमा गर्भपतन गराउने किशोरी तथा बयस्कको संख्यामा बृद्धि भएका तथ्याङ्क सार्वजनिक भैरहेका छन् ।
अनुमति लिएका निजी स्वास्थ्य संस्था र सार्वजनिक तथा सरकारी स्वास्थ्य संस्थाले बैधानिक रुपमा बढीमा १२ हप्ता सम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ । हाडनाता करणीबाट रहेको गर्भ भने महिलाले चाहेको अवस्थामा बढिमा १८ हप्तासम्म तथा गर्भमा रहेको बच्चा अपांग वा आमा वा बच्चाको दुवैको ज्यान खतरामा पर्ने अवस्थामा स्वास्थ्यकर्मीको सल्लाह अनुसार जुनसुकै अवस्थाको गर्भ पनि पतन गराउन सकिने कानुनी व्यवस्थालाई पछिल्लो समय दुरुपयोग गर्नेको संख्या बृद्धि भएको हो । पछिल्लो समय टिनएजरहरु समेत आधिकारिक रुपमा गर्भपतन गराउन सुरु गरेका छन् । नेपालको सन्दर्भमा बिबाह अगाडिको यौन सम्बन्ध र गर्भधारणलाई अबैधानिक मानिन्छ तर अबिबाहित किशोरीहरुले गर्भपतन गराएको भयावह तथ्याङ्कले हाम्रो समाजलाई नै गिज्याई रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकलाई हेर्ने होभने विगत २ वर्ष यता स्वास्थ्य संस्थामै पुगेर गर्भपतन गराउने किशोरीको संख्या २०७३ देखि २०७४ मंसिरसम्म ६४ जना छ । यो हाम्रो समाज तथा राज्यको लागि चुनौतिको बिषय हो ।
एकातर्फ राज्यले परिवार नियोजन सम्बन्धी जनचेतनाको लागि करोडौं रुपैयाँ खर्च गरिरहेको छभने अर्कोतर्फ गर्भपतन गराउने संख्यामा पनि बृद्धि भैरहेको छ । तथ्याङ्कलाई हेर्ने होभने परिवार नियोजन सम्बन्धी जानकारी भएकाहरुको संख्या हाम्रो समुदायमा ७०÷८० प्रतिशतको हाराहारीमा छ तर गर्भपतन गराउनेको संख्या पनि उत्तिकै हुनु भनेको बिबाह अघिको यौन सम्बन्ध र अबैध गर्भधारणले बिकृत रुप लिएको प्रमाणित हुन्छ । हाम्रो समुदायको अनुशासन कायम गर्ने काम भनेको हामै्र काम हो । समुदायलाई अनुशासित बनाउन नसक्दा अबैध गर्भधारण गरेर पतनको बाटो रोज्नेहरुको संख्यामा बृद्धि भएको हो । चाहे बिबाहित महिला होस या अबिबाहित किशोरी गर्भपतन गराउनु भनेको महिला स्वास्थ्यको लागि समेत राम्रो कुरा होईन् । अझै अबिबाहित किशोरीहरुले अबैध गर्भधारण गर्ने र गर्भपतनको बाटो रोज्नु भनेको एउटा बिकृत रुप मात्रै होईन स्वास्थ्य बिज्ञानले दिएको सुझाव अनुसार गर्भपतन बाँझोपनको कारक पनि बन्न सक्छ । त्यसैले परिवार नियोजन र अबैध गर्भधारणपछिका असरका बारेमा जनचेतना फैलाउँदै गर्भपतन गराउनेहरुको संख्यामा कमी ल्याउन समुदाय स्तरबाट सबै जुटौं ।
Previous Articleनातावादमा चलेको राजनीति
Next Article २०७४ फागुन २१ गते सोमबारको राशिफल